२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

नेपालमा आइसक्रिम व्यवस्थापन

खानपान

आइसक्रिम लामो समयसम्म निरन्तर प्रोसेस गरी जमाएर (फ्रोजन) तयार पारेको दुग्ध पदार्थ हो। यसमा दुध, क्रिम, मिठो सामग्री, स्थिरता, मसला, कोको वा भेनिला, स्ट्रबेरी, आरु, रङ, स्वाद, अन्डा र हावाको सम्मिश्रण हुन्छ। यसको उत्पत्ति युरोपमा भई संयुक्त राज्यमा एक उद्योग व्यवसायका रूपमा विकसित भएको विभिन्न लेखरचनामा उल्लेख गरिएको छ।

प्रिभेन्सन अफ फुड अडल्ट्रयासन (पिएफए) १९७६ ले परिभाषित गरेअनुसार आइसक्रिम गाई वा भैंसीको दुध वा त्यसको संयोजन, क्रिम वा अन्य दुग्ध पदार्थ, चिनी, अन्डा मिसाएर वा नमिसाई फ्रिज गरिएको उत्पादन हो। फलफूल, फलफूलको जुस, चकलेटको सिरप, खान योग्य स्वाद र रङ मिसाई प्रशोधन गरी फ्रोजन गरेको हुन्छ। आइसक्रिममा १० प्रतिशत दुग्ध क्रिम फ्याट, ३.५ प्रतिशत प्रोटिन, ०.५ प्रतिशत स्टेविलाइजर र इमल्सिफायर एवम् कुल ठोसपदार्थ ३६ प्रतिशत हुन्छ।

आइसक्रिम विभिन्न खाद्यपदार्थबाट तयार गरी बनाएको सामान्यतः खाजा वा मिठाईका रूपमा प्रयोग गर्ने चलन भएको हुँदा यसले शरीरलाई बलियो बनाउन (क्याल्सियम) र लामो समयसम्म शक्ति प्रदान (क्रिम फ्याट) गर्नुका साथै स्वस्थ, स्फूर्ति र ताजगी प्रदान गर्दछ।

आइसक्रिमको रिसिपी

गुणस्तर उपभोक्ताको माग तथा कच्चा पदार्थको उपलब्धतामा बजारमा फरक फरक गुणस्तरको आइसक्रिम पाइन्छ। आइसक्रिमको प्रमुख रिसिपीमा दुग्ध पदार्थ (क्रिम, मिल्क तथा एसएनएफ) पर्दछ। दुग्ध पदार्थले आइसक्रिमको बनोटमा सुधार ल्याउने, खैरो कलर ल्याउने, ल्याक्टोज क्रिस्टलको निर्माण गर्ने काम गर्छ। दोस्रो रिसिपी अन्तर्गत गुलियो स्वाद ल्याउने कुनै एक खाद्य प्रयोग हो। तेस्रो रिसिपी स्टेविलाइज तथा इमल्सिफाय हुन्। यिनीहरूले मिक्सको गुणस्तरमा सुधार ल्याई आइसक्रिमको आयतन बढाउन हावालाई सम्मिलन गर्ने काममा मद्दत गर्छन्। आइसक्रिमलाई सुगन्धित तथा बास्नादार बनाउन प्रयोग हुने अर्का रिसिपी भेनिल्ला, चोकोलेट र कोको हुन्। त्यस्तै फलफूलको सिरपसमेत प्रयोग गर्ने चलन रहेको छ।

आइसक्रिमको बनावट

उपभोक्ताले रुचाउने स्वाद तथा गुणस्तर अनुसार खाद्यपदार्थ तयार गर्ने चलन रही आएकाले ठाउँअनुसार प्रत्येक उद्योगको आआफ्नै मानक तयार पार्ने विधि (एसओपी) हुन्छ। बजारमा बिक्रीका लागि फरक फरक गुणस्तर भएका आइसक्रिमहरू पाइन्छन्। गुणस्तरका आधारमा मूल्यमा समेत भिन्नता हुनु स्वाभाविक हो। सर्वेक्षणका आधारमा इकोनोमिक आइसक्रिम अधिकांश उपभोक्ताले रुचाउने गरेको पाइन्छ। गुड एभरेज तथा डिलक्स आइसक्रिमको बनोट अघिल्लाको भन्दा उच्च गुणस्तरको भएकाले उपभोक्ताहरू पनि सीमित रहेको सर्वेक्षणबाट देखिन्छ।

प्याकेजिङ तथा भण्डारण

फ्रिजरबाट निस्कने आइसक्रिम आवश्यक परिमाणअनुसारका भाँडा, आइसक्रिम कोन, प्लास्टिकको डब्बा आदिमा प्याकिङ गरिन्छ। आइसक्रिम प्याक गर्ने भाँडाहरू आकर्षक, बन्द तथा खोल्न सरल र सफा हुनुपर्छ। आइसक्रिमलाई हार्डेनिङ गरिसकेपछि बिक्री नहुँदासम्म एक हप्ता वा बढी समयसम्मका लागि (२३ डिग्री सेल्सियसमा डिप फ्रिजमा राखी भण्डारण गर्न सकिन्छ।

