२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मर्दी पदयात्रा व्यवस्थित गर्न मतदाताको माग

छोटो समयको लागि मर्दी पदायात्रा सबैको रोजाई बन्दै गएको छ। दुई दिनमा सकेर फर्किन सकिने मर्दी पदयात्रा विशेष गरी आन्तरिक पर्यटकको रोजाईको गन्तव्य बनेको छ। हिमालकै समीपमा पुगेर पदयात्राको पूर्णआनन्द लिन सकिन्छ। वर्षेनी मर्दी पदयात्रामा हजारौं पर्यटक उक्लिने गरेका छन।  

वर्षेनी पर्यटक उक्लिएपनि अझै व्यवस्थित हुन नसकेको गुनासो स्थानीय बासिन्दाले गर्दै आएका छन्। कास्कीको मर्दी हिमाल पदयात्रा पदयात्रीको लागि प्रचलित छ। मर्दीमा केही वर्षदेखी यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ। तर मर्दी पदयात्रा व्यवस्थित हुन सकेको जन गुनासो छ पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत लगायतका समस्या छन्।

दैनिक जीवनको लागि अत्यावश्यक पूर्वाधार नहुदाँ पर्यटक निराश हुने गरेका छन्। पर्यटकको आगमनमा देखिएको उत्साहसँगै त्यस क्षेत्रमा होटलहरु खुल्ने क्रम बढेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका प्रज्वल क्षेत्रीले वर्षेनी हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई व्यवस्थित गर्नेतर्फ ध्यान नपुगेको गुनासो सुनाउँछन्।

सिदिङमा चुनावी अभियानमा पुगेका निर्वाचनका उम्मेदवार समक्ष गुनासो राखे। ‘मर्दी पदयात्रामा समस्या नै समस्या छन्। केन्द्रीय विद्युत अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ। सरकारले व्यवस्थित गर्दै पर्यटकलाई सुविधा दिनुपर्दछ,’ उनले आफ्नो गुनासोलाई उम्मेदवार समक्ष फुकाए।

स्थानीय बासिन्दाकै प्रतिनिधित्व गरेर गुनासो सुनाएपछि घरदैलो अभियानको क्रममा पुगेको गठबन्धन (माओवादी केन्द्र)का उम्मेदवार रामजी बरालले मर्दीका समस्या समाधानमा आफूले सघाउने प्रतिबद्धता गरे। दुई पालिकाको सीमा विवाद, पर्यटकीय पूर्वाधार निर्माण लगायतमा विशेष पहलकदमी गर्ने स्पष्ट पारे।

‘यस क्षेत्रका जनताको समृद्धिको मुख्य आधारनै पर्यटन हाे। मर्दी हिमाल, माछापुच्छ्रे मोडल ट्रेक लगायतका पर्यटकीय पदयात्रालाई व्यवस्थित विकासमा हाम्रो ध्यान पुग्ने छ’, उनले भने–‘केही काम थालनी पनि भएका छन्, यसलाई विकास गर्न हामी सम्पूर्ण रुपले लाग्छौं।’ प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीले प्रकृतिले दिएको अनुपम उपहारको व्यवस्थित र दिगो विकास गरी आयआर्जन गर्न सकिने बताए।

मर्दी पदयात्रालाई सहज र व्यवस्थित बनाउन प्रदेशसभामा आफनो एजेण्डा बन्ने जकिर उनले गरे। उनका अनुसार मर्दीमा जति धेरै पर्यटक भित्राउन सकिन्छ, त्यतिनै समृद्धिको ढोका खोलिने छ। भण्डारीले ल्वाङ, घलेल, कालीमाटी, सिदिङ लगायतका क्षेत्रहरुलाई मर्दी र माछापुच्छ्रे पदयात्रासँग जोडेर विकास गर्ने आफ्नो योजना रहेको स्थानीयलाई सुनाए।  

प्रकाशित: २१ कार्तिक २०७९ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App