१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङको साकेलामा कर्मचारी छनौट लोकसेवा प्रक्रियाबाट

खोटाङको साकेला गाउँपालिका केन्द मानेभन्ज्याङ। तस्बिर: महेश्वर

खोटाङको साकेला गाउँपालिकाले कर्मचारी संयन्त्रमा सुधार ल्याउने अभियान थालेको छ। प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्वच्छ, पारदर्शी र जनतामैत्री कर्मचारी संयन्त्र निर्माणमा गाउँपालिका लागेको र त्यसका लागि नयाँ कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगले तय गरेको ३ चरण परीक्षाको प्रक्रिया अपनाइएको अध्यक्ष रबिप्रकाश राईले बताए। कर्मचारी प्रशासन अनावश्यक दवावमुक्त हुनुपर्ने र त्यसका लागि तोकिएको ऐन्, कानुन र नीति नियमभित्र रहेर काम गर्ने वातावरण बनाउँन सके मात्र जनतालाई सहज सेवा प्रवाह गर्न सकिने उनको बुझाई छ।

अध्यक्ष राईले कर्मचारी संयन्त्र सुधार गर्न पहिलो कुरा जनप्रतिनिधि नै प्रतिवद्ध हुनुपर्ने खाँचो महसुस गरेका छन्। जनप्रतिनिधि स्वयं जिम्मेबार र निस्वार्थ रहन सके कर्मचारी संयन्त्र स्वतः सुधार हुने उनी बताउँछन्। त्यसैले कर्मचारी छनौट, नियुक्तिदेखि योजना तर्जुमा हुँदै बजेट विनियोजनसम्ममा दक्ष, योग्य र सक्षमतालाई मानक बनाएर अघि बढ्न आफुले सुरु गरेको अध्यक्ष राईले जनाए। आवश्यकता र औचित्यका आधारमा काम गर्न सक्ने कर्मचारी संयन्त्र निर्माण गर्न सके मात्र दवाव, प्रभाव, अभाव र हस्तक्षेपमुक्त गाउँपालिका बनाउन सकिने उनको ठहर छ।

बिगतको परम्परा तोड्न साकेला गाउँपालिकाले सुरु गरिसकेको पनि अध्यक्ष राईले बताए। त्यसका लागि गाउँपालिकाको ‘पूर्ण सरसफाई अभियान’ कार्यक्रका लागि आवश्यक कर्मचारी भर्ना गर्दा लोसेवा आयोगको प्रक्रिया अपनाइएको छ। लोकसेवा आयोगको प्रक्रिया अनुसार १ जना कार्यक्रम संयोजक र ५ जना उत्प्रेरकको विज्ञापन खोल्दा २ जना उत्प्रेरक मात्र उत्तिर्ण भएको गाउँपालिकाले जनाएको छ।

बिगतमा स्वार्थवश असक्षम व्यक्तिहरुलाई गलत तरिकाले भर्ना गर्ने परम्पराको अन्त्य गर्न लोकसेवा प्रणाली अपनाई स्वस्थ्य प्रतिस्पर्धामार्फत ३ चरणको परीक्षा लिदा कर्मचारी पाउँन भने गाउँपालिका असफल भएको छ। कर्मचारी भर्नामा आवेदन प्रक्रियोखि नियुक्तिसम्म अनावश्यक हस्तक्षेप, अस्वस्थ्य प्रतिस्प्र्धा, स्वार्थ, जालझेल र प्रपञ्च रहिआएको परम्परा तोड्दै निश्पक्ष तवरले सक्षम र योग्य कर्मचारी राख्न खोज्दा नपाएको उनले बताए।

यसअघि साकेलामा गैरसरकारी संस्थामार्फत सञ्चालित सरसफाई अभियान कार्यक्रम गाउँपालिकाले जिम्मा लिएर सञ्चालन गर्न लागेको हो। त्यसका लागि १ जना संयोजक र ५ जना उत्प्रेरक पदपूर्ति गर्न लोकसेवा आयोगको प्रक्रिया अन्तर्गत खुल्ला प्रणालीको ३ चरण परीक्षा लिएको थियो। परीक्षामा संयोजक र ३ उत्प्रेरक गाउँपालिकाले पाउन सकेन। २ जना उत्प्रेरकको मात्र पदपूर्ति भएको गाउँपालिकाका सामाजिक विकास शाखा अधिकृत दुर्गा राईले बताइन्। लोकसेवा प्रणाली अन्तर्गत ३ चरण परीक्षा लिन संयोजकका लागि ४ र उत्प्रेरकमा ४४ जनाको आवेदन परेको थियो। गत पुस २८ गते संयोजक र २९ गते उत्प्रेरकको प्रथम चरणको लिखित परीक्षा हुँदा उत्तिर्ण १ जना संयोजक दोस्रो चरणमा अनुत्तिर्ण भएपछि संयोजकको पदपुर्ति हुन सकेन भने ५ उत्प्रेरकका लागि ४४ जना आवेदकमध्ये ३२ ले दिएको परीक्षामा ७ जना मात्र प्रथम चरण उत्तिर्ण भए। दोस्रो चरणको परीक्षा उत्तिर्ण गर्ने २ जना मात्र उत्प्रेरकमा नियुक्त भएका छन्।

निष्पक्ष तवरले सक्षम र योग्य कर्मचारी छनौट गर्ने अभियान चलाउँदा असफल भएपछि गाउँपालिकाले दोस्रो पटक विज्ञापन खोल्ने तयारी गर्दैछ। ‘ढिलै होस् तर, योग्य र सक्षम कर्मचारी चयन गर्ने छौँ’ अध्यक्ष राईले भने ‘त्यसका लागि बरु दोस्रो, तेस्रो पटक नै विज्ञापन खोल्छौँ, तर भनसुन र स्वार्थवश कुनै असक्षम र अयोग्य कर्मचारी राख्दैनौँ।’

प्रकाशित: ६ माघ २०७९ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App