३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

महिला न्यायीक फैसला गर्छन्, एमालेलाई भोट हाल्छन्ः नेता बस्नेत

नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का एमालेको प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताएका छन्।

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले आज थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे।

महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल भएको उल्लेख गर्दै उनले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको दाबी गरे।

एक महिला एमाले भए दर्जनौं व्यक्ति एमाले हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सबैभन्दा बढी महत्वपूर्ण जिम्मेवारी पनि महिलाको नै हुने बताए। मुलुकको विकास र समृद्धि गर्ने पार्टी भनेकै एमालेमात्र भएको उल्लेख गर्दै उहाँले एमालेलाई आगामी निर्वाचनमा हराउने गठबन्धनको कुनै पनि तागत नभएको दाबी गरे।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा मुलुकभर साना तथा ठूला विकासका आयोजनाहरु असंख्य रुपमा सञ्चालन भएको तथ्यहरुलाई प्रस्तुत गर्दै उनले वर्तमान गठबन्धनको सरकार आएपछि देशमा विकासमा अध्यारो यात्रा सुरु भएको बताए।

गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमिता, मंहगी, चरम नातवाद, कृपावाद मौलाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व आएसँगै केपी ओलीले नेपालको गुमेको भूमिसहितको चुच्चे नक्सालाई समेत बुच्चे बनाएको बताए।

एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको उल्लेख गर्दै उनले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने? भन्ने हालसम्म समेत निर्णयमा पुग्न नसकेको बताए। केपी ओली र शेरबहादुर देउवाको तुलना नै हुन नसक्ने उल्लेख गर्दै उनले ओलीको तुलनामा र देउवा हास्य कलकार भेलुबाजे जस्तोमात्र भएको दाबी गरे।

उनले भने, 'मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठीक? उद्योग खोलेर रोजगारीको वातावरण सिर्जना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक? विभिन्न प्रकारका बिना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठीक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठीक?' एमालेले भक्तपुरको विकासमा आँधीवेरी नै ल्याएको उल्लेख गर्दै नेता बस्नेतले जिल्ला बाँकी आयोजनाहरु सम्पन्न हुने विश्वास दिलाए।

एक चुट्कीका भरमा जिल्लाको विकास हुने उल्लेख गर्दै नेता बस्नेतले भने, 'जिल्लामा एमालेको नेतृत्वमा करिब ९० प्रतिशत आयोजनाहरु निर्माण सम्पन्न भएका छन्। अब ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा छन्। कतिपय सुरु हुने चरणमा छन्। गठबन्धन सरकारले बजेट कटौती गरेर सम्पूर्ण ओयोजनाहरु रोकेको छ तर अब मंसिर ४ पनि पुनः एमालेको सरकार आउँछ त्यसपछि रोकीएकामात्र हैन, धेरै नयाँ नयाँ भिजन र दृष्टिकोणका योजनाहरु समेत व्यापक मात्रामा गर्नेछौं।'

प्रकाशित: ३१ आश्विन २०७९ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App