३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

'नेपाली भाषा भत्काउने खेल अमान्य'

काठमाडौं- नेपाली भाषाको लेख्य रुपलाई सुधारका नाममा विकृत पारिएको भन्दै त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा केन्द्रीय विभागले शिक्षा मन्त्रालयको निर्णय नमान्ने भएको छ। पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको पालामा भाषा सुधारका नाममा नेपाली भाषाको वर्णविन्यासमा विशेषतः संयुक्त वर्ण लेखन, पदयोग र पदवियोग तथा ह्स्वदीर्घमा नयाँ मान्यता स्थापित गर्ने भन्दै प्रचलित परम्परा र मानक लेखन भत्काएर अस्तव्यस्त पार्ने निर्णय भएकाले सो मान्य नहुने प्राध्यापकहरू बताउँछन्।

विदेशीको इसारामा नेपाली भाषा भत्काउने काममा नेपाली नै लागिपरेको आरोप विभागका  प्राध्यापकको छ। केही व्यक्तिले पद दुरुपयोग गरी विदेशीको मतियार बनेर नेपाली भाषा र संस्कृति अस्तव्यस्त पार्न खोजेको ठहर उनीहरूको छ।

'कुनै पनि देशको संस्कृति जोगाउने सर्वोŒम माध्य भाषा हो,' नेपाली विभागका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले नागरिकसँग भने, 'भाषा र संस्कृति भत्कायो, बिगार्‍यो भने देशमा सधैं अस्थिरता कायम रहन्छ।' उनले दोषारोपण गर्दै थपे, 'हाम्रो नेपाली भाषा बिगार्न विदेशीको मतियार हेमाङराज अधिकारी बन्नुभएको छ। एउटै व्यक्ति विभिन्न निकायमा रहेर नेपली भाषाको  लेख्यरुपलाई विकृत बनाएका प्रति हामी असहमत छौं।' नेपाली भाषालाई सुधारका नाममा 'ठगी खाने भाँडो नबनाउन' समेत उनले आग्रह गरे।

'नेपाली भाषा लामो परम्परा, प्रचलन र प्रयोगबाट स्थापित र विकसित भएको हो। नेपाली विषय पढ्ने र पढाउनेमा मात्र सीमित नरही सरकारी कामकाजको भाषा, बहुभाषी जातजातिबीचको साझा सम्पर्क भाषा हो,' लुइँटेलले भने, 'नेपालमा मात्र सीमित नभएर संसारका विभिन्न मुलुकमा समेत विस्तारित भइसकेको हुँदा यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ।'

पूर्व शिक्षामन्त्री शर्माले समेत अनजानमा आफूबाट पनि नेपाली भाषाका विषयमा गल्ती भएको भन्दै सार्वजनिक रुपमै माफी मागिसकेका छन्।

नेपाली बृहत् शब्दकोष सबै संयुक्त वर्णविन्यासको खुट्टा काटेर छाप्नु र नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख हेमाङराज अधिकारीको निजी प्रकाशन विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित प्रयोगात्मक नेपाली शब्दकोषमा भने दशकदेखि पुरानै वर्णविन्यास प्रयोगले उनको नियत प्रस्ट्याएको लुइँटेलले बताए।

भारतको संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता दिइएको छ। भारतको गुहाटी विश्वविद्यालयमा नेपाली पाठ्यक्रम निर्माणमा योगदान दिएका लुइँटेलले बृहत् शब्दकोषको मानक २०४० र ०५८ सालको शब्दकोष भएको बताए। उनले त्यसमै टेकेर बौद्धिक वर्गसँग छलफल गरी अघि बढ्नपर्ने सुझाए।

नेपाली लिपि परिवर्तन गरी सुधार गर्ने नाममा सबै संयुक्त वर्ण विन्यासलाई खुट्टा काटेर अलग्याउने कार्य नेपाली केन्द्रीय विभागका प्रध्यापकले कुनै पनि हालतमा स्वीकार्न नसक्ने विभागीय प्रमुख देवीप्रसाद गौतमले बताए।

सीमित व्यक्तिले मानक शब्दकोषलाई तोडमरोड गरी स्कुले नानीको मनोविज्ञानमा नेपाली भाषाप्रति नै नकरात्मक भावना फैलाउन खोजेको आरोप गौतमको छ। 'राष्ट्र भाषा, साझा भाषा, सम्पर्क भाषा र माध्यम भाषाका रुपमा विकसित नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार र विश्वव्यापीकरण भइसकेको छ,' गौतमले भने, 'यस्तो अवस्थामा नेपालकै केही व्यक्ति र निकायबाट यस भाषाको मानक लेख्य स्वरुप भत्काएर विकृत पारी नेपाली भाषाप्रति नकारात्मक धारणा फैलाउने प्रयास गरिनु आपत्तिजनक छ।' उनले आग्रह  गरे, 'नेपाली भाषा शब्दभडारबाट हामीलाई अलग्याएर टाढा गर्ने नियतले शब्दकोष बिगारिएको हो। तत्काल सच्याउन हाम्रो आग्रह छ।'

उनका अनुसार अंग्रेजी शब्दकोष बाजेले किनेपछि नातिसम्मले अध्ययन गर्छन् तर हाम्रो नेपाली भाषा शब्दकोषलाई आर्थिक प्रलोभनमा परेर वर्षैपिच्छे बिगार्ने गरिएको छ। नेपालमा हाल इसाइकरणको प्रभाव बढ्दै गएकाले भाषा बिगार्न पनि विदेशीकै हात रहेको प्रध्यापकको आशंका छ।

कक्षा १–५ सम्म नयाँ, ६–९ सम्म पुरानै, ९–१२ कक्षासम्म फेरि नयाँ बिगारिएको र स्नातकमा फेरि पुरानै शब्दकोषका हिज्जे प्रयोग गरिएको छ। स्कुल शिक्षादेखि विश्वविद्यालयसम्म विद्यार्थीले नेपाली भाषा पढ्दा निकै सकस भोग्नुपर्ने अवस्था सिर्जना गरिएकाले यसमा सहमत हुन नसकिने विभागका सहप्राध्यापक लक्ष्मणप्रसाद गौतम बताउँछन्। 'नेपाली लिपिलाई रोमन लिपिअनुसार लेख्ने प्रवृतितिर ढाल्न खोजिएको हो, जुन मान्य छैन,' उनले भने, 'नेपाली प्राविधिकले नै देवनागरीमा लेख्न सक्ने सफ्टवेयर  बनाएका छन्। हामीले प्रयोग गर्न सक्छौं।' उनले थपे, 'भाषाको माध्यमबाट पनि विदेशीले प्रहार गरी नेपाललाई कमजोर बनाउन खोजेका हुन्।'

नेपाली भाषामा प्रयोगकर्ताले स्वाभाविक रुपमा परिवर्तन ल्याएमा स्वीकार गरिने तर जबरजस्ती लादिएको स्वीकार नहुने नेपाली केन्द्रीय विभागका प्रध्यापकहरूले संयुक्त विज्ञप्ति जारी गरी प्रस्ट्याएका छन्।

 

प्रकाशित: २३ भाद्र २०७३ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App