२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पशु स्वास्थ्य विधेयक सच्याउन माग

पशु स्वास्थ्य सम्बन्धि प्रस्तावित विधेयकका त्रुटि सच्याउनदन देखि भेटेरिनरी चिकित्सक तथा अन्य पशु सेवाकर्मीहरू देशव्यापी आन्दोलनमा उत्र्रेका छन्। गत ३ दिनदेखि देशभर आकस्मिकवाहेक पशु उपचार ठप्प छ भने भेटेनरी पढाइ हुने कलेजमा पठनपाठनसमेत बन्द गरिएको छ।  

आन्दोलनकारीहरू आइतबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवासमा गएर आफ्ना मागहरूको बारेमा जानकारी गराएका थिए। नेपाल भेटेनरी एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य भेटेनरी डाक्टर विनोद यादवले अध्यक्ष दाहालले आफ्ना मागलाई सकारात्मक रूपमा लिएको बताए। नेपाल भेटेनरी एसोसिएसनसँग देशभर १६ सय डाक्टर आवद्ध छन् ।

एसोसिएसनले सोमबार पनि आन्दोलन जारी राख्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म जुलुस तथा कोण सभा आयोजना गरेको छ। पशुसेवा प्राविधिक राख्न नेपाल भेटनरी एुसोसिएसनले गत साउन ३१ गते संसद्ले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्ययकमा भएका गम्भीर त्रुटिहरू संशोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम गर्दै आएका छन् ।

एसोसिएसनले स्नातक गरेका भेटेनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा गरेका पशु प्राविधिकले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई संशोधन गरेर केही अवधि मात्रै प्रशिक्षण लिएकालाई पनि पशु प्राविधिकको उच्चतम परिभाषामा समेटिएको आरोप लगाएको छ। अल्पकालीन प्रशिक्षण तथा तालिम लिएकालाई छुट्टै संरचनागत व्यवस्था गर्न सकिने उनीहरूको सुझाव छ। संसारमा विभिन्न महामारी पशुबाट मानिसमा भाइरस सरेका कारण भएकाले पशु स्वास्थ उपचारलाई हेलचेक्र्याइँ गर्न नहुने तर्क पशु चिकित्सकहरूको छ।  

आन्दोलनकारीहरूले दिएका सुझावमा पशु चिकित्सक भेटेरिनरी डाक्टर र ३५ दिने तालिम लिएका जेटी र जेटिए जस्ता पशु स्वास्थ प्रविधिकहरूलाई सम्मान अधिकार दिन हुँदैन। योग्यताअनुसारको कामका कानुनमा व्यवस्था हुनु पर्दछ। यसैगरी उनीहरूले पशुको उपचार गर्न नपाउनेहरूलाई पनि पशु रोगको उपचार निदान र रोकथामको अधिकार दिइएको आरोप छ।  

केही दिनअघि पत्रकार सम्मेलन गरेर एसोसिएसनले उठाएका जायज मागहरूको नजरअन्दाज गरी उक्त विधेयक प्रतिनिधिसभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो। एसोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफूहरूले उठाएका मागहरूको कुनै सुनुवाइ नगरी संसद्मा जबर्जस्ती उक्त विधेयक पेश गरेको आरोप लगाएको छ।  

त्यसको विरोधमा भदौ १ गतेदेखि ६ गतेसम्म कार्यक्रम सार्वजनिक गर्दै सम्पुर्ण सदस्यहरूलाई कार्यक्रममा सहभागिता गराउदै एसोसिएसनले आन्दोनलका कार्यक्रम सार्वजनिक गरेको थियो। नेपाल भेटेरिनरी एसोसिएसनका कार्यवाहक अध्यक्ष प्राडा कृष्णभक्त काफ्लेले एसोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएका बैठकमा केही विषयमा लिखित असहमति जाहेर गर्दागर्दै पनि पेलेरै विधेयक पारित गराइएको बताए ।

केही महिने तालिम लिएका तथा डिप्लोमा गरेकाहरूलाई पनि स्नातक तथा सोभन्दा माथिको तहसँगै राखेर मूल्यांकन गर्न नहुने उनीहरूको भनाइ छ। प्रतिनिधिसभाको साउन ३१ गतेको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विद्ययक,२०७९ बहुमतले पारित गरेको थियो ।

आन्दोलनमा सहभागी विद्यार्थीले विभिन्न ठाउँमा कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहविरुद्ध पनि चर्को नाराबाजी गर्नुका साथै उनको पुत्ला जलाएका छन्। विद्यार्थीहरूले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक फिर्ता गर’, ‘विकासमन्त्री मृगेन्द्र सिंह मुर्दावाद’, ‘हाम्रो पेशा हाम्रो सान, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।

विरोधस्वरूप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध, भाद्र २ गते पेन डाउन, कामकाज बन्द गरेर, त्यस्तै, भाद्र ३, ४, ५ र ६ गते काठमाडौ केन्द्रित मेला, अत्यावश्यकका वाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला, भेटेनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभागअन्तर्गतका स्कुलहरूमा अनिश्चितकालिन रूपमा अध्ययन अध्यापन बन्द गर्ने र अनिश्चितकालीन रूपमा पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने जस्ता विरोध कार्यक्रम एसोसिएसनले गरेको थियो।  

विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्चाएर एसोसिएसनले उठाएका जायज मागहरू सम्बोधन गर्न उनले जोडदार माग गरेका छन्। कार्यवाहाक अध्यक्ष काफ्लेले राष्ट्रियसभाका सदस्यहरूले आफुहरूको माग राम्रोसँग मनन गर्नेमा विश्वस्त रहेको सुनाए।

माग सम्बोधन नभए पशु चिकित्सकले गर्दै गरेका कामहरूमा क्रमबद्धरूपमा असहयोग गर्न वाध्य हुनेसमेत उनले चेतावनी दिएका छन्। सरकारले आफ्ना मागहरूको सुनुवाइ नगरेमा मंगलबार आन्दोलनका नयाँ चरणका कार्यक्रम घोषणा हुने डाक्टर यादवले बताए। उनले देश व्यापी रूपमा पशु सेवा तथा उपचार ठप्प पार्ने कार्यलाई निरन्तरता दिइने र नयाँ विरोधका कार्यक्रम मंगलबार घोषणा गरिने बताए।  

प्रकाशित: ७ भाद्र २०७९ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App