coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला

भग्नावशेषको उत्खनन गर्न आएको पुरातत्वबिदको टोलीसँग मेयर बस्नेत र उपमेयर राईलगायत। तस्बिरः महेश्वर

सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला परेको छ। क्याम्पस प्राङ्गणबिचको मन्दिरनिर सदियौँ पुरानो दरबार र मूर्तिको भग्नावशेष फेला परेको हो। 

त्यहाँ केही समययता प्राक्कालीन सामग्रीको संकेत देखिएपछि संस्कृति तथा पुरातत्त्व विभागको अनुसन्धान टोली झिकाएर उत्खनन कार्य भइरहेको छ। पुरातत्त्व देवेन्द्रनाथ तिवारी नेतृत्वको ५ सदस्यीय टोलीले माघ ९ गतदेखि भग्नावशेषको उत्खनन गरिरहेको छ। उत्खननको क्रममा प्राक्कालीन इँटा, फुटेका मूर्तिका टुक्राहरू फेला परेका छन्। चार कुना आकारमा इँटाको गारोको जग पहिल्याउँदै जाँदा दक्षिणतर्फको कुनामा लगभग ५ फिट गहिरो पुगेपछि जग टुङ्गिएको छ। 

लगभग १५ मिटर लम्बाई र १० मिटर हाराहारी चौडाइ रहेको इँटाको गारोको जग झण्डै १ मिटर चौडाईको रहेको पुरातत्त्व तिवारीले बताए। उत्खननको क्रममा पूर्वतर्फ पनि गारोको जग फेला परेको छ। सो जग हेर्दा अर्को त्यस्तै आकारको दरबारको भग्नावशेष हुनसक्ने अनुमान टोलीले गरेको छ। ‘हामीले ५ दिनदेखि उत्खनन गरिरहेका छौँ, अहिलेसम्म एउटा सुरको जग ५ फिट बढी गहिरो खनेपछि जग टुंगियो’ अर्का पुरातत्त्वविद् प्रकाश दर्नालले भने ‘दक्षिणतर्फको जग यत्तिमै सकिएको छ, अन्य ३ तिर खन्न बाँकी छ। तर, पूर्वतर्फ यस्तै खाले अर्को जग भेटिएकाले सोही आकारको अर्को दरबारको भग्नावशेष पनि हुनसक्ने अनुमान छ।’ 

क्याम्पस परिसरमा अन्यत्र जमिन खारेर कक्षा कोठाका भवन र ब्लकहरू बनाइए पनि परापूर्व कालदेखि स्थानीयले पूजाआजा गर्दै आएको माटोको ढिस्को रहेको ठाउँ सुरक्षित थियो। क्याम्पसले एउटा मन्दिर पनि बनाउन थाल्दै यथावत् राखिएको ठाउँमा पुरानो इँटाका टुक्रा फेला परेपछि पुरातात्त्विक महत्त्वको भग्नावशेष हुनसक्ने अनुमान गरी उत्खनन गर्न लागिएको हो। क्याम्पसले उत्खननको पहल गर्न नगरपालिकालाई अनुरोध गरे अनुसार त्रियुगा नगरपालिकाले पुरातत्त्व विभागलाई आग्रह गरेपछि टोली आएर उत्खनन सुरु भएको क्याम्पस प्रमुख डा. कैलाशकुमार राईले बताए।

पुरातत्वविद्हरु तिवारी र दर्नालसहित आर्किटेक्ट इन्जिनियर रोशनी श्रेष्ठ, फोटो ग्राफर रामचन्द्र श्रेष्ठ र प्राविधिक विराट थापा संलग्न टोलीले अझै केही दिन उत्खनन कार्य जारी राख्ने जनाएको छ। ‘यो निकै पुरानो सभ्यताको स्थान हो भन्ने अनुमान गर्न सकिन्छ तर, कहिलेको भन्ने यकिन गर्न थप अनुसन्धान आवश्यक छ’ टोली नेता तिवारीले भने ‘प्रारम्भिक उत्खननमा प्राप्त प्रमाणलहरुले हडप्पा र सिन्धघाँटी सभ्यता आसपासकै दरबार हुनसक्ने अनुमान बलियो देखिन्छ।’

अर्का पुरातत्त्व दर्नालले झापाको किच्चकबध र सप्तरीको कनकपट्टी खोक्सामा पनि यस्तै प्रकारका पुरातात्त्विक सामग्री फेला परेको बताए। नेपालका अन्य धेरै ठाउँमा उत्खनन गरिएको भग्नावशेषमध्ये यहाँ फेला परेका सामग्री किच्चकबध र कनकपट्टीमा पनि पाइएको उनले बताए। त्यसैले यो मल्लकालीनभन्दा अघिको दरबार हुनसक्ने अनुमान गर्न सकिने दर्नालले बताए। उत्खनन टोलीले प्यानल फुटेको अवस्थाको प्राक्कालीन मूर्ति पनि फेला पारेको जनाएको छ।

उत्खननस्थलको त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन र वडाध्यक्षहरूले शुक्रबार अनुगमन निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा मेयर बस्नेतले स्रोत साधनले संभव भएसम्म उत्खनन गरेर वास्तविक इतिहास र प्राचीन सभ्यताबारे नगरपालिकालाई ठोस् जानकारी दिन टोलीलाई आग्रह गरेका छन्। मेयर बस्नेतले यस्ता प्राचीन सभ्यताहरूको संरक्षण, संवर्द्धन र विकास गर्दै पर्यटन तथा धार्मिक महत्त्वको उजागर गर्न नगरपालिकाले विशेष योजना बनाएर अघि बढ्ने तयारी गरिरहेको पनि बताए। 

स्थानीय किम्बदन्ती अनुसार परापूर्व कालका एक शाही राजा र सरस्वती रानीबिच विवाद हुँदा राजाको बलि चढाइएको ठाउँ नै मोतिगडा हो। मृत्यु बाजी राखेर राजा र रानीबिच जुवा खेल्दा हारेका राजाको टाउको गिँडेर गाडिएको हुनाले सो ठाउँको नाम ‘मुडगडा’ हुन गएको, पछि त्यही कुरा अपभ्रंश भएर ‘मोतिगडा’ हुन पुगेको किम्बदन्ती छ। 

इतिहास अध्ययता तथा ‘उदयपुरको इतिहास’ पुस्तकका लेखक वरिष्ठ पत्रकार कौशल चेमजोङले यो ठाउँ इशापूर्वको पहिलो वा दोस्रो शताब्दीको भग्नावशेष हुनसक्ने अनुमान गरे। लिच्छवि वा गुप्तकालीन कलाशैलीको मूर्ति र इँटा फेला परेकाले यो निकै प्राचीन सभ्यताको पुरानो भग्नावशेष हुनसक्ने चेम्जोङको अनुमान छ। भग्नावशेष राजदरबार वा मन्दिरमध्ये एक वा दुवै हुनसक्ने अनुमान उनको छ।

प्रकाशित: २१ माघ २०७९ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App