५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चितवनमा डेंगे नियन्त्रण तर्फ

चितवन–यो वर्ष चितवनको रत्ननगर केन्द्रित प्रकोपका रुपमा देखिएको डेंगे नियन्त्रणतर्फ गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ। दिनमै २० जना डेंगे रोगी पत्ता लाग्ने गरेकोमा अहिले हप्तामा ३६ जना बिरामी भेटिन थालेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए। रोगीको संख्या शून्यमा पुग्न अझ केही समय लाग्ने उनको अनुमान छ।

जनस्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार कात्तिक २० सम्म चितवनभर ५१९ जनामा डेंगे रोग पत्ता लागेको थियो। साउनमा शून्य रहेको डेंगे भदौमा छजनामा भेटिएको थियो। असोजमा २१७ जना बिरामी डेंगे लागेर उपचारका लागि चितवनका विभिन्न अस्पतालहरुमा आएका थिए। कात्तिक महिनाको २० गतेसम्म बिरामी हुनेको संख्या २९६ रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

कुल बिरामीमध्ये ४१८ जना पूर्वी चितवनको रत्ननगरका मात्रै थिए । ‘असो २० पछि कात्तिक १५ सम्म डेंगेले निकै दुख दियो’, भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने। दशैंका बेलामा रत्ननगरका धेरैको वास भरतपुरका विभिन्न अस्पतालहरुमा भयो। तिहारपछि भने अवस्था सामान्य हुँदै आएको जनस्वास्थ्यका अधिकारीहरुले बताएका छन्।

जमेको सफा पानीमा अण्डा पार्ने र दिनमा टोक्ने एडिस एजिप्टाई जातको लामखुट्टेले टोकेका कारण हुने डेंगे सहरिया रोगका रुपमा परिचित छ। सो लामखुट्टेका लागि अनुकुल हुने तापमान मध्य मंसिरसम्म कायम रहने अवस्था छ। त्यसैले अहिले प्रकोप कम भए पनि ढुक्क भएर नबस्न चिकित्सकहरुले सर्वसाधरणलाई अपिल गरेका छन्।

एडिस जातको लामखुट्टे २५ डिग्री सेन्ट्रीग्रेडभन्दा तल तापमान भए बल्ल निश्क्रिय हुन्छ। ‘यो पटक लामो सयम वर्षा भयो। ठाउँ ठाउँमा पानी जमेको अवस्था छ। मध्य मंसिरपछि जमेको सवै पानी सुकेर र तामपान पनि कम भएपछि एडिस जातको लामखुट्टे निश्क्रिय भएसँगै डेंगे पनि कम हुँदै जाला’, भरतपुर अस्पतलाका चिकित्सक डा. विजय पौडेलले भने ।

चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यो वर्षको साउनमा डेंगुका विरामी नदेखिए पनि भदौ र असोज ११ गतेसम्म ३४ जनामा डेंगुको संक्रमण भएकोे थियो । त्यसको १० दिनपछि असोज २१ मा बिरामीको संख्या १२५ पुग्यो ।

दशैंको बीचमा पनि डेंगे फैलने क्रम निकै तेज भयो। असोज २९ गते सम्मको विवरण अनुसार चितवनमा डेंगे भएका कुल बिरामीको संख्या २१९ पुगेको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। दशैंपछि संक्रमणले निकै रफ्तार लियो। असोज २९ पछि कात्तिक २० सम्मको अवधिमा मात्रै थप तीन सयजनामा डेंगे देखियो।

‘कुनै बेलामा दिनमा २८ जना बिरामीलाई परीक्षण गर्दा २० जनामा डेंगेको संक्रमण भेटिने गरेको थियो। पछिल्लो एक हप्ता अर्थात कात्तिक १३ देखि २० सम्म डेंगे भएका जम्मा ३६ जना बिरामी फेला परेको अवस्था छ’, भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने । डेंगुको प्रकोप बढेसँगै चितवन जिल्ला जनस्वास्थ्य कार्यालयले एडिस जातका लामखुट्टेका लार्भा खोज्ने र नष्ट गरेको थियो ।  

दुई थोपा ताजा पानी जमे पनि त्यसमा फुल पारेर लार्भा हुर्कन्छ । डेंगेको संक्रमण बढेपछि जनस्वास्थ्य कार्यालयले असोज १६, १७ र १८ गते लर्भा नष्ट गर्ने अभियान चलाएको थियो। त्यस्तै कात्तिक ५, ६, ७ र ८ गते पनि जोखिम क्षेत्रका रुपमा रहेको रत्ननगर र खैरहनीमा त्यस्तै अभियान चलेको केसीले जानकारी दिए। जसमा १५० स्वयमसेवीका तथा स्वास्थ्यकर्मी परिचालित भएका थिए।

अण्डाको बोक्रा, पुरानो टायर, फ्रीज, कुलर, दियो, गमला जस्ता थोरै भए पनि पानी जम्न सक्ने ठाउँमा एडिसले फुल पार्ने र लर्भा हुर्काउने गर्दछ । त्यसैले पानी जम्न नदिनु नियन्त्रणको उत्तम उपाए हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य सहितको केन्द्रीय टोलीले समुदायमा नै गएर डेंगे नियन्त्रणका उपाएहरुका बारेमा जानकारी दिएको थियो।

    

 

प्रकाशित: २२ कार्तिक २०७३ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App