२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटन बोर्डको नक्कली स्ट्याम्प र लेटरहेडमार्फत् भारतीय गायकलाई निम्तो गर्नेमाथि कारबाही गर्न माग

नेपाल पर्यटन बोर्डले भारतका चर्चित गायक अरिजित सिंहलाई नेपालमा हुने सांगीतिक कार्यक्रममा बोलाउन बोर्डको नक्कली स्ट्याम्प र लेटरहेड प्रयोग गर्नेलाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

बोर्डले शुक्रबार एक सूचना जारी गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको डिजिटल प्रतिलिपि हस्ताक्षर भएको बोर्डको नक्कली स्ट्याम्प र कम्प्युटरद्वारा निर्मित लेटर हेड प्रयोग गरी भारतीय गायकलाई २३ जनवरी, २०२३ मा पठाइएको पत्रप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। उक्त पत्रमा रेग्मीले सिंहलाई काठमाडौंमा हुने ‘म्युजिकल च्यारिटी शो’ मा निम्तो दिएको छ।

बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले बोर्डले भारतीय गायकलाई त्यस्तो कुनै पत्र नपठाएको स्पष्ट पारे। उनले पत्रमा उल्लेख भएका सम्पर्क नम्बर, ठेगाना, लोगो र अन्य विवरणहरु बोर्डको विवरणसँग नमिलेको बताए।

‘हामीले आज नक्कली पत्रको बारेमा जानकारी प्राप्त गर्यौं र सही जानकारी सम्प्रेषण गर्ने निर्णय गर्यौं। यस्ता नक्कली कार्यमा संलग्नको पहिचान गर्न हामीले प्रहरीसँग पनि सहयोग मागेका छौं’, भुसालले नागरिकलाई भने।

नक्कली पत्रमा बोर्डले नेपाली नयाँ वर्ष २०८० को अवसरमा विशेष प्रयोजनका लागि परोपकारी सांगीतिक कन्सर्ट आयोजना गर्न लागेको उल्लेख छ। कार्यक्रमबाट प्राप्त आम्दानी दुर्गम हिमाली क्षेत्रमा नयाँ विद्यालय निर्माण गर्न विद्यालय विकास कोषमा जाने उल्लेख छ।

नक्कली पत्रमा भारतीय गायकलाई राष्ट्रिय स्तरको सुरक्षा, पाँचतारे होटलमा बस्ने, उडान तथा बासस्थान र सगरमाथामा हेलिकप्टर उडानलगायतका भिआइपी स्वागतको व्यवस्था बोर्डले गर्नेछ। गायकका लागि सहरको सांस्कृतिक भ्रमणका साथै हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो मन्दिर पशुपतिनाथमा पूजा–आरतीको विशेष व्यवस्था गर्ने पनि आयोजकले जनाएको छ।

‘तपाईको टोलीले नेपालमा गर्न वा हेर्न चाहेको जुनसुकै कुराहरु जस्तै प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप लाइन, र्याफ्टिङ र अन्य साहसिक गतिविधिहरु नेपालमै रहँदा हामी थप्न तयार छौं’, नक्कली पत्रमा लेखिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बोर्डले भारतीय गायकलाई नेपाल निमन्त्रणा गरेको हो कि भनेर बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनंजय रेग्मीलाई सोधेपछि यो विषय चर्चामा आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। ‘एनटीबीका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी बिहीबार बैठकका लागि मन्त्रालय गएका थिए। मन्त्रालयका एक अधिकारीले उनलाई अरिजित सिंहलाई पठाएको निमन्त्रणाबारे सोधे’, उनले भने, ‘थप सोधपुछ गर्दा हाम्रो  बोर्डको नाम बाट भारतीय गायकलाई नक्कली पत्र पठाएको थाहा पायौं।’

बोर्डका मिडिया कन्सल्टेन्ट भुसालका अनुसार नक्कली पत्रमा उल्लेख गरिएको वेबसाइट पनि बोर्डको वास्तविक वेबसाइट होइन।

‘पत्रमा उल्लेख भएको नम्बरमा फोन गर्न खोज्दा स्वीच अफ भएको थियो’, भुसालले भने।

सूचनामा बोर्डले यस्तो गैरकानुनी कार्यमा संलग्नलाई कारवाही गर्न आवश्यक कानूनी कदम चाल्ने जनाएको छ।

प्रकाशित: २८ माघ २०७९ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App