२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

चिसो छल्न विकल्प खोज्दै जुम्ली महिला

जुम्ला सहित देशभर अत्याधिक रूपमा चिसो बढ्दै गइरहेको छ। जुम्लामा चिसोको कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ।

जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरु यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्। उनीहरु हिउँदको चिसो कटाउन बन जंगल तिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्। पुस लागेपछि जाडो अझ बढ्ने भएकाले यस क्षेत्रका महिलाहरुलाई जाडो छल्नका निमित्त दाउरा ओसापोसार गर्न भ्याइनभ्याइ छ।

जुम्लामा हिउँ पर्ने समय पनि नजिकिँदै छ, यहाँ पुस महिनादेखि फागुन र चैतको अन्तिम सम्ममा हिउँ पर्ने गर्दछ। हिउँ पर्न साथ बाटो बन्द हुने हुँदा जाडो छल्न पूर्व तयारीका लागि यहाँका महिलाहरु दैनिक तीन चार घण्टाको पैदल यात्रा तय गर्दै जङ्गलबाट दाउरा ल्याउने गर्दछन्।

कात्तिक महिना भरी बर्खे बालीहरु भित्राउन व्यस्त हुने जुम्ली महिला पुस लाग्न थालेसँगै दाउराको जोहो गर्न व्यस्त देखिन्छन्। अहिले जुम्लाको अधिकतम तापक्रम १७ दशमलव ९ र न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाले जनाएको छ।

जाडो कटाउन घरमा १०/१२ महिने दुधे बालक अरुकै भरमा छाडेर जंगल जान बाध्य भएको जुम्ली महिलाहरु बताउँछन्।mजुम्ला पातारासी १ की सुनकला एडी भन्छिन् 'हरेक वर्ष हिउँदमा निश्चित समय तोकेर मात्र दाउरा सङ्कलनका लागि खुला गर्ने गरिन्छ। र यस अवधिमा मात्र दौरा संकलन गर्न पाइने भएपछि शिशुको परवाह नगरी  दाउरा संकलन गर्नुपरेको छ।'

जुम्लामा वर्षैदेखि गाउँका मुख्य टोली र वन उपभोक्ता समितिको समन्वयमा स्थानीयवासीलाई जङ्गलमा रहेका सुकेका दाउरा फुकुवा गर्ने प्रचलन छ।

जुम्ली महिला १० देखि २० जना सम्म मिलेर दाउरा सङ्कलनका लागि जंगल आउजाउ गर्ने गर्दछन्। हातमा पञ्जा, मुखमा मास्क र खुट्टामा टालटुल गरेको मैलो जुता, पिठ्युँमा डोको, दाउराका सहित उनीहरु भेटिने गर्दछन्। जाडोका कारण गाई गोरु पनि बन पाखा लान नसकिने हुँदा करिब साढे दुई महिना जति घरमै राखिन्छ। यो चलन पातारासी गाउँपालिकाको नभई सिङ्गो जुम्लाको अवस्था र व्यवस्था हो।

जुम्ली माहिलाहरु बिहान सबेरै तीन घण्टाको उकालो तय गरी लेकको जंगलमा पुगेर दाउरा संकलन गरेपश्चात् ओसारपसारका लागि हुनेले घोडा वा खच्चडको प्रयोग गर्दछन् भने नहुनेले आफ्नो पिठ्युँमा बोकेर ल्याउने गर्दछन्।

प्रकाशित: २९ मंसिर २०७९ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App