coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी

गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ।  

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्वाचन क्षेत्र रहेको गोरखामा यस पटक निकै महत्वका साथ हेरिएको छ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ। 

प्रतिनिधिसभा अन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए। क्षेत्र नं १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाईंको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको उम्मेदवारी परेको छ।  

त्यस्तै जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए। जसपाबाट नै रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।  

प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित १३ जनाको उम्मेदवारी परेको उनले बताए। सत्ता गठबन्धनको सिट बाँडफाँटका क्रममा माओवादीको केन्द्रको भागमा परेको यो क्षेत्रमा नेकपा एमालेबाट अब्दुस सलाम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कवीन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस ९विपी० बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङकोे उम्मेदवारी परेको हो । क्षेत्र नं २ मा विनोदकुमार गुरुङ, गणेश देवकोटा र कांग्रेस नेत्री डा माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

प्रकाशित: २४ आश्विन २०७९ १७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App