१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा आज पुसे पन्ध्र मनाइँदै

जुम्लामा पनि आज लोक कथा सुन्ने, सुनाउने र आगो तापेर रातभर जाग्राम बसेर पुसे पन्ध्र पर्व मनाइँदै छ।बुढापाकाहरूले लोक कथा सुनाउने र परिवार सहित छिमेकका व्यक्तिहरूले आगो ताप्दै यस अवसरमा रातभर जाग्राम बसी कथा सुन्ने गर्दछन्।

पुस १५ गतेको रातिलाई वर्षकै ठूलो रात्रिका रूपमा लिने गरिन्छ। यस बेला अनिर्वाय रूपमा जाग्राम बस्नुपर्ने चलन रहेको छ। लोक कथासँगै बुढापाकाहरूले गाउँ खाने कथा भन्दै सुन्नेहरूले त्यसको उत्तर दिनु पर्दछ। उत्तर नदिन सके गाउँ दिने गरिन्छ त्यसपछि मात्रै बुढापाकाहरूले रमाइलो गर्दै उत्तर भन्ने गरिएको संस्कृतविद रमानन्द आचार्यले बताए।

उनका अनुसार पुस पन्ध्रपछि जाडोका दिनहरू सकिँदै जाने जनविश्वास रहेको छ। परम्परागत कालदेखि नै कर्णाली प्रदेशका सबै जिल्लामा रात भरी जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीतहरू गाएर यस पर्वलाई रमाईलो गरी मनाइँदै आएको छ।

पुसे पन्ध्रमा पिडालु, तरुल, फर्सी, चामलका रोटी, सेल पुरी, लगायतका खाद्य परिकार पकाई घरमा जम्मा भएकाहरूलाई खुवाउने र बाँड्ने गरिँदै आएको उनले बताए। त्यो चलन भने हराउँदै जान थालेको छ।

यसबेला कुनै कुनै ठाउमा रातभर भजन कीर्तनका साथै देउडा खेल्ने चलन रहेको छ। यस दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र स्थानीय भाषामा कथा सुन्ने र सुनाउने गरिन्छ। कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ।यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उनले जनाए। युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ।

प्रकाशित: १५ पुस २०७९ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App