५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेसमा जसपा र लोसपाको कडा टक्कर

फाइल तस्बिर

तराई मधेसकेन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका ५ सिटमा सोझो टक्कर गर्दै छन्। यहाँसम्म कि, पार्टी अध्यक्षले उम्मेदवारी दिएको क्षेत्रमा समेत एक अर्कोबीच कडा प्रतिपस्र्धा हुँदै छ। एक वर्षअघि २०७८ भदौ ९ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपाबाट विभाजन भई लोसपा गठन गरेका थिए।  

जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएको क्षेत्र सप्तरी २ मा लोसपाले यादवका पुराना प्रतिस्पर्धी नेता जयप्रकाश ठाकुरलाई चुनाव लड्न लगाएको छ। २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा यादवविरुद्ध ठाकुरले उम्मेदवारी दिएका थिए। त्यसबेला ठाकुरले पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारी दिएका थिए। यसपटक लोसपाले यादवलाई अप्ठ्यारो पार्ने गरी ठाकुरलाई नै उम्मेदवारी दिन लगाएको छ। ठाकुरलाई सत्तारुढ ४ दलको समेत समर्थन रहेको छ भने यादवलाई नेकपा (एमाले) ले समर्थन गरेको छ। त्यसैले सप्तरी २ मा यादव र ठाकुरबीच कडा प्रतिस्पर्धा हुने अनुमान धेरैले गरेका छन्। सप्तरी २ मा जसपा अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ। गत स्थानीय तहमा सप्तरीका २ वटा स्थानीय तहमा जनमत पार्टी विजयी भएको थियो। त्यसैले सप्तरी २ मा राउतको पनि राम्रो प्रभाव रहेको बताइन्छ।  

यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार दिएको महोत्तरी ३ मा जसपाले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाएको छ। महोत्तरी ३ मा जसपाले पूर्व कृषिमन्त्री तथा पूर्वसांसद हरिनारायण यादवलाई उम्मेदवारी दिन लगाएको छ। त्यस क्षेत्रमा पनि लोसपालाई सत्तारुढ ४ दल र जसपालाई एमालेको समर्थन छ। २०७४ को निर्वाचनमा ठाकुरले महोत्तरी ३ बाटै निर्वाचित भएका थिए।  

यस्तै रोचक प्रतिस्पर्धा पर्सा १ मा पनि हुँदै छ। पर्सा १ मा जसपाबाट वर्तमान सरकारका वनमन्त्री प्रदीप यादवले उम्मेदवारी दिएका छन्। त्यस क्षेत्रमा लोसपाले शीर्ष नेता लक्ष्मणलाल कर्णलाई उम्मेदवारी दिन लगाएको छ। २०७४ को निर्वाचनमा कर्णले पर्सा ४ बाट निर्वाचित भएका थिए भने यादव पर्सा १ बाट निर्वाचित भएका थिए। यसपटक यादव पर्सा १ मा दोहोरिन चाहेका छन्। तर उनका लागि कर्ण ठूलो चुनौती हुने निश्चित छ। किनभने कर्णलाई यसपटक नेपाली कांग्रेस र माओवादीले समेत साथ दिएका छन्। यता यादवलाई एमालेले साथ दिएको छ। वीरगञ्ज महानगरपालिका समेत रहेको पर्सा १ मा नेपाली कांग्रेस, जसपा, लोसपा, नेकपा (एमाले) र माओवादीको उत्तिकै प्रभाव रहेको छ।  

जसपाले सर्लाही १ मा प्रमोद साहलाई उम्मेदवारी दिन लगाएको छ। साहविरुद्ध लोसपाले रामप्रसाद चौधरीलाई उठाएको छ। साह यसअघि महन्थ ठाकुर–राजेन्द्र महतोसँग निकट मानिन्थे। तर, जसपा विभाजित हुने बेला भने उनले उपेन्द्र यादवलाई रोजेका थिए।  

बारा ३ मा जसपाले रामबाबु यादवलाई उठाएको छ। उनको विरोधमा लोसपाले लालबाबु सिंहलाई उठाएको छ। यी २ नेताबीचको प्रतिस्पर्धा रोचक हुने निश्चित छ।  

यसपटक पनि सर्लाही २ मा धेरेको ध्यान गएको छ। सर्लाही २ मा लोसपाका शीर्ष नेता राजेन्द्र महतोले उम्मेदवारी दिएका छन्। उनको विरोधमा गठबन्धनबाटै महेन्द्र यादवले उम्मेदवारी दिएका छन्। सर्लाही २ मा राजेन्द्र र महेन्द्रले मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गठबन्धनबीच भएको लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले बताए। २०७० को निर्वाचनमा पनि सर्लाही २ मा महेन्द्र र राजेन्द्रबीच प्रतिस्र्धा भएको थियो। त्यसबेला महेन्द्र विजयी भएका थिए।  

महोत्तरी २ मा लोसपाका अर्का शीर्ष नेता शरत्सिंह भण्डारीले उम्मेदवारी दिएका छन्। त्यस क्षेत्रमा एमालेले राम परीक्षण यादवलाई उम्मेदवारी दिन लगाएको छ। लोसपाका अर्का शीर्ष नेता अनिल झाले उम्मेदवारी दिएको धनुषा ३ मा पनि लोसपा र एमालेबीच रोचक प्रतिस्पर्धा हुने छ। धनुषा ३ मा एमालेले जुली महासेठलाई उम्मेदवारी दिन लगाएको छ ।

प्रकाशित: २५ आश्विन २०७९ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App