१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बुधबारसम्म गठबन्धनदलहरुबीच सिट संख्या टुंगो लाग्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबारसम्म गठबन्धन दलहरुको सिट संख्या टुंगो लाग्ने बताएका छन्। सोमबार पार्टीको निर्वाचनसम्बन्धि कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

‘आज बिहान प्रधानमन्त्री र कांग्रेसका नेताहरुसँग छलफल भएको छ। हामीले गठबन्धन दलहरुको सिट संख्या पर्सीसम्म टुंग्याउँछौं’, उनले भने। दाहालले प्रतिनिधीसभाको प्रत्यक्ष तर्फ ६० र प्रदेशसभाको प्रत्यक्षतर्फ १३० सिट संख्या दाबी गरेको पनि बताए। उनले भदौ २० गतेसम्म कुन–कुन क्षेत्र कुन–कुन दलका उम्मेदवारहरु उठ्ने भनेर क्षेत्र टुंग्याउने जानकारी दिए।

‘२० गतेभित्र गठबन्धन दलहरुले निर्वाचन क्षेत्रहरु टुंगो लगाउँछन्। गठबन्धनभित्रका समाजवादी, कांग्रेस, लोपस, राजपालगायत दलहरुको क्षेत्र टुंगो लाग्छ’, दाहालले भने। उनले भदौ २५ गतेभित्र सबै दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लड्ने उम्मेदवारहरु नामावली टुंग्याउने पनि बताए। ‘हामी यसरी अभियानमा लागेका छौँ’, अध्यक्ष दाहालले भने।

मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिनिसभामा १६५ र प्रदेशसभाका लागि ३३० सिट संख्या छ। गठबन्धन दलहरु यिनै सिट संख्याको बाँडफाँडमा लागेका हुन्। सबै दलले सिट संख्या भन्दाबढी दाबी गर्न थालेपछि बाँडफाँडमा सकस भएको छ। अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले स्थानीय तहलाई उम्मेदवारहरु सिफारिस गर्ने जिम्मेवारी नदिएर गल्ति गरेको स्वीकार गरे।

‘हजारौं टिकट बाँडनु पर्ने थियो। यो जिम्मेवारी स्थानीय तहलाई दिनुथ्र्यो, नदिएर गल्ति गरियो। त्यसैले स्थानीय तहको निर्वाचनमा विचित्र विचित्र भयो। सिफारिस उम्मेदवारहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न जाँदा हाम्रै पार्टीका साथीहरुले पहिले नै उम्मेदवारी दर्ता गराएका घटना पनि भए’, उनले भने, ‘अहिले त्यस्तो हुन दिदैनौं।’

दाहालले गठबन्धन दलहरुसँग सिट बाँडफाँड गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ६० र प्रदेशसभाको प्रत्यक्षतर्फ १३० सिटमा आफैले हस्ताक्षर गर्ने अधिकार पार्टीले दिएको पनि बताए। उनले भने, ‘तपाईहरुले पनि भदौ २० गतेसम्म आफ्ना शाखाहरुबाट हेडक्वाटरमा पुग्ने गरी संघ र प्रदेशमा चुनाव लड्न चाहनेहरुको नामावली तीन वटा विकल्पसहित पठाउनुहोस्। महिला, पुरुष र समानुपातिकसहित दिनुस। प्रदेशले आफ्नो सिफारिस निर्णय गरेर संस्थागत रुपले पठाउनुपर्छ। त्यो सिफारिसमा केन्द्रले पनि संस्थागत रुपमा निर्णय गर्छ। यसरी गर्दा सबैको स्वामित्व र अपनत्व हुन्छ यो। चुनाव जित्न सजिलो हुन्छ।’

दाहालले नाम सिफारिस गर्दा महिला, दलित, मधेसी र जनजातीलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले भने, ‘महिलाले पनि जित्ने र पुरुषले पनि जित्छ भन्ने लाग्यो भने महिलालाई प्राथमिकता दिनुस्। दलित र खसआर्यलाई उठाउँदा दुवैले जित्छन् जस्तो लाग्यो भने दलितलाई प्राथमिकता दिनुस्। मधेसी र खसआर्य दुवै जित्छन जस्तो लाग्यो भन्यो मधेसी, जनजाती र खसआर्य दुवैले जित्छन् जस्तो लाग्यो भने जनजातीलाई सिफासिरस गर्नुस्।’

दाहालले निर्वाचनमा खसआर्य आउने खतरा धेरै भएको र महिला, दलित, मधेसी र जनजाती नआउने खतरा धेरै भएकाले यस्तो भनेको समेत उल्लेख गरे। ‘समावेशीको विशेषाधिकारको नीति लागु गर्न जोड दिनुपर्छ’, उनले भने।

प्रकाशित: १३ भाद्र २०७९ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App