७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

उराठलाग्दो हिमाली भेग

पर्यटन व्यवसायी विजय केसी बारम्बार मुक्तिनाथ पुगिरहन्छन्। स्वदेशी र विदेशी पाहुना लिएर हिमाली भेग उक्लिने उनी शनिबार पनि मुक्तिनाथ उक्लिएका थिए। यसपटक डेढ महिनापछि केसी मुक्तिनाथ उक्लेका हुन्। तर यसपटकको अनुुभव उनका लागि अरूबेलाको भन्दा नितान्त फरक लाग्यो। कारण, सबैतिरको वातावरण उराठलाग्दो बनेको छ । अरू बेला सेताम्य देखिने हिमचुचुरा पनि उनले कालो भएको देखे। उनका अनुसार हरियाली कतै देखिन्न। सबैतिर फुस्रो मात्र देखिन्छ। उच्च भेगमा कालापत्थर मात्र देखिन्छ। हावा चलिरहँदा धुलो पनि उत्तिकै उडिरहेको छ।

यसअघि पुसको मध्यतिर पनि केसी मुक्तिनाथ उक्लेका थिए। त्यतिबेला अहिलेको तुलनामा हिमाली चुचुरामा पर्याप्त हिउँ देखिन्थ्यो। तर अहिले त सबैतिर सुक्खा मात्र देखिएको उनी बताउँछन्। ‘म बेलाबेला मुक्तिनाथ आइरहन्छु। तर यसपटक मैले साह्रै नै उराठलाग्दो अवस्था देखेें,’ उनले भने, ‘कतै पनि हरियाली छैन, सबैतिर सुक्खापन। हावाले धुलो उडिरहेको छ। हुन त यो बेला हरियालीको सिजन होइन तर केही न केही त हुन्थ्यो, अहिले त सबैतिर फुुस्रो मात्र देखिन्छ। भएका बोटबिरुवा पनि सुकेका छन्।’

हिमाली भेगमा धेरै हरियाली नहुने नभए पनि यसपटक बचेखुचेका झारपातसमेत सुकेको उनले बताए। ‘भएका रूखबिरुवामा हरियाली हराएको देखिन्छ। यतिसम्म कि भुइँको झारपात पनि सुकिसकेको छ,’ उनले भने, ‘यो कि त सेताम्य हिउँ कि केही हरियाली हुने ठाउँ हो। यत्तिको सुक्खा खासै देख्न पाइन्नथ्यो तर यसपटक हिमपात नहुँदा र पानी नपर्दा उच्च भेग पुरै उराठलाग्दो बनेको छ।’ अग्ला हिमाली चुचुरामा बाहेक कतै हिउँ देख्न नपाइने उनले बताए। ‘मुस्ताङ टेकेपछि कतै पनि हरियाली देख्नै पाइएन। अघिल्ला वर्षसम्म हरियाली खासै हराउँदैनथ्यो। बरु बढी हिउँले केही दिन सेताम्य हुन्थ्यो। तर अहिले त हिमाली जिल्लाले रूपै फेरेको छ,’ उनले भने।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङ पनि यो बेला सुक्खा हुने समय भए पनि हिमपात र वर्षा नहुँदा चारैतिरको भाग डढेलोले सखाप पारेजस्तो बनेको बताए। विगतका वर्षमा यतिबेला जमिन रसिलो रहे पनि यसपालि सुक्खापन ज्यादा नै देखिएको उनको भनाइ छ। ‘पहिलापहिला हिउँ पथ्र्याे तर यसपटक परेन, न पानी प¥यो । भदौ–असोजमा केही खण्डमा हिउँ परेबाहेक यो सिजन सुकेरै खेर गयो,’ उनले भने, ‘पानी र हिउँ नपर्दा यसपटक तापक्रम पनि बढेको छ। तातोका कारण भएको हिउँ पग्लेको छ। हिमाली चुचुरा पनि कालै देखिन्छन्।’

उनका अनुसार पानी र हिउँ नपरेपछि खेतीपातीमा सिँचाइको समस्या निम्तिने जोखिम बढेको छ। ‘यस्तै अवस्था रहिरह्यो भने त माथिल्लो भेगको बसोबासले खानेपानीको सकस भोग्नुपर्ने अवस्था आउनेछ। बस्ती नै सार्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने। उनका अनुसार चैतको पहिलो सातातिर खेती लगाउन थाल्ने हुँदा बारीमा सिँचाइ गर्र्नुपर्ने हुन्छ। गहुँ, उवा, केराउ, आलु रोप्ने समय चैतमा सुरु हुन्छ। तर अहिले त्यही खेती गर्न पनि पानी अभाव हुन सक्ने जोखिम बढिरहेको गुरुङले बताए। डाँडाकाँडा सुक्खा भएपछि पशुपालनमा पनि समस्या हुने उनले बताए। ‘भेडाच्यांग्रा पाल्न पनि कठिन हुने देखिएको छ। घाँसै पलाउन पाएन भने पशुपालन पनि सकसपूर्ण हुनेछ,’ उनले भने।  

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत अशोक सुवेदी यसपटक हिउँ र पानी नपर्दा कृषिमा असर पर्ने बताउँछन्। ‘स्याउका लागि हिमपात अनिवार्य हो। हिउँ परेपछि बल्ल स्याउबारीमा सिँचाइ हुन्छ। तर यसपटक हिमपात भएन, स्याउको उत्पादन घट्ने चिन्तामा किसान छन्,’ सुवेदीले भने, ‘हिउँ नपरेपछि डढेलोको जोखिम पनि बढेको छ। सबैतिर सुक्खा लागेपछि डढेलो लाग्ने जोखिम हुन्छ। यसपटक जमिन भिज्नै पाएन।’  

त्यसबाहेक हिउँ नै नपरेपछि खोलामा पानीको बहाव घटिसकेको छ। हिमाली भेगका खोलाको पानीको स्रोत हिउँ भएकाले यसपटक हिउँ नपर्दा खानेपानीमै संकट पर्ने अवस्था आएको छ। ‘माथिल्लो भेगका कतिपय बस्ती खानेपानीको संकटमा पर्ने जोखिममा छन्। एकै वर्ष हिउँ नपर्दा सबै बिग्रने होइन तर असर त परिहाल्छ,’ उनले भने, ‘हरियाली कतै छैन, तल्लो भेगमा सल्लो र धुपीको वनबाहेक हरियो देख्न पाइँदैन।’ उनका अनुसार पानी र हिउँ नपरेपछि उत्पादन घट्ने चिन्तामा किसान छन्। ‘अहिले हिउँ परेको भए भुइँ चिसो हुन्थ्यो, माटो सिञ्चित हुन्थ्यो तर हिउँ नपरे बिजोग पा¥यो,’ उनले भने, ‘वातावरण उराठलाग्दो बनेको छ। हावा मात्र चलिरहेको छ। हुन त यो बेला हरियाली देखिने सिजन होइन तर अहिले त उच्च हिमाली चुचुरा पनि कालै देखिएका छन्। रूखबिरुवादेखि झारपात, बुट्यान सबै सुकेका छन्।’

प्रकाशित: ७ फाल्गुन २०७९ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App