२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कुमारीको पारिश्रमिक तीन हजार

भक्तपुर- जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होला? कसैले कुमारीको मासिक पारिश्रमिक ३ हजार रुपैयाँमात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रुपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखा कार्यालयबाट ९ सय रुपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार ५० रुपैयाँमात्र छ।

भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको तलब वृद्धभत्ता जति पनि नभएको भन्दै दुःख व्यक्त गरे। 'तलब रकमले कुमारीकै अपमान गरेजस्तो लाग्छ,' तलेजुका मूल नाइके जोशीले नागरिकसँग शनिबार भने, 'बरु वृद्ध भत्ता मासिक २ हजार छ।' काठमाडौं र ललितपुरका कुमारीको पारिश्रमिक भने भक्तपुरकी कुमारीभन्दा बढी छ।

२०४१ सालयता कुमारीलाई भत्ताको व्यवस्था गरिएको हो। २०४१ सालमा कुमारीलाई ४ सय ५० रुपैयाँ प्रतिमहिना भत्ता दिने व्यवस्था गरियो। भक्तपुर तलेजुस्थित आगमघरको पहलमा २०६९ सालमा कुमारीको पारिश्रमिक १ हजार ७ सय ७० भयो।

नेपाल सम्वत ६११ मा कुमारी पूजाको प्रचलन सुरु भएको इतिहास छ। तर अहिलेसम्म कति जना कुमारी भए अनुसन्धानको विषय छ। गुठी संस्थानले कुमारीलाई भत्ता व्यवस्था गरेपछि भने अभिलेख राखिने गरेको छ। अभिलेख अनुसार २०४० माघ १७ यता ७ जना कुमारी भइसकेका छन्। गीता बज्राचार्य, पदमसुमना शाक्य, नीलम बज्राचार्य, सजनी शाक्य, श्रीया बज्राचार्य, जुनिशा बज्राचार्य पूर्वकुमारी हुन् भने जीविका बज्राचार्यलाई शनिबार कुमारीमा पदस्थापना गरिएको छ।

कुमारीका सुसारे न्हुछेनारायण बज्राचार्यले कुमारीका लागि मात्रै होइन, कुमारी घरमा पूजाआजाको समयका लागि समेत आर्थिक समस्या भएको बताए। कुमारी बाहेक पनि त्यहाँ दैनिक पूजा गर्नुपर्ने भए पनि पूजाका लागि आर्थिक कठिनाइ रहेको उनले सुनाए। कुमारीको पूजा भने दशैंमा मात्र गरिन्छ। यसबाहेक कसैले पूजा गर्न चाहे जहिलेसुकै कुमारीको पूजा गर्न सक्ने व्यवस्था छ।

भक्तपुरमा जीविका बज्राचार्यले कुमारीको पद सम्हालेकी छन्। उनलाई शनिबार भक्तपुर नगरपालिका–३ क्वाठण्डौंस्थित कुमारीघरको सिंहासनमा राखिएको हो। कुमारीले दसैंको घटस्थापनादेखि पूर्णिमासम्म कुमारीघरमा बस्नुपर्ने परम्परा छ। कुमारी अरु बेला भने आफ्नै परिवारसँग बस्न र विद्यालय जान पाउँछन्।

भक्तपुर नगरपालिका–११ क्वाछें टोलस्थित जीवचन्द्र बज्राचार्य र विमला बज्राचार्यकी ६ वर्षीया छोरी जीविकालाई कुमारीमा नियुक्त गरिएको हो। उनी भक्तपुर इन्द्रायणीस्थित जेसिस सेकेन्डरी स्कुलको कक्षा १ मा अध्ययन गर्छिन्। तलेजु कुमारी १० वर्ष पूरा भए वा बेलविवाह गरे कुमारीबाट स्वतः अवकाश हुने व्यवस्था छ। कुमारी द्योछें (कुमारी देवताघर)का सुसारे नाइकेले कुमारी खोज्ने परम्परा छ। कुमारी खोजी गर्न भक्तपुरका शाक्य, बज्राचार्यका घरघर चहार्नुपर्छ। कुमारीका लागि भक्तपुरकै स्थानीय शाक्य वा बज्राचार्य थरकी कन्या हुनुपर्छ। कुमारीमा छानिन कुनै घाउचोट नलागेको, सर्वगुणसम्पन्न, कुनै दाग नभएकी कन्या हुनुपर्छ।

प्रकाशित: २२ भाद्र २०७३ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App