१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल स्वीकृत

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८७ वटा राजनीतिक दलले भाग लिने जनाएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि ८७ वटा राजनीतिक दल दर्ता भएको जनाएको हो।

‘आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन्,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘त्यसमध्ये प्रतिनिधिसभा निर्वाचनमा लागि ७९ वटा निर्वाचन चिह्न रहेको छ। आयोगमा दर्ता भएका राजनीतिक दलहरूमध्ये ७५ दल एकल रूपमा सहभागी हुने छन् भने चारवटा समूहमा रहेर १२ वटा राजनीतिक दलले तालमेल गर्ने निर्णय गरेर एकल निर्वाचन चिह्न माग गरेका छन्।’

आयोगका अनुसार प्रदेशसभा निर्वाचनमा ७५ वटा राजनीतिक दलले भाग लिने भएका छन्। त्यसपछि वाग्मती प्रदेशमा ७२ राजनीतिक दल, प्रदेश नम्बर १ मा ७०, गण्डकी प्रदेशमा ६६, लुम्बिनी प्रदेशमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ राजनीतिक दलले भाग लिने भएका छन्।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम निर्वाचनमा सहभागी हुन नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)–१ समेत गरी पाँचवटा राजनीतिक दलहरूले अनुसूची–१२ बमोजिमको निवेदन पेस गरेकोमा ती दलहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एकल निर्वाचन चिह्न लिई निर्वाचनमा सहभागी हुने गरी राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १८ को अनुसूची–१३ बमोजिमको दल दर्ताको निवदेन पेस गरेको हुँदा ती दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (५) बमोजिम छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय आयोगले गरेको छ।

आयोगको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र निर्वाचन चिह्नको क्रम निर्धारण सम्बन्धी निर्णय गरेको थियो। ‘आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधिसभा निर्वाचनका लागि ८० वटा दल दर्ता निवेदन र एकल निर्वाचन चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि चारवटा निवेदन गरी ८४ वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा प्रतिनिधिसभामा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ,’ उनले भने, ‘त्यसैगरी प्रदेशसभा निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश नम्बर १ मा ६२ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७०, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५, वाग्मती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८, कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने गरी आयोगले निर्णय गरेको छ।’

प्रकाशित: १० भाद्र २०७९ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App