७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

काठ तस्करी बढ्दै, अवैध चिरान काठ बरामद

अवैध काठ बोकेको ट्याक्टर सेक्टर वन कार्यालय परिसरमा । तस्विरः महेश्वर

उदयपुर– अवैध रुपमा सालका चिरान काठ यहाँबाट एकै रात दुई ठाउँबाट पक्राउ परेको छ। जिल्लाको दक्षिणी गाविस हडियाबाट सालका चिरान काठ बोकेको ट्याक्टर सोमबार बिहान पक्राउ परेको छ। सेक्टर वन कार्यालय हडियाको वन गस्ती टोलीले अवैध काठ बोकेको ट्याक्टर भेटेर नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ।

ट्याक्टरबाट १७.५ क्युविक फिट अवैध सालका काठ र अन्दाजी ३० क्यूविक फिट सिसौको काठ बरामद भएको छ। सेक्टर वन कार्यालय सुन्दरपुरलाई उद्धृत गर्दै जिल्ला वनले जनाए अनुसार हडिया ८ स्थित मूलखोला सामुदायिक वनको जंगल क्षेत्रबाट काठ चोरी तस्करी भईरहेको सूचनाको आधारमा गएको गस्ती टोलीले काठसहित ट्याक्टर पक्राउ गरे जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताए।

रातिको समयमा मूलखोला सामुदायिक वन क्षेत्रबाट काठ तस्करी हुँदै गरेको गोप्य सूचना आएपछि टोली खटाएर काठ पक्राउ गरिएको हो । ट्याक्टरमा सालका चिरान काठ थिए भने सिसौका गोलीया फेला परेको वनले जनाएको छ । काठ र ट्याक्टर पक्राउ परे पनि चालक फरार रहेको छ । उनको खोजी कार्य जारी रहेको अधिकृत बरालले बताए । चालक फरार रहेकाले ट्याक्टर पक्राउ गरी सेक्टर वन कार्यालय परिसरमा राखेर चालकको खोजीमा कार्यालय जुटेको बरालले बताएका छन् ।

हडियाकै अर्को समूह भगवती सामुदायिक वन उपभोक्ता समूह हडिया ५ बाट यसअघि आईतबार राति पनि अवैध काठ पक्राउ परेको वनको भनाई छ । गस्ती टोलीले केही था अवैध चिरान काठ बरामद गरेको वन कार्यालयको भनाई छ । चालक फेला नपरे पनि ट्याक्टर धनीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढिरहेको बताइएको छ । अवैध काठ चोरी मुद्धामा वन ऐन् २०४९ अनुसार कानुनी कारवाही गरिने वन कार्यालयले जनाएको छ ।

केही समययता मत्थर देखिएको अवैध काठ चोरी तस्करी फेरि मौलाउन थालेको स्थानीयको भनाई छ । खासगरी भित्रि मधेस र चुरे क्षेत्रका सामुदायिक र सरकारी वन क्षेत्रबाट दिनहुँ अवैध काठ चोरी निसी हुने गरेको स्थानीय बताउँछन् । सिराहा र सप्तरीसँग जोडिएका उदयपुरका तीदर्जन बढी सामुदायिक वन समूहको जंगलबाट रातिराति साखु र खयरका काठ चोरी निकासी हुने गरेको हडियाबासी स्थानीय बताउँछन् ।

तपेश्वरी, रामपुर ठोक्शीला, मैनामैनी, सुन्दरपुर, हडिया, जोगीदह र त्रियुगा नगरपालिकाको दक्षिण पश्चिमी भेगका अधिकतर सामुदायक वन क्षेत्र चुरेसँग जोडिएका छन् । पूर्वी मैनामैनी, ठोक्शीला र तपेश्वरी सुनसरीसँग जोडिएको तथा हडिया, सुन्दरपुर, जोगीदह र त्रियगा नगरपालिका सिराहासँग जोडिएको चुरे क्षेत्र भएकाले चोरीका काठ चुरे पार गर्दै सोझै त्यतातर्फ जाने गरेको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् । मध्यवर्ती गाविसहरु पञ्चावती, भलायडाँडा, चिलाउने र रौता तथा पश्चिमी भेगका रिस्कु, साविकका कटारी र त्रिबेणी गाविसभित्रका दर्जन हाराहारी सावउसहरु पनि चुरे सीमा हुँदै सिराहासँग जोडिएका छन् ।

अधिकतर चुरेसँग जोडिएका सावउस र सरकारी वनका काठ चोरी हुने गरेको पाइएको छ । कतिपय ठाउँको जंगलमा तस्करी समूह हुल बाँधेर जंगलमै खाने बस्ने गरेर रुख ढाल्ने र काटेर चिरान र फाला तस्करी गर्ने गरेको भुक्तभोगीहरु बताउँछन् । त्यस्तो समूहसँग स्थानीय र वन कर्मचारी पनि डराउने गरेका छन् । हातहतियार लिएर व्यवस्थित तवरले चोरी तस्करी गर्ने भएकाले त्यस्ता समूहको खोजी र पक्राउका लागि वन कर्मचारी हम्मेसी नजिक नपर्ने र परिहाले मुठभेड हुने गरेको छ । निहत्था स्थानीयबासी त त्यस्ता समूहको नजिकै पर्न नसक्ने जानकारहरुको भनाई छ ।

२४ घण्टाको फरकमा दुई ठाउँबाट अवैध काठ बरामद हुनुले तस्करी पुन मौलाउन थालेको अनुमान सरोकारवालाले गरेका छन् । सेक्टर वन कार्यालय हडियाका रेञ्जर पुन्य पौडेलका अनुसार आईतबार राति र सोमबार झिस्मिसेमा एकै गाविसको दुई ठाउँबाट चोरीका काठ बरामद हुनुले काठ तस्करी मौलाएको हुनसक्छ । उदयपुरका अधिकतर सामुदायिक वनहरु चुरेसँग जोडिएका र चुरे सुनसरी, सप्तरी र सिराहासँग जोडिएको हुनाले तस्करी गर्न सहज भएको पौडेलको अनुमान छ । वन अधिकृत बरालले संभावित काठ तस्करी रोक्न मानव जनशक्ति प्रभावकारी परिचालन गर्ने योजना बनाइएको बताए ।
 
 

प्रकाशित: ४ पुस २०७३ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App