काठमाडौं–विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन् । बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ । झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ ।
‘कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्यचौकी पुगिहाल्नुपर्छ,’ राष्ट्रिय इपिडियोमोलोजी तथा रोगनियन्त्रण महाशाखा, विपद् व्यवस्थापन शाखाका प्रमुख डा. गुणनिधि शर्माले भने । गत वर्षदेखि यो रोगका कारण नेपालमा आठ जनाको ज्यान गइसकेको छ । वैशाखयता मात्रै तीन जनाले ज्यान गुमाएका छन् । यस वर्ष १७ जिल्लाका ९३ जनामा संक्रमण प्रमाणित भइसकेको छ ।
‘स्क्रब टाइफसका कारण जसको ज्यान गयो उनीहरू उपचारमा ढिला पुगेको देखिन्छ,’ डा. शर्माले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुन सुरुमै आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गनुपर्ने अवस्था निम्तिने बताउँछन् । स्क्रब टाइफस उपचारका लागि सरकारले देशभरका स्वास्थ्यचौकी तथा अस्पताललाई तयारी अवस्थामा राखेको डा. शर्माले जानकारी दिए । उनका अनुसार यो रोग संक्रमण भएपछि दिइने औषधि र जानकारी सबै तहका स्वास्थ्यसंस्थामा पुगिसकेको छ । ‘हेल्थपोस्टका प्यारामेडिकल पनि यसको उपचार गर्न सक्षम छन्,’ शर्माले भने ।
महाशाखाले छिटो उपचार गरी जोखिम कम गर्न सबै स्वास्थ्यचौकीमा औषधि विवरण जारी गरिसकेको छ । डक्सी साइक्लिन, एजिथ्रोमाइसिन, क्लाराम फनिकल, सिप्रोफोलाक्सिासिनमध्ये कुनै एक औषधि पाँचदेखि दस दिन प्रयोग गरे बिरामी पूर्ण रुपमा निको हुने शर्माले बताए । यसका साथै संक्रमितले प्रोटिनयुक्त खाना र प्रशस्त झोल पदार्थ खानुपर्ने उनले सुझाए ।
चितवनमा यो रोगको संक्रमण अधिक पाइएको छ । वैशाखयता चितवनमा ४२, नवलपरासीमा १० र संखुवासभामा ६ संक्रमित फेला परेका छन् । नुवाकोट, मकवानपुर, बाग्लुङ, पर्सा, रुकुम, सर्लाही, सिन्धुली, सुनसरीलगायत जिल्लामा पनि यसका बिरामी भेटिएका छन् ।
चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ ।
स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छन् । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन् । ‘यसको जोखिम भनेकै छिट्टै अन्य अंगमा पनि संक्रमण गराउँछ,’ शर्माले भने ।
कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ । उनीहरूका अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउनुपर्छ ।
नेपालमा सन् २००४ देखि नै यो परजीवी रहेको अध्ययनले पुष्टि भइसकेको छ । गत वर्षदेखि भने यसका प्रमाणित बिरामी फेला परिरहेका छन् । ‘यस्तै लक्षणलाई पहिला टाइफाइड भनेर उपचार गरिन्थ्यो, टाइफाइडको औषधिले निको नभएपछि टाइफसको खोजी भएको थियो,’ डा. शर्माले भने । टाइफस संक्रमण गराउने परजीवी भारत, अस्टे«लिया, मलेसिया, थाइल्यान्ड, कोरिया, भियतनाम, माल्दिभ्स, बंगलादेश, पपुवान्युगिनीलगायत देशमा पनि पाइन्छ । अमेरिकी सैनिकमा सन् १९७० मा देखा परेपछि यो रोग पहिचानमा आएको थियो ।
प्रकाशित: ८ भाद्र २०७३ १०:०५ बुधबार