२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भोटका लागि शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप

निर्वाचनको दौडाहामा रहेका प्रमुख दलहरूको शनिबार एकैसाथ ललितपुर र विराटनगरबाट दुई फरक स्वर सुनिए। फरक स्वर भए पनि दुवैमा धेरै समानता र अन्तरसम्बन्धित विषय पनि थिए। दुवै एकअर्काप्रति लक्षित थिए। दुवैमा आक्रोश, कुण्ठा, वैमनश्य र आपेक्ष थिए। सरल भाषामा भन्दा दुवैमा एकअर्काप्रति भरमार आलोचना थिए।

ललितपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दै थिए भने विराटनगरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बोल्दै थिए। दुवै कार्यक्रममा कुरा सुन्दा कुनै चुनावी सभाभन्दा बढी झगडियाहरूको इजलास चलिरहेको भान हुन्थ्यो। जसमा एकअर्का पक्षलाई तल्लो स्तरमा ओर्लिएर गाली गर्ने काम चलिरहेको थियो। एमाले अध्यक्ष ओली ललितपुरमा भाषण गर्दै सत्ता गठबन्धनले ‘अंशअंश’मा देश बेचिरहेको आरोप लगाए। ‘सत्ता स्वार्थका लागि यिनीहरू देश पनि बेच्न तयार हुन्छन्। सिंगै देश ढ्वाक्कै लगेर भन्टा, टमाटर, सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन्,’ उनले भने, ‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन्। स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन्। सार्वभौमसत्ता बेच्छन्। अंश अंश गरेर बेच्छन्।’

सोही क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशको जनमत कब्जामा लिएर देशमा स्थिरता र स्थायित्व हुन नदिने बाटोमा रहेको आरोप लगाए। उनले भने, ‘अब देशमा स्थायित्व हुन नदिनका लागि देशमा पारस्परिक सद्भाव जनताबीच हुन नदिनका लागि बुथ कब्जा गर्नेजस्ता, धाँधली गर्नेजस्ता हरेक कुरामा धाँधली गर्ने हरेक कुरामा तनाव बढाउने यिनीहरूको दाउ छ।’ अध्यक्ष ओली यत्तिमै रोकिएनन्। सरकारले भ्रष्टाचारमा लिप्त भएको पनि आरोप लगाए। भुटानी शरणार्थीका नाममा सरकार र सत्ताधारी दलहरूले राज्यस्रोत दोहन गरिरहेको उनको आरोप थियो। ओलीले यसरी ललितपुरमा भाषण गरिरहँदा उता विराटनगरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलाई ‘मधेसविरोधी’ र ओलीलाई प्रतिगमनकारी भनेर चित्रण गर्दै थिए। उनले भने, ‘प्रतिगमनकारी शक्तिहरू बलिया हुँदा परिवर्तन र मुलुक दुवै खतरामा पर्छ। गठबन्धनले ट्र्याकमा ल्याएको देश फेरि भड्खालोमा हाल्ने कोसिस हुँदै छ।’ एमाले र अध्यक्ष ओली मधेसविरुद्ध विषवमन गर्ने व्यक्ति रहेको दाबी गर्दै अध्यक्ष दाहालले त्यसबारे बुद्धिजीवी सजग हुनुपर्ने बताए। ‘मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने,’ उनले भने, ‘उनीहरू नै कताकता बलियो देखिने यो विडम्बना किन भइरहेको छ? यहाँका बुद्धिजीवी, नेता कार्यकर्ताका लागि पनि चुनौती हो।’

दाहालको जस्तै आक्रोश नेकपा एसका अध्यक्ष नेपालको पनि थियो। उनले ओली मुलुकका लागि खतरनाक पात्र भएकाले उनलाई परास्त नगरेसम्म देश उँभो नलाग्ने दाबी गरे। ‘नेपालमा कुनै मधेसविरोधी पार्टी छ भने त्यो एमाले मात्रै हो। केपी ओली एक नम्बर खतरनाक मान्छे हो। नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन्,’ नेपालले भने।

दाहाल र नेपालको भाषामा प्रधानमन्त्री देउवाले पनि होस्टेमा हैसे मिलाउँदै आफ्नो मन्तव्य दिएका थिए। एमाले जित्दा संविधान तथा लोकतान्त्रिक गणतन्त्र असुरक्षित हुने भएकाले गठबन्धनलाई जिताउनुपर्ने देउवाको भनाइ थियो। शीर्ष नेताहरूको यस्तो गालीको सिलसिला शनिबारको मात्रै होइन, यस्ता गाली दिनहुँ चलिरहेकै हुन्छन्। यस पटकको चुनावमा यो गति झन् बढेको छ। दिनहुँ हुने चुनावी सभामा शीर्ष नेताहरू यसैगरी एकअर्काविरुद्ध तथानामको स्थितिमा उत्रिरहेका छन्।

एमाले अध्यक्ष ओलीले विदेशी इसारामा आफ्नो सरकार ढालेको आरोप लगाउने गर्छन्। विदेशीले अदालतको सेटिङ मिलाएर देउवाको नेतृत्वमा ‘परमादेशी सरकार’ बनाएको उनको निरन्तरको रटान छ। सत्ता गठबन्धनका नेताहरू ओलीले लोकतन्त्र र गणतन्त्रलाई कमजोर बनाएर राजा फर्काउने षड्यन्त्र गरिरहेको दाबी गर्दै आएका छन्। शुक्रबार मात्रै बुटवलमा भएको सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष नेपालले ओलीको प्रतिगामी शक्तिसँग साँठगाँठ रहेको आरोप लगाएका थिए।

‘केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने बहुमतको त कुरै छाड्नुस्, त्यसपछि देश नै छाडेर भाग्नुपर्ने हुन्छ,’ उनले भनेका थिए, ‘तिनले गणतन्त्रलाई जोखिममा राख्नेछन्। किन? जम्मै प्रतिगामी शक्तिसँग उनको साँठगाँठ छ।’

नेता तथा दलले विगतका आश्वासनहरू पूरा गर्न नसकेपछि अहिले जनताको ध्यान मोड्न यस्ता आलोचनाको सहारा लिनुपर्ने अवस्थामा पुगेको प्राध्यापक तथा अधिवक्ता गान्धी पण्डित तर्क गर्छन्।

‘विगतमा सिंगापुर बनाउँछु, रेल, पानीजहाज, अनेकन नारामा भोट मागेका थिए। अब ती नारा बिकाउ हुन छाडे,’ पण्डित भन्छन्, ‘त्यसपछि के भन्ने भन्दा अर्कालाई निकै खराब पात्र देखाएर ऊ जित्दा बर्बाद हुन्छ भनेर आफू भोट माग्ने। यस्तो मनोदशाको उपज अहिलेका गालीहरू हुन्।’

प्रकाशित: ६ कार्तिक २०७९ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App