१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।  

दुई युवा नेताबीच हुन लागेको प्रतिस्पर्धाले यस क्षेत्रको चुनावी माहोल तातिएको छ। संयोग कस्तो भने एमालेका चुनाव लड्दै गरेका बस्नेत पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन् भने थापा क्षेत्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। दुई नेताबीच अर्को पनि समान पक्ष छ। दुवैको पृष्ठभूमि स्थानीय परिवेशमा अराजक किसिमको रहेको स्थानीय बताउँछन्।  

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै एमालेका नेता बस्नेत निर्वाचित भएका थिए। त्यतिबेला बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएका थिए भने ढुंगानाले १८ हजार ६सय ७५ भोट ल्याएका थिए। तर गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचन दलहरूले ल्याएको मत परिणाम हेर्दा अहिले त्यो अवस्था फेरिएको छ। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मतको परिणाको आधारमा भक्तपुर २ मा गठबन्धनको भोट अगाडि छ। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २५ हजार ७ सय ६४, नेकपा ( एमाले) ले २४ हजार २सय ८६, नेपाल मजदुर किसान पार्टीले ४ हजार ९ सय २५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार १ सय ७२, नेकपा (एस)ले १ हजार २ सय २ तथा नेकपा (माओवादी केन्द्र) ले १ हजार ४५ भोट ल्याएको थियो।  

भक्तपुर २ मा २५ जनाले उम्मेदवारी दिएका छन्। तर सोझो टक्कर भने नेपाली कांग्रेस र एमालेबीचमै हुने निश्चित छ। नेकपा (एमाले)बाट महेश बस्नेत, कांग्रेसबाट दुर्लभ थापा क्षेत्री, जनता समाजवादी पार्टीबाट दिलबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन केसी, नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा मगर, मौलिक जरोकिलो पार्टीबाट लिलाबहादुर बानिँया, हाम्रो नेपाल पार्टीबाट लोकेन्द्र पोखरेल, नेपालका लागि नेपाल पार्टीबाट राजेश बाडे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु नापित, नेपाल विवेकशील पार्टीबाट शशीविक्रम शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजु श्रेष्ठ, नेसनललिस्ट पिपुल्स पार्टीबाट शिवलाल रोकाया, अमुल परिवर्तन मसिहा पार्टीबाट शन्तबहादुर लकाज, नेपाल आमा पार्टी (एकल चुनाव चिह्न)बाट इन्द्रनारायण न्हुछें श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट साजन विकले उम्मेदवारी दिएका छन्। यसैगरी, मिनाकुमारी बाला, कल्पदीप राई, सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमिला थापा, दिनेश प्रजापति, चम्पा बोगटी, उमेश श्रेष्ठ तथा आनन्द कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मत परिणामको आधारमा हेर्दा एमालेभन्दा गठबन्धनको भोट करिब २ हजारले अगाडि छ। विश्लेषकको भनाइमा यस क्षेत्रमा राप्रपा र नेमकिपाको भोट निर्णायक मानिएको छ। नेमकिपाको भोट यताउता हुने सम्भावना कम भए पनि राप्रपाको भोट यताउता हुने सम्भावना छ। ‘राप्रपाका उम्मेदवारले नजित्ने भएपछि राप्रपालाई जाने भोट नेपाली कांग्रेस र एमालेतिर जान सक्छ। त्यो भोट नेपाली कांग्रेस र एमाले जसले आकर्षित गर्न सक्छ, त्यसैले चुनाव जित्ने सम्भावना रहन्छ,’ मध्यपुर थिमिका मतदाता अजय खड्का भन्छन्। यद्यपि कांग्रेस र एमाले दुवै आफू जित्नेमा ढुक्क छन्। ‘२०७४को निर्वाचन परिणामलाई नेहेरौं। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम हेरौं। स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा पनि हामी सानदार ढंगबाट चुनाव जित्छांै,’ कांग्रेसका उम्मेदवार थापाले भने, ‘गठबन्धनलाई विजयी गराउन भक्तपुरवासी आतुर छन्।’  

दिपावलीको अवसारमा शनिबार सूर्य विनायक संगमटोलमा गरेको कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार बस्नेतले यसपटक पहिलेको भन्दा निकै राम्रो मतको आधारमा एमालेले चुनाव जित्ने परिस्थिति सिर्जना भएको बताए। कांग्रेस समर्थक व्यक्तिहरूले समेत टेलिफोन गरेर आफूलाई भोट दिने आश्वासन दिएको उनको भनाइ छ।  

दुवै उम्मेदवारले भक्तपुरको विकास, मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्बद्र्धन, नयाँ बस्ती र पुरानो बस्तीबीच विभेद्को अन्त्यलगायतका विषयलाई उठाएका छन्। दुवै उम्मेदवार अहिले मतदाताको घरघरमा पुगेका छन्। विशेषगरी कुनै पार्टीमा नेखिएको स्वतन्त्र भोट, राप्रपा नेमकिपा जस्ता साना दलसँग निकट भएको भोट, तथा सुकुमबासी टोलमा रहेको भोट आकर्षित गर्न थापा र बस्नेतको प्रयास जारी छ।  

भक्तपुर २ का २ वटा प्रदेशसभामध्ये सत्तारुढ गठबन्धनबाट (क) कांग्रेस र (ख) नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन। जसमध्ये (क) नेपाली कांग्रेसबाट विष्णु कार्की र (ख)मा नेकपा (एस)बाट राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन्। यसैगरी, एमालेबाट (क)मा किरन थापा मगर र (ख)मा चन्दन कृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्। यसैगरी, भक्तपुर (क)मा नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसइ, राप्रपाबाट विक्रम थापा र जसपाबाट सुवास लामाले उम्मेदवारी दिएका छन्। यसैगरी (ख)मा नेमकिपाबाट रमेश वैद्य, राप्रपाबाट पञ्चकृष्ण श्रेष्ठ तथा जसपाबाट मिना सुचिकारले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा झैं प्रदेशसभामा मा पनि गठबन्धन र एमालेबीच टक्कर पर्ने निश्चित छ ।

प्रकाशित: ६ कार्तिक २०७९ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App