८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

'हाम्रा शहरहरु अव्यवस्थित भए, योजनाबद्ध र व्यवस्थित शहर निर्माणमा ध्यान दिउँ'

बुटवलमा सञ्चालनमा आयो अन्तराष्ट्रिय सम्मेलन केन्द्र

बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले सरकारको ठूलो लगानीमा तयार भएको सम्मेलन केन्द्रले बुटवलको मात्रै नभइ सिंगो राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराउने विश्वास व्यक्त गरे।

सम्मेलन केन्द्रले पर्यटकीय, आर्थिक, शैक्षिक र सामाजिक विकासमा महत्पूर्ण भूमिका खेल्ने भन्दै उनले बहुउपयोगी ढंगले सञ्चालन गरी प्रतिफलयुक्त बनाउनु पर्नेमा जोड दिए। बुटवलले विकासमा महत्वपूर्ण फड्को मार्न लागेकोमा प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले यस क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री देउवाले मुलुकको द्रुत विकासमा शहरीकरणको महत्वपूर्ण भूमिका रहने भएपनि योजनाबद्ध विकास नहुँदा अव्यवस्थित शहरीकरण बढीरहेको बताए। अव्यवस्थित शहरीकरणकै कारण देशमा प्राकृतिक, स्वास्थ्य लगायतका विपद र सामाजिक विकृतिहरु निम्तिएको बताए।

‘व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक विकास सम्भव छ त्यसैले सरकारले अव्यवस्थित शहरीकरणलाई निरुत्साहित गर्दै व्यवस्थित शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ’ प्रधानमन्त्री देउवाले भने। मुलुकमा अत्याधिक बसाइ-सराइका कारण शहरी जनघनत्व बढदै गएको र त्यसलाई रोक्न पहाडी र हिमाली क्षेत्रमा सघंन शहरी विकासलाई प्राथमिकता दिइएको बताए।

‘मुलुकको दुई तिहाई जनसंख्या शहरी क्षेत्रमा छ, त्यसलाई रोक्न सघन सहरी विकास आवश्यक छ’ प्रम देउवाले भने। दिगो विकासको लक्ष्यलाई ध्यानमा राखेर शहरी पूर्वाधार निर्माण गर्न तीन तहकै सरकार र निजी क्षेत्रलाई निर्देशन दिए।

सोही कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले राज्यले गरेका लगानीलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई कसरी प्रतिफलयुक्त बनाउन सकिन्छ भन्नेमा ध्यान दिनु पर्ने बेला आएको बताए।  सम्मेलन केन्द्रलाई अधिकतम प्रयोगमा ल्याइ प्रतिफलयुक्त बनाउनु पर्नैमा जोड दिएका हुन्।

‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको लगानीले प्रतिफल दिन सकोस् र यसको सञ्चालनमा सरकारलाई थप आर्थिक बोझ नपरोस् भन्नेमा सचेत हुनुपर्छ। राज्यले गरेको लगानीलाई  प्रतिफलमा उतार्न यसको बहुआयामिक उपयोगिता बारे ध्यान दिउँ’ गृहमन्त्री खाँणले भने। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भैरहवामा सञ्चालन भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसँग जोडेर बहुउद्देश्यीय प्रयोग गर्न सकिने उनले बताए।

बुटवलको विकास देशकै विकासको आधारशिला भएको उल्लेख गर्दै गृहमन्त्री खाँणले काठमाडौँसँग दुरी कम गर्दै यात्रालाई सुरक्षित बनाउन ठाँउ ठाँउमा सुरुङमार्गहरु निर्माणको क्रममा रहेको बताए। दाउन्ने र चितवनको शक्तिखोरदेखि धादिङ मझिमटारसम्म सुरुङ मार्ग निर्माण गरी बेलहियालाई रसूवासँग जोड्न लागिएको बताए। बुटवल–पाल्पा सडकको सिद्धबाबामा सुरुङ मार्गको काम अभिलम्ब सुरु हुने बताए।

गृहमन्त्री खाँणले देशका सञ्चालित आयोजनाहरुबाट नेपालका समस्त नागरिकलाई लाभ पुग्नुपर्छ भन्नेमा सरकार कटिबद्ध रहेको बताए। सरकारले सडक सुरक्षाका लागि सुरुङ मार्ग, औधोगिक क्षेत्र स्थापना, विकासे आयोजनाहरुबाट विस्थापित भएकाहरुको दीर्घकालीन समस्या समाधान, भुमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए।

