१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खाँणलाई चुनौती बन्दै राप्रपाका बोहोरा

२०७४ को आम निर्वाचनमा कांग्रेस नेता बालकृष्ण खाँण राप्रपा नेता दीपक बोहोराको पक्षमा मत माग गर्दै एउटै मञ्चमा थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि कांग्रेसले पनि राप्रपासहितका दलहरूलाई साथमा लिएर निर्वाचन प्रतिस्पर्धामा थियो। तर पाँच वर्षपछि अवस्था ठिक उल्टो भएको छ। तिनै बोहोरा र खाँणले रूपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्।

खाँण कांग्रेस नेतृत्वमा रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको साथमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्। गृहमन्त्रीसमेत रहेका खाँणलाई चुनौती दिँदै विगतमा आफैंले सहयोग गरेका बोहोरा मैदान खडा भएका छन्। एमाले नेतृत्वमा राप्रपा, जनता समाजवादी पार्टीसहितको समर्थन बोहोराले खाँणमाथि चुनौती बढाइरहेका छन्।

आ-आफ्नै दाबी

चुनावी समीकरण र माहोल केलाउँदा अहिलेसम्म खाँण नै बलिया देखिन्छन्। पाँच दलीय गठबन्धनमा जनमुक्ति पार्टी पनि थपिँदा खाँणको पल्ला भारी देखिएको हो। त्यसका साथै राष्ट्रिय राजनीति र पार्टीमा केन्द्रीय पहुँच बलियो हुनु पनि उनको सकारात्मक पक्ष हो।

आफ्नो क्षेत्र/जिल्लामा विकासका योजना ल्याउन र ती सम्पन्न गर्न सक्रियता देखाउने नेताको परिचय बनाएका खाँणले रूपन्देहीमा तिनाउ, दानवलगायतका नदीमा आधा दर्जनभन्दा बढी पुल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया ६ लेन सडक, सेज, भित्री सडक, करिडोर सडक, खानेपानी आयोजना, डिप ट्युबेल, स्यालो ट्युबेलजस्ता साना-ठूला सिँचाइ आयोजना सम्पन्न भएको कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङको दाबी छ।

तर, कांग्रेसभित्रको गुटगत किचलो भने खाँणका लागि थप चुनौतीका रूपमा देखिएको छ। पार्टी अधिवेशनको असन्तुष्टिहरू निर्वाचनमा पोखिने त होइन भन्ने आशंका खाँणसहित गठबन्धनका नेताहरूमा देखिन्छ। तर जिल्ला सभापति रामकृष्ण खाँणले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार जित्ने र पार्टीभित्र पनि कुनै समस्या नभएको दाबी गरे।

त्यसो त स्थानीय तहको मतलाई आधार मान्ने हो भने बोहोरालाई पनि कमजोर मानिहाल्ने अवस्था देखिँदैन। स्थानीय तहमा राप्रपा र एमालेले पाएको मत जोड्दा तीन दलीय गठबन्धन अंक गणितमा बलियो देखिन्छ। तर, एमाले नेता घनश्याम भुसालाई उम्मेदवार नबनाएपछि उनले पार्टी छाडेका छन्। त्यसको असर त्यसक्षेत्रमा कति पर्दछ त्यसले निर्वाचन परिणाम फरक पार्न सक्ने आकलन गरिएको छ।

साथै भुसालले एमाले छाडेर रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्ता गठबन्धनले समर्थन गर्दा त्यसको लाभ खाँणलाई केही हदसम्म मिल्न सक्ने अनुमान गरिएको छ। भुसाललाई टिकट नदिएर राप्रपा जस्तो पश्चगामी शक्तिसँग तालमेल गरेकोमा एमालेको एउटा तप्का असन्तुष्ट छ। त्यसका साथै पञ्चायत कालमा लामो समय सत्ता र शक्तिको आडमा तराईको समुदायमाथि राज गरेको र मण्डले धङधङीबाट मुक्त हुन नसकेको भन्ने आरोप बोहोरामाथि लाग्ने गर्छ।

२०४६ पछिका ५ वटा निर्वाचन लडेका बोहोराले ४ वटामा पराजय भोग्नुले पनि यो आरोपलाई केही हदसम्म मलजल गरेको आरोप लाग्दै आएको छ। पोष्ट कोभिडको असर घाँटीमा देखिएकाले चिकित्सकै सल्लाहमा केही समयदेखि भ्वाइस रेष्ट बोहोरा गरेको स्वकीय सचिव धर्म केसीले बताए। त्यस्तै अहिले बोहोरा मतदातासँग बोलेर भोट माग्न सक्ने अवस्थामा छैनन्। घरदैलो र सभा सम्मेलनमा बोहोराको लिखित भाषण र प्रतिबद्धता पूर्वमन्त्री निरन्जन थापाले पढिदिन्छन्।

