१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मंसिर ४ गते गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ: नेता बस्नेत

नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोश पोखेका छन्।

नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रुपमा स्थापित गराएको स्मरण गराए। ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकासित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको विदा मनाइरहेको दावी गरे। जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंको लागि बिदा गर्ने दावी गरे। मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने उनको दावी छ।

उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठूलो र राष्ट्रिय गौरवका आयोजनाहरु व्यापक मात्रामा चाएको थियो। विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुले जताततै लहर नै छाएको थियो। तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएको छैन। अघिल्लो कार्तिक तथा मंसिरमा जताततै विकासका कार्यहरु भएका थिए। उद्घाटन र शिलान्यासमय मुलुक बनेको थियो। तर यो सरकार आएसँगै चाल आयोजनाहरु रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन्। विकास र मुलुकमा नै होलीडे बनेको छ। सरकारलाई विकासको त क्यान्सर नै लागेको छ। आगामी मंसिर ४ गते गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ। त्यस पछि एमालेको सरकार बन्ने छ। जसले विकास प्रति जनताको तिव्र चाहनालाई पुरा गर्नेछ।’

निर्वाचनमा एमालेको प्रतिष्पर्धि कुनै पनि पार्टी नभएको उल्लेख गर्दै उनले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको उल्लेख गरे। एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रियताको सवालमा विश्वलाई नेपालको शिर उचो बनाएको स्मरण गराउँदै उनले ओली नेतृत्वको सरकारले लिपुलेक, लिपिम्याधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोप लगाए।  वर्तमान सरकारले एमसीसी, एसपीपी, राष्ट्रघाती नागरिकता विधियक ल्याई मुलुकलाई सयौं वर्ष पछि धकेल्ने मात्र नभई शक्ति राष्ट्रहरुको खेलमैदानको रुपमा लैजान खोजेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा राष्ट्रघातीलाई चोट तथा राष्ट्रवादी एमालेलाई जनताले भोट दिनुपर्नेमा जोड दिए।  

एमाले मुलुक र जनताप्रति शतिसाल झैं उभिएको स्मरण गराउँदै उनले गठबन्धनका दलहरुले भक्तपुरका जनतासँग भोट माग्ने नैतिक अधिकार समेत नभएको बताए। विकासको बजेट समेत कटौती गरी जनताको भाग्य र भविष्य खेलवाड गर्न खोजेको आरोप लगाउँदै नेता बस्नेतले गठबन्धन दलका उम्मेदवारले भक्तपुरका जनताको माझमा मखुण्डो लगाएरमात्र आउनसक्ने बताए। निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरी बुथमा दवाप दिएर अगाडी बढ्ने गठबन्धन दलहरुको योजना आफुहरुलाई जानकारी आएको उल्लेख गर्दै उनले भक्तपुरमा दवाब दिएर निर्वाचनलाई विथोल्ने प्रयास गर्ने सपना नदेख्न चेतावनी दिए। गठबन्धनको दवाब पानीको फोका झैं फुट्ने उल्लेख गर्दै उनले तेब्बर मतका साथ सानदार विजयी हुने दावी समेत गरे।

प्रकाशित: १३ कार्तिक २०७९ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App