शहरी विकास मन्त्री मेटमणी चौधरीले अन्तर्राष्ट्रिय सम्मेनल केन्द्रमा अन्तर्राष्ट्रिय कार्यक्रमहरु समेत सञ्चालन गर्न मिल्ने भएकाले यसबाट रुपन्देहीले मात्रै नभइ लुम्बिनी प्रदेशले लाभ लिन सक्ने बताए। मन्त्री चौधरीले सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय सभाहल निर्माणको चरणमा रहेको जानकारी दिए।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशमा केही महत्वपूर्ण र गौरवका आयोजनाहरु अगाडि बढाएको जानकारी गराउँदै तीन तहकै सरकारबीच समन्वय आवश्यक रहेको बताए।

नेकपा एमालेका उपाध्यक्ष  तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले यसअघि शिलन्यास गरिएका र निर्माणको चरणमा रहेका आयोजनाहरु अहिले निर्माण सम्पन्नको चरणमा पुगेकाले अब उद्घाटनका कार्यक्रम निरन्तर भइरहने बताए। प्रतिनिधि सांसद समेत रहेका पौडलले विकासका मुद्दामा दलीय स्वार्थ भन्दामाथि उठेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सभाहल सञ्चालन कार्यविधि मन्त्रालयमा विचाराधिन रहेको जानकारी दिए भने एकीकृत समाजवादीकी सचिव तथा पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सभाहल सञ्चालन कार्यविधि कस्तो बन्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्ने भएकाले सम्बन्धित निकायले उपयुक्त कार्यविधि निर्माणमा ध्यान दिन आग्रह गरिन्।

त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्वर्गीय गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बुटवलबासी र यहाँका जनप्रतिनिधिको पहलमा सेनाको कब्जामा रहेको जग्गा नगरपालिकाको मातहतमा ल्याएको र त्यही बुटवल मण्डपमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनेको बताए।

सम्मेलन केन्द्रको सञ्चालनको जिम्मा बुटवल उपमहानगरपालिकाले पाए सफलता पूर्वक गर्ने प्रतिबद्धता जनाए। ‘सहरी विकास मन्त्रालयले कार्यविधि बनाएर हामीलाई जिम्मा दिए सञ्चालनका लागि बुटवल उपमहानगरपालिका तयार रहेको जानकारी गराउँछु’ नगरप्रमुख पाण्डेले भने।

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, उपसचिव पदमप्रसाद मैनालीलगायतले बोल्दै सम्मेलन केन्द्रले यसक्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। यो सम्मेलन काठमाडौँ बाहिरको पहिलो ठूलो र सुविधा सम्पन्न सम्मेलन केन्द्र हो।

बुटवल उपनगरपालिकाद्वारा संरक्षित बुटवल मण्डपको १६ बिगाह जमिन मध्ये ९.६ बिगाह क्षेत्रफलमा केन्द्र निमार्ण भएको छ। एक अर्ब ११ करोडको लागतमा निर्माण भएको सम्मेलन केन्द्रमा १ हजार क्षमताको अडिटोरीयम हलसहित अन्य १२ वटा सभाहल छन्।

कुल २ हजार ७  सय क्षमताको सभाहल आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकारमा छ। बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजाका प्रमुख धर्मेन्द्र पन्थीले केन्द्रमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप निर्माण भएको बताए।

केन्द्रमा बाल उद्यान, रिफ्रेस सेन्टर, कफि सप, वाटर फाउन्टेन, ग्रिनरी, बगैँचा, पोखरी, कर्मचारी आवास भवन, सर्भिस भवन, क्यान्टिन लगायतका संरचना छन्। केन्द्रमा प्रवेस गर्ने, बाहिरीने र भिआइपीका लागि गरी ५ वटा गेट छन्। ८ सय क्षमताको पार्कीङ स्थल र हेलिप्याड छ।

अब बुटवलमै अन्तर्राष्ट्रिय स्तरका ठूला र महत्वपूर्ण सम्मेलन, सेमिनार, बैठक आदी गर्न सकिने पन्थीले बताए। नगरपालिकाद्वारा संरक्षित बुटवल मण्डपको १६ बिगाह जमिन मध्ये ९.६ बिगाहमा सभाहल र बाँकी ६.४ बिगाहमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गरीएको हो। सभा हलको पश्चिम तर्फ १ अर्ब  २ करोडको लागतमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र अहिले निर्माणाधीन छ।

प्रकाशित: ११ भाद्र २०७९ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App