बोहोराले मतदाताको दैलोमा पुग्दा हात जोडछन, कुरा सुन्छन् र थापातिर फर्किएर इसारा गर्छन्। त्यसपछि थापाले बोहोराको तर्फबाट मतदातालाई आश्वासन दिन्छन्। यो परिदृष्यले जनतासँग भोटै माग्न नसक्ने नेताले भोलि जनताका आवाजलाई कसरी बुलन्द गर्लान् त भन्ने अहिले चुनौतीकै रूपमा देखिएको छ। सामान्य स्वास्थ्य समस्याका कारण भ्वाइस रेष्ट गरेको विषयलाई विपक्षीले गलत प्रचार गरिदिएको आरोप राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताप राणाको छ।

‘हारको मानसिकताबाट आत्तिएकाहरूले बोहोराजीको स्वास्थ्यलाई समेत मुद्या बनाएका छन तर छिट्टै यो समस्या समाधान हुनेछ, निर्वाचन जितेर संसद्मा यहाँका जनताको आवाजलाई उठाउनु हुनेछ,’ राणाले भने। भैलुभुज सिंचाइ आयोजना, पुल, सडक खानेपानी, व्यवस्थित बस्ती विकास, डिप ट्युबेलजस्ता आधारभूत विकासका थुप्रै योजना बोहोराले ल्याएकाले जनताले उनैलाई चुन्ने राणाले दाबी गरे। तीन दलको कसीलो गठबन्धन निर्वाचन जित्ने मुख्य आधार भएको राप्रपा अध्यक्ष राणाको दाबी छ।

अबको पाँच वर्षमा भैरहवालाई लुम्बिनी प्रदेशकै औद्योगिक, व्यापारिक र पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सिद्धार्थ चक्रपथ निर्मार्ण गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउने, आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्दै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने खाँणले बताउँदै आएका छन्।

मर्चवारदेखि मुस्ताङ्गसम्म सडक, बुटवल-भैरहवा-सुनौली हाइवेमा मेट्रो ट्रेन, सेमलारमा आधुनिक कृषि बजार केन्द्र, बेलहियामा एकीकृत भन्सार चौकी (आइसिपी) सेजमा विद्युत् सबस्टेसन निर्माण, सिद्धार्थनगरको क्रिकेट मैदानको स्तरोन्नति, भैरहवाको भीम अस्पतालको स्तर वृद्धि, कालीगण्डकी-तिनाउ डाइभर्सन जस्ता ठूला परियोजनामार्फत विकास र समृद्धिको खाका कोर्ने भनेका छन्।

राप्रपा नेता बोहोराले पनि भैरहवालाई केन्द्रमा राखेर विकासे योजना ल्याएका छन्। उद्योग व्यापार मेला सञ्चालनका लागि भैरहवा मण्डप बनाउने, दानव नदीमा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसिपी) निर्माण, भलवारी-तीनकुट्टा सडक विस्तार, क्षेत्र समेटिने गरी चक्रपथ निर्माण, तिलोत्तमामा प्रादेशिक बसपार्क निर्माण, सडकको स्तरोन्नति तथा निर्माण, मन्दिर, पर्यटकीय संरचना निर्माण गरी पर्यटन प्रबद्र्धन गर्ने, छोटी भन्सार पुनः सञ्चालनमा ल्याउने, भीम अस्पतालको स्तरोन्नति लगायतका योजना लिएर बोहोरा मतदाताको घरदैलोमा पुगेका छन्।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका दलहरूको मत ४० हजार १ सय ८५ छ भने अहिले जोडिन आएको जनमुक्ति पार्टीको त्यस क्षेत्रमा ४ हजार मत छ। त्यसलाई जोडदा सत्ता गठबन्धनको मत ४४ हजार बढी हुन्छ। एमाले,राप्रपा र जसपाको ४८ हजार ६ सय २८ छ। यो मत अनुसार सत्ता गठबन्धन ४ हजारले पछाडि देखिए पनि राप्रपासँगको गठबन्धन र नेतृत्वको कार्यशैलीबाट रुष्ट एमाले भोट बोहोरालाई जानेछ। 

प्रकाशित: २८ कार्तिक २०७९ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App