२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डिएसपी लिम्बुको निर्देशनमा सवारी चेकजाँचमा कडाई

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाई गर्न थालेको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँच देखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख,प्रहरी सहायक निरीक्षक(असई)सुशिल विश्वासले जानकारी दिए।  

उनका अनुसार अहिले रातको समयमा मापसे गरी सवारी चलाएको हो की होइन भन्ने चेकजाँच बढी गरिन्छ। बढी गतिमा सवारी कुदाएको भए नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने योजना ट्राफिक प्रहरीको रहेको छ। ‘सुरुका दिन ६–७ वटा सवारी कारवाही परे,त्यसपछि अहिले सरदर दैनिक ३–४ वटा परिरहेका छन्’,असई विश्वासले भने।  

ट्राफिक प्रहरीले फुङलिङ प्रवेशद्धार हेलिप्याड र बजार क्षेत्रमा सवारी माथि निगरानी बढाएको जनाएको छ। असई विश्वासले एकैठाउँ नबसी सवारी माथि छड्के जाँच गर्ने योजना समेत सुनाए। तीव्र गतिमा सवारी चलाउने गरेको जनगुनासो आएको भन्दै उनले आवश्यक भन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारवाही गरिने उनले जानकारी दिए।  

उनले ब्लुबुक र लाइसेन्स सहितका कागजात साथमा नभएका सवारी समेत कारवाहीको परेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक(डिएसपी)राजन लिम्बुले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकोले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए।  

जिल्ला प्रहरी प्रमुख भएर आउने बित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने-गराउनेतर्फ केन्द्रित हुने बताएका थिए। साँघुरो बजार क्षेत्रमा हुने यातायात व्यवस्थापन,अव्यवस्थित सवारी व्यवस्थापन र ट्राफिक नियमको पालनामा कडाईका साथ प्रस्तुत हुने उनको प्रतिबद्धता थियो। डिएसपी लिम्बूले सवारी भाडादर सहितका अन्य गुनासोको उचित सम्बोधनका लागि गृहकार्य भइरहेको जानकारी पनि दिए।

प्रकाशित: १० फाल्गुन २०७९ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App