२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘वातावरण शिक्षा’ को अन्तरक्रिया

वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा भर्चुअल माध्यमबाट ‘वातावरण शिक्षा’ पुस्तकको अन्तरक्रिया भएको छ।

डा. हिमलाल श्रेष्ठले शुरु गरेको उक्त कार्यक्रमको सहजीकरण डा. रोशन शेरचनले गरेका थिए। हिमाली संरक्षण समूहको तर्फबाट डा. भरतमान श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए। डा. श्रेष्ठले हिमाली संरक्षण समूहको स्थापनाकालदेखि नै वन तथा वातावरण संरक्षण क्षेत्रमा जनचेतना जगाउन विविध कार्यक्रम गर्दै आएकोमा  प्रकाशित ‘वातावरण शिक्षा’ले थप योगदान दिने विश्वास व्यक्त गरेका थिए।

डा. शेरचनले प्रधानसम्पादक विष्णुप्रसाद आचार्यको परिचय वन प्राविधिक मात्र नभई लेखक र संरक्षण अभियन्ता समेत रहेको र पुस्तकले वन, वातावरण र पर्यावरणका विविध पाटा समेटेको बताए।

डिभिजनल वन अधिकृत समेत रहेका प्रधानसम्पादक आचार्यले पुस्तक प्रकाशनको मूल उद्देश्य, यसको ढाँचा, प्रकाशनको व्यवस्थापन, सम्पादक मण्डल अनि लेखकहरूको विस्तृत विवरण पेश गरका थिए।

उनले डिभिजन वन कार्यालय, राप्ती, मकवानपुर प्रकाशक रहेको उक्त पुस्तक स्कुल र कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएको भए पनि केही साम्रगी अन्य वर्गको निम्ति पनि उपयुक्त रहेको बताए।

डडेल्धुराबाटै यस्तो प्रकाशन गर्दै आएकोमा मकवानपुरमा पनि त्यसलाई निरन्तरता दिइएको आचार्यले बताए। उनले पुस्तकका कविता र लेखबारे संक्षिप्तमा बोलेका थिए।

ईको क्लव, सालक, शहरी वन, शिक्षा अभियन्ता रूपचन्द्र विष्ट, विद्यालय शिक्षा, संरक्षण शिक्षा, मकवानपुरका पर्यटकीय गन्तव्यहरू, वन्यजन्तु फोटोग्राफी लगायतका विषयहरू पुस्तकमा समेटिएका छन्।

डा. पुष्पा केसी भण्डारीले बालबालिकामा पुस्तक समर्पित गरेकोमा प्रधानसम्पादकको प्रशंसा गर्दै पुस्तकले समेटेका वन, वातावरण, पर्यापर्यटन, जलवायु परिवर्तन र विद्यालय शिक्षा जस्ता बहुपक्ष उदाहरणीय भएको कुरामा जोड दिइन्।

वर्तमान परिप्रेक्ष्यमा वन, वातावरण, पर्यावरण सेवा-सुविधाहरूको विषय  झन् सान्दर्भिक भएकाले यस्ता कार्यक्रमहरूले यी विषयहरूलाई विस्तार गर्नेमा विश्वस्त भएको बताइन्। आगामी दिनमा पुस्तकमा देखिएका प्राविधिक र अवधारणागत अस्पष्टताहरू सुधार्दै अघि बढ्नेमा विश्वस्त रहेको समेत बताइन्।

डा. ऋषि बस्ताकोटीले प्रधानसम्पादक आचार्यको सिर्जनात्मकता र सधै नयाँ-नयाँ काम गर्ने तल्लीनताको प्रशंसा गर्दै उक्त प्रकाशनमा सहयोग गर्ने सम्पादक मण्डल, लेखक र सम्बन्धित सबैको सकारात्मक पहल अनुकरणीय रहनुको साथै नवपुस्ता र विद्यार्थी भाइबहिनीहलाई वातावरणको मूल प्रवाहमा ल्याउन यो पुस्तक कोसे ढुंगा हुने बताए।

बस्ताकोटीले एक जिल्लाबाट सुरु भएको यो अनुकरणीय अभियान र यसका सिकाइलाई  स्थानीय सरकार र प्रान्तीय सरकारसँग मिलेर नीतिगत रूपमा ल्याउन सके राम्रो हुने भएकाले सम्बन्धित पक्षले ध्यान दिन जरुरी भएको बताए।

अन्तरक्रिया कार्यक्रममा डा. राजेन्द्र केसी, डा. विजयराज पौडेल, दधि सापकोटा, हेमन्त काफ्ले, डा. ज्योति भण्डारी लगायतले यस्ता विचार-विमर्शले वातावरण र पर्यावरणको कार्यलाई अझ विस्तार गर्ने, यस्ता कार्यक्रम धेरैभन्दा धेरै नागरिकमा पुर्‍याउन प्रयास गर्नुपर्ने सुझाएका थिए। ‘हरियो वन नेपालको धन’ भन्ने गरिए पनि स्कूलको पाठ्यक्रमबाट वन र वातावरणका विषय घट्दै गएकामा समेत सहभागीले चासो राखेका थिए।

सहजकर्ता डा.शेरचनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गरेका थिए।

प्रकाशित: ४ माघ २०७९ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App