४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

किन अस्पतालमै आत्महत्या गरे विजयले ?

काठमाडौं-नाम विजय भए पनि उनले दीर्घ र खर्चिलो रोगसामु सदाका लागि घुडाँ टेकेका छन्। आफन्तसँग माफी मागेर सधैंका लागि बिदा भएका छन् मिगौंला रोगी विजय खड्का। मिर्गौलाको उपचार गराइरहेका १९ वर्षीय खडकाले मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जको तेस्रो तलाबाट हाम फालेर खर्चिलो उपचारभन्दा मृत्यु रोजेका हुन्। उनको अस्पताल तेस्रो तलाको मिर्गौला विभागमा उपचार भइरहेका थियो।

बिहान एक बजेर ५० मिनेटमा तीन तला माथिबाट हाम फालेर भुइँमा बजारिएका उनको साढे दुई बजे सोही कारण मृत्यु भयो । उनका आमा र दाजु कुरुवाका रुपमा बसेका थिए।

अस्पतालमा उनले लेखेर छाडेको नोटमा आमाबुबा र दाजुभाईलाई सम्बोधन गरिएको छ । उनले चिटमा आमाबुबा र दाजुभाइसँग माफी मागेका छन् । ‘आमाबुवा र हामीसँग माफी मागेको छ, सरी भन्दै विजयले हामी सबैलाई छाडेर गएको छ,’ दाजु विनीतले भने।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख गोविन्द पुरीका अनुसार तेस्रो तलाबाट हाम फालेर घाइते भएका खडकालाई सोही अस्पतालमा उपचार गरिए पनि बचाउन सकिएन। प्रहरीमा खड्का परिवारले आवश्यक अनुसन्धानका लागि निवेदन दिएको पुरीले बताए । ‘घटना विषयमा हामीले अनुसन्धान थालेका छौं, प्रारम्भिक रुपमा आफैं हाम फालेको देखिन्छ,’ पुरीले भने ।

दाजु विनितका अनुसार २०७२ वैशाख १ गते विजयमा मिर्गौलाको समस्या पहिचान भएको थियो । डेढ वर्षदेखि उनी नियमित उपचारमा थिए । आमाले मिर्गौला दिन खोजे पनि नमिलेपछि उनी थप निराश थिए।

शिक्षण अस्पताल, मृर्गौला रोग विभाग प्रमुख दिब्यासिंह शाहले  डेढ वर्षदेखि मिर्गौलाको उपचारमा रहेका विजयमा पछिल्लोपटक डिप्रेसनको समस्यासमेत देखिएको थियो । उनी डिप्रेसनको समेत उपचारमा थिए। नियमति डायोलोसिस गराइरहेका उनका दुवै मृगौला बिग्रिएका थिए ।

निःशुल्क कोटामै डाइलोसिस गराइरहेका विजय पछिल्लोपटक छातीमा देखिएको संक्रमणका लागि अस्पताल भर्ना भएका थिए । ‘मेरो रोग निको हुँदैन भन्दै चिन्ता गरिरहन्थ्यो, हामीले सम्झाइबुझाइ गरिरहेका थियौं, आज यस्तो भयो,’ विनीतले भने।

दोलखा स्थायी घर भएको खड्का परिवार १८ वर्षदेखि काठमाडौंमा बस्दै आएको छ। आमाबुबा र तीन दाजुभाइको परिवारमा विजय कान्छा हुन्। कक्षा ११ सम्म अध्ययन गरेका विजयले रोगकै कारण पढ्न छाडेको विनीतले बताए।

श्रीलंका गएका स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीलाई घटनाका विषयमा बुझ्न भनेका छन् । मन्त्रीले सचिवलाई फोन गरी घटनाका बिषयमा जानकारी लिँदै थप बुझ्न भनेको थापाका सल्लाहकार प्रताप पौडेलले जनाए।

सरकारले दुई वर्षअघि मृर्गौला रोगीको निःशुल्क डाइलोसिस गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि देशभरका विभिन्न अस्पतालका डायलोसिस केन्द्रबाट मृर्गौला रोगीले उपचार लिँदै आएका छन्।

प्रकाशित: २२ भाद्र २०७३ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App