आइसक्रिमको महत्त्व

आइसक्रिम पछिल्ला दिनहरूमा अति मन पराउने दुग्ध पदार्थमध्ये एक हो। गोष्ठी, सेमिनार, विवाह, वर्तबन्ध, जन्मोत्सव लगायतका सामाजिक, धार्मिक अनुष्ठानमा आइसक्रिमको प्रयोग बढ्दो क्रममा रहेको छ। के के मिसाई कुन गुणस्तरको आइसक्रिम तयार भएको हो सोही अनुसार यसको महत्त्वमा भिन्नता देखिन्छ। उपभोक्ताहरूले खाने आइसक्रिमले दिने शक्ति (क्यालोरी) पनि फरक फरक हुन्छ।

आइसक्रिमको बजार

आइसक्रिम चिसो खाद्य पदार्थ भए पनि बिहे, व्रतबन्ध, भोज, जन्मोत्सवलगायत शुभकाममा प्रयोग गरिँदै आएको पाइन्छ। खास गरी हुर्किराखेका किशोर–किशोरी एवम् युवा–युवतीहरूले विश्वभरि नै मन पराउने भएकाले सन् २०२१ मा आइसक्रिमको विश्व बजार करिब ७९ हजार मिलियन अमेरिकन डलर बराबरको कारोबार भएको र यसको वार्षिक वृद्धिदर ४.२ प्रतिशत रहेको छ। त्यस्तै सन् २०२१ मा ठुलो परिमाणमा आइसक्रिम निर्यात गर्ने जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, इटली, पोल्यान्ड, अमेरिका, स्पेन, इगल्यान्ड, हंगेरी, थाइलैण्ड आदि मुलुकहरू हुन्।

नेपालमा २०३३ सालदेखि व्यावसायिक रूपमा आइसक्रिम उत्पादन तथा बिक्री वितरण हुन थालेको हो। हाल विभिन्न जिल्लामा गरी करिब १२० वटा आइसक्रिम उद्योग सञ्चालनमा रहेका छन्। नेपाल आइसक्रिम उद्योग व्यवसाय संघको तथ्यांकअनुसार नेपालमा वार्षिक १०१ करोड रूपैयाँ बराबर आइसक्रिमको बजारमध्ये औपचारिकतर्फ ६६ करोड, असंगठित उत्पादन १० करोड र बाँकी २४ करोड रूपैंयाँ बराबरको आइसक्रिम भारत (ठुलो परिमाणमा), इटाली, अमेरिका, थाइल्यान्ड, माल्टा, दुबई आदि मुलुकबाट आयात हुने गरेको छ।

पृथ्वी साझा घरका रूपमा स्थापित भइसकेकाले पर्यटकहरूको ओहोरदोहोरका कारण संस्कृति, संस्कार, खानपिनमा पनि अनेकतामा एकताको आभास दिलाउने गरी नेपालमा आइसक्रिमको माग दिनानुदिन बढ्दो क्रममा रहेको छ। नेपालमा उत्पादित आइसक्रिम विदेशीको तुलनामा प्रतिस्पर्धा गर्न नसकिने देखिन्छ। यस्तो हुनुको कारण प्रविधि, प्राविधिक, यान्त्रिकीकरण, अध्ययन, अनुसन्धानबाट सिर्जित उपभोक्ताले रुचाउने विभिन्न स्वाद, वास्ना, गुणस्तर तथा खरिद मूल्यसँगको सम्बन्धले हो।

बजारीकरणको सीमितता

प्रयोग हुने कच्चा पदार्थको नियमित आपूर्तिमा असहजता तथा मूल्य अभिवृद्धिका साथसाथै चर्को भन्सार महसुल दर,आयातित आइसक्रिमको भन्सार दर तुलनात्मक रूपमा निकै कम, यान्त्रिकीकरण, प्रविधि एवंम् प्राविधिकको कमी, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर तथा दिनानुदिन मुद्रा स्फीतिमा गुणात्मक वृद्धि, आइसक्रिम उत्पादन सम्बन्धी नीति, नियम, कार्यविधि तथा गुणस्तर मापदण्डको अभाव, अनुसन्धान केन्द्र तथा प्रयोगशालाको कमी र अस्वस्थ बजार प्रतिस्पर्धा आदि।

निष्कर्ष

नेपालमा आइसक्रिमको व्यापार बढ्दो क्रममा रहेको छ। खासगरी गर्मी सिजनमा यसको प्रयोग अधिक भएकाले अन्य सिजनमा उद्योगको उत्पादन ज्यादै न्यून हुन्छ। नेपालमै गुणस्तरयुक्त आइसक्रिम उत्पादन गरी आयात प्रतिस्थापन गर्नु आवश्यक छ। स्वदेशी उत्पादनलाई व्यवस्थित गर्न आइसक्रिम उद्योगलाई आर्थिक, प्राविधिक तथा बजारको प्रवर्द्धन गर्नुपर्छ। यसका साथै आइसक्रिममा एकरूपता ल्याउन तथा गुणस्तर कायम गर्न नेपाल सरकारले तोकेको न्यूनतम गुणस्तर मापदण्डसमेत अवलम्बन गर्नु आवश्यक छ।

(उपकार्यकारी निर्देशक, रादुवि बोर्ड)

प्रकाशित: २० फाल्गुन २०७९ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App