२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आम निर्वाचन २०७९: कास्की कांग्रेसमा आकांक्षीको लामो लिष्ट

कम योगदान गरेका व्यक्ति हावीः नेताहरु

प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने क्रममा कास्की काग्रेस १ (ख) को बुधबारको भेला।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरुले उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेका छन्। कास्की कांग्रेसले प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकको पहिलो चरणको आकांक्षीको नाम तयार पारेको छ। आकांक्षीहरुमा अधिकांश नयाँ अनुहार रहेको नेताहरुले बताएका छन्।

त्यसैगरी प्रतिनिधिसभातर्फका आकांक्षी उम्मेदवारको नाम पनि तयार पार्ने तयारीमा जुटेको कांग्रेसले बताएको छ। कास्की कांग्रेसका सहसचिव नवीन सिग्देलका अनुसार प्रदेसभातर्फका उम्मेदवारका आकांक्षीको लिष्ट तयार भएको छ। पहिलो चरणको नाम तयार भएको उनले बताए। कास्कीमा प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेका छन्। अहिलेसम्म प्रदेशसभाको ६ मध्ये ५ वटा निर्वाचन क्षेत्रको आकांक्षी उम्मेदवारको नाम तयार भएको छ। बाँकी रहेको क्षेत्रको पनि छिटै नाम तयार हुने उनले बताए।

पार्टीका अनुसार कास्की १ (क) मा प्रत्यक्षका लागि १२ र समानुपातिकका लागि १३ जनाको नाम परेको छ। त्यस्तै १ (ख) मा प्रत्यक्षतर्फ ७ र सामानुपातिकतर्फ २४ जनाको नाम परेको छ। त्यस्तै कास्की २ (क) मा भने अहिलेसम्म नाम संकलन भइसकेको छैन। कास्की २ (ख) मा भने प्रत्यक्षतर्फ ५ र समानुपातिकमा ११ जनाको नाम परेको नेताहरुले बताएका छन्। कास्की ३ (क) मा प्रत्यक्षतर्फ ११ र समानुपातिकमा २० तथा कास्की ३ (ख) मा प्रत्यक्षतर्फ १३ र समानुपातिकमा १४ जनाको नाम परेको छ।

‘आकांक्षीको लिष्ट निकै नै लामो तयार भएको छ। आकांक्षा देखाउन सबैले पाउँछन, तर अन्तिम टुंगो लगाउँदा पार्टीले निकै नै विचार पुर्‍याउनुपर्नेछ,’ कास्की कांग्रेसका सहसचिव सिग्देलले भने, ‘यो नै अन्तिम टुंगो भने होइन, अहिले आकांक्षी देखिँदैमा उम्मेदवारी टुंगो लाग्ने पनि होइन, आकांक्षी हुन जो कोही पाउँछ।’ सिग्देलका अनुसार बुधबारभित्र प्रदेशसभा अन्तर्गतका आकांक्षीको पहिलो चरणको लिष्ट तयार हुनेछ। अझै कास्की २ (क) को नाम तयार भइसकेको छैन।  

उनका अनुसार आकांक्षीमध्ये एक महिलासहित तीन जनाको सूची प्रदेशस्तरमै टुंगो लगाउनुपर्ने हुन्छ। तर, आकांक्षी बढी भएकोले उम्मेदवार टुंगो लगाउन उत्ति सहज भने हुने छैन। ‘आकांक्षीको संख्या अत्यधिक छ। अहिले त्यही अनुसार लिष्ट तयार भएको छ। प्रदेशस्तरमै टुंगो लगाउनुपर्ने भएपनि कतिपय ठाउँमा सम्भव छैन,’ उनले भने, ‘अकांक्षीको संख्या धेरै भएपछि प्रदेशले पनि राजनीतिक रुपमा असम्भव रहेको भन्दै उम्कने उपाय अवलम्बन गर्नेछ, त्यसपछि माथिल्लो तहमा पुग्नेछ।’  

सिग्देलका अनुसार उम्मेदवार हुन चाहेका कतिपय आकांक्षीको पार्टीभित्र खासै योगदान नै छैन। भर्खर राजनीतिमा होमिएका व्यक्ति पनि उम्मेदवार बन्न इच्छुक भएर अघि सरेको उनले बताए। सिग्देलको बुझाइमा महत्वकांक्षी रुपमा राजनीतिमा हावी हुनेको संख्या बढी देखिएको छ। ‘पुराना, त्यागी, इमान्दार नेता भन्दा नयाँ पुस्ता हावी भएको देखिएको छ। जनतामाझ लोकिप्रीय भन्दा पनि नयाँ व्यक्ति हावी हुँदा त्यसले असर पार्न सक्ने देखिएको छ,’ उनले भने, ‘अहिले नाम पर्दैमा सबैको पार्टीमा एउटै योगदान रहेको भन्न मिल्दैन। पार्टीले यसबारेमा पक्कै निर्णय गर्नेछ।’  

प्रत्यक्ष भन्दा पनि समानुपातिक तर्फ अझ बढी मात्रामा आकांक्षी देखिएको सिग्देलले बताए। प्रत्यक्षमा होमिदा चुनाव खर्च अधिक पर्ने भएकोले पनि आकांक्षीले समानुपातिकमा मात्र चाँसो देखाएको उनले बताए। ‘निर्वाचन खर्च जुटाउन पनि गाह्रो छ। त्यसैले प्रत्यक्षमा कम चाँसो देखिएको छ। पार्टीका नेता रिझाउनुपर्ने भएकोले पनि प्रत्यक्षमा कम संख्या देखिएको हुनसक्छ,’ उनले भने, ‘आकांक्षी धेरै भएपनि केन्द्रीय समितिले नै टुंगो लगाउनुपर्ने अवस्था आउनेछ।’  

उनका अनुसार प्रदेशले उम्मेदवारको नाम क्षेत्रमा पठाउनेछ। क्षेत्रले जिल्लामा र जिल्ला गण्डकी प्रदेश हुँदै बल्ल केन्द्रमा पुग्नेछ। त्यस्तै दलहरुले संघको लागि पनि उम्मेदवारको सूची तयार पार्न थालेका छन्। अहिले आकांक्षी देखिनेमा नाम चलेका र पार्टीभित्र लामो समय योगदान दिएका व्यक्ति पनि छन। तर, ती बाहेक कम योगदान गर्नेको संख्या बढी रहेको उनले बताए।

कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले पनि अहिले आकांक्षीको लिष्ट लामो भएको बताए। पार्टीमा योगदान कम भएका व्यक्ति हावी हुँदा तानातानको अवस्था आएको उनले बताए। ‘पार्टीको सांगठनिक संरचनाबारे समेत थाहा नभएका व्यक्ति अहिले उम्मेदवार बन्न इच्छुक देखिएका छन्,’ उनले भने, ‘आकांक्षी मात्र भएर हुँदैन। पार्टीमा योगदान पनि दिनुपर्छ।’

प्रकाशित: १५ भाद्र २०७९ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App