८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

चुरे क्षेत्रमा थप ट्रेकिङ सेवा

जंगल सफारी, जंगल वाक, बर्ड (चरा) वाचिङ, र्‍याफ्टिङ र ट्रेकिङ सेवा दिनका लागि बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारामा प्रशस्तै होटल छन्। ठाकुरद्वारामा २५ वटा होटलले सेवा दिइरहेका छन्। पर्यटकको क्षमताअनुसार खर्च गरेर निकुञ्ज घुमाउनका लागि होटल सञ्चालकले प्रबन्ध मिलाएका छन्। होटलमा बास बस्दा र घुम्न निस्कँदा लाग्ने खर्चमा प्याकेज सुविधा होटलले दिइरहेका छन्। प्रकृति पथ प्रदर्शक (नेचर गाईड) र कुक तालिम राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत संरक्षण कार्यक्रमले दिइरहेको छ। सय बढी नेचर गाइडका तालिमप्राप्त दक्ष जनशक्ति उत्पादन भइसकेका छन्। यस्तै, पर्यटन प्रवर्द्धनका लागि दिइएको कुक तालिमबाट स्थानीय लाभान्वित भएका छन्। दक्ष जनशक्तिकै कारणले पछिल्लो समय होमस्टे सञ्चालक बढेका छन्। पर्यटनलाई लक्षित गरेर होमस्टे सञ्चालनमा स्थानीयले जोड दिएको पाइएको छ। स्थानीय परिकार पस्केर पर्यटकलाई लोभ्याउन होमस्टे सञ्चालक खप्पिस भएका कारण बर्सेनी पर्यटक बढ्दै छन्।

पाटे बाघको प्रसिद्धिले संसारभर बर्दिया राष्ट्रिय निकुञ्ज चिनिएको छ। बर्दिया १ सय २५ र बाँके निकुञ्जमा २५ पाटे बाघ छन्। देशभरमा रहेका २ सय ४० हात्तीमध्ये १ सय २० को हाराहारी बाघ यहीं हात्ती छन्। ३८ वटा गैंडा निकुञ्जभित्र बस्छन्। एक सिंगे गैंडाको नेपालकै दोस्रो बासस्थान हो बर्दिया। यतिबेला बर्सेनी सयौं विदेशी पाहुना घुम्ने थलो बर्दिया निकुञ्ज बनेको छ।

होमस्टेका कारणले आन्तरिक पर्यटक बढेका छन्। भौतिक पूर्वाधार, बाटोघाटो र पुल पुलेसा बनिसकेकाले बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सजिलो छ। तराई क्षेत्रमा व्यापक रूपमा होमस्टे प्रवद्र्धन भइसकेका छन्। डल्ला, सतखलुवा, जनकनगर, रम्बापुरमा होमस्टे स्थापित भइसकेका छन्। स्थानीय परिकार पस्कन सक्ने सक्षम होमस्टे भनेर चिनिएका कारण पाहुनाको आवागमन सन्तोषजनक छ।

चुरे क्षेत्रमा बसोबास भए पनि स्थानीयको आर्थिक अवस्था उकासिएको छैन। चुरे क्षेत्रका स्थानीयले भने पर्यटनबाट खासै राहत पाउन सकेका छैनन्। चुरे क्षेत्रका स्थानीय संरक्षणमा लागे पनि उचित लाभ पाउन सकेका छैनन्। बर्दिया, बाँके र सुर्खेतका चुरे क्षेत्र पर्यटनका हिसाबले पछिल्लो समय महत्त्वपूर्ण मानिएको छ। नयाँ पदमार्गका लागि धमाधम होमस्टे खुल्न सुरु भइसकेको छ। जबकि चुरे क्षेत्रमा प्रशस्तै सम्पदा, प्रकृति र संस्कृति लोभलाग्दो छ। गाउँमा मकै, कोदो, आलु, गहुँ र फापर उत्पादन हुन्छ।

बर्दिया निकुञ्जको चुरे क्षेत्र बाँके, सुर्खेत र दाङसम्म जोडिएको छ। बर्दिया निकुञ्जको तरंगाबाट तेलपानी हुँदै, लेखपराजुलदेखि छिन्चुसम्म निस्कने चुरे क्षेत्रको नयाँ पदमार्ग हो। बाँके क्षेत्रमा छिन्चु हुँदै हात्ती दमारदेखि दाङसम्म ट्रेकिङ गरेर पुगिन्छ। चार चार घण्टामा पुगिने प्रत्येक गन्तव्यमा होमस्टे सञ्चालन गरिएको छ। बर्दिया निकुञ्जदेखि नयाँ पदमार्ग घुमेर फर्कंदा लाग्ने समय एक साता हो। उक्त ट्रेकिङ क्षेत्रमा ३४ वटा होमस्टे भर्खरै सञ्चालनमा आएका छन्।

चुरे क्षेत्रमा पदमार्ग गर्दा झरना देखिन्छन्। पदमार्गबाट देखिने अर्को आर्कषण उत्तरमा हिमाल र दक्षिणमा बर्दिया निकुञ्जको बबई उपत्यका भ्याली हो। बबई उपत्यकाको सौन्दर्य लोभलाग्दो छ। एक साताको पदयात्रामा धेरै किसिमका अनुभव सँगाल्न सकिन्छ। भौतिक पूर्वाधारका हिसाबले कमजोर मानिएको ट्रेकिङ प्रकृतिसँग रमाउँदा बाटो कटेको थाहा हुँदैन।

हामीले खोल्न लागेको नयाँ पदमार्गले चुरे क्षेत्रमा पर्यटकीय चहलपहल बढाउने छ। साथै अग्ला हिमाल हेर्दै लोअल्टिच्युडमा यात्रा गर्न सकिने छ। नयाँ पदयात्रामा जुन बाटो गयो त्यो बाटो फर्कन सकिन्छ। तराईको चुरे क्षेत्रमा यो नयाँ चुरे पदमार्गका रूपमा विकास गर्दै छौं। यो मार्ग आसपास ३४ वटा होमस्टे सञ्चालनमा छन्। नयाँ चुरे पदमार्ग सञ्चालनमा आउनुअघि विज्ञको टोलीले भम्रण गरिसकेको छ।

(नागरिककर्मी निर्मल घिमिरेले गैंडा विशेषज्ञ तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका अध्यक्ष डा. रविन कडरियासँग गरेको कुराकानीमा आधारित आलेख) 

प्रकाशित: १४ माघ २०७९ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App