१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो छः सांसद पहाडी

नेकपा (एमाले)का सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन्।

उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए। उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहेकाे बताए।

सांसद पहाडीले अहिले सांसदहरुमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गरे। उनले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जानसकेमात्रै प्रत्यक्षतर्फ प्रतिस्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने बताए।

उनले भने, ‘अहिले हाम्रो समस्या निर्वाचनमा छ। निर्वाचन महंगो छ, भड्किलो छ। महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ। किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन। त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिस्पर्धा र होडबाजी छ। समस्या त्यहाँ छ। त्यसैले हाम्रो निर्वाचन सस्तो सरल बनाउनेतर्फ हामी जाने हो भने स्वभाविक रुपमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुनेछन्। त्यसले पनि हाम्रो प्रतिनिधित्वलाई सुनिश्चित गर्छ।’

उनले यो निर्वाचन प्रणालीले कुनैपनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहीत गरिरहेको बताए।

प्रकाशित: २४ श्रावण २०७९ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App