१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुशासन स्थापना र विकासको निम्ति सबै दलको सामूहिक भूमिका आवश्यकता: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका छन्। उनले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भुमिकाको आवश्यकता पर्ने उल्लेख गरे । कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको उनले बताए।  

‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझैपनि। र अनि विकास, निर्माण र सुशासनलाई अगाडी बढ्ने वातावरण निर्माण हुन सकेको छैन। मलाई के लाग्छ भने यो कुनै घमण्डको कुरा होइन, जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि रगतको खोलो बगायो। बलिदानका अनगिन्ति कीर्तिमान कायम गरेर एउटा निश्चित विचार श्रृंखलासहित यहाँ आएको नेतृत्व फेरि एकचोटी नेता र जनताको बिचमा स्थापित नगरीकन, राष्ट्रलाई ठिक ढंगले नेतृत्व नगरिकन जनता र इतिहासको यो आकांक्षा पूरा हुनेवाला छैन।’ उनले भने, ‘हामीहरुले एकचोटी फेरि संकल्प गर्नुपर्दछ, केही परिवर्तनका वाहकहरुलाई पन्छाएर परिवर्तन बिरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छ भन्ने कुरा प्रमाणित गर्नको लागि तपाई हामीले चुनौती सामना गर्नैपर्नेछ। म अन्य राजनीतिक दलका युवा प्रतिनिधि साथीहरुलाई पनि म विशेष रुपले अपील गर्न चाहन्छु।’  

‘विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा यो राष्ट्रलाई एकतावद्ध गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने र सुशासन र विकासलाई इमान्दारिताको साथ अगाडी बढाउनको लागि तपाई हामी सबैको भुमिका सामुहिक रुपले आवश्यक भएको छ। तपाई हामी सबैले कुन विचार र कुन नेतृत्वबाट यो राष्ट्र एकतावद्ध हुनसक्छ। यसले देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका भावनालाई प्रतिनिधित्व गर्नसक्छ भन्ने बारेमा चिन्तन गरौँ। मनन गरौँ। र त्यो वातावरण बनाउन आ–आफ्नो ठाउँबाट भुमिका खेलौँ।’,दाहालले भने।

प्रकाशित: ३ भाद्र २०७९ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App