३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा अखिल क्रान्तिकारीको विवाद चरम उत्कर्षमा

ताप्लेजुङमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद चरम उत्कर्षमा पुगेको छ। एकपछि अर्को विज्ञप्ति बाजीसहित दुवै पक्षले आफूलाई वैध र अर्कोलाई अवैध भन्न थालेका छन्।

मंगलबार झरेन्द्र तिवारी अध्यक्ष र अनिता पन्दाक सचिव रहेको अखिल क्रान्तिकारीको ताप्लेजुङ जिल्ला कमिटीले अर्को समिति गठन भएको भन्ने भ्रममा नपर्न विज्ञप्तिमार्फत् अपिल गरेको छ। तिवारी र पन्दाकको हस्ताक्षर रहेको विज्ञप्तिमा साउन १४ गते अनेरास्ववियु क्रान्तिकारी ताप्लेजुङ जिल्ला कमिटीका नाममा जिल्ला सम्मेलन आयोजक कमिटी गठन प्रकृया अवैध रहेको दाबी गरिएको छ।

विज्ञप्तिमा तेञ्जित कार्की संयोजक र तारा श्रेष्ठ सहसंयोजक रहेको जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको भनेर अवैध कार्यक्रम गर्दै एउटा पक्षले भ्रम छरेको भनिएको छ। तिवारी अध्यक्ष र पन्दाक सचिव रहेको कमिटी नै अखिल क्रान्तिकारीको आधिकारिक जिल्ला कमिटी रहेको दाबी गर्दै विज्ञप्तिमा संगठनको विधान, पद्धति र प्रकृया विपरीत गएर आफूखुशी मनमौजी तरिकाले कमिटी बनाएर भ्रम नछर्न पनि अर्को पक्षलाई चेतावनी दिइएको छ।

संगठनका जिल्ला सहसचिव तेञ्जित कार्की, कोषाध्यक्ष तारानाथ श्रेष्ठ र सचिवालय सदस्य काजीमान बिष्टको नाम उधृत गर्दै तिवारी अध्यक्ष र पन्दाक सचिव रहेको कमिटीले संगठनको विधि भन्दा बाहिर गएर सांगठनिक हित विपरित कार्य नगर्न सचेत गराएको छ। ७ जना पदाधिकारी रहेकोमा २ जना र ५७ जना सदस्य रहेकोमा एक तिहाइ भन्दा कम सिमित संख्याका सदस्य बसेर संगठन विपरीत अर्को कमिटी बनाउने कार्य नगर्न कार्की, श्रेष्ठ र बिष्टलाई तिवारी अध्यक्ष र पन्दाक सचिव रहेको कमिटीले भनेको छ।

विपरीत गए संगठनको विधान २०७८ को भाग ४ को धारा ११ को उपधारा ५ र ६ तथा धारा ३५ बमोजिमको कारबाही प्रकृया थाल्ने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ। यसअघि साउन १४ गते कार्की संयोजक र श्रेष्ठ सहसंयोजक रहेको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्दै अखिल क्रान्तिकारीको एउटा पक्षले अध्यक्ष तिवारी र सचिव पन्दाकलाइ अक्षम घोषणा गर्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यो पक्षले तिवारी र पन्दाकलाई जिल्ला अधिवेशन भएको वर्ष दिनसम्म पनि संगठनको बैठक नराखेको, संगठनलाई व्यक्तिगत र कम्पनी जस्तो बनाइ  निर्दिष्ट कार्य गरेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्दै कार्की संयोजक र श्रेष्ठ सहसंयोजक रहेको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको घोषणा गरेको थियो।

माओवादी केन्द्रका १ नं प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मीप्रसाद अन्छङ्वो (आवाज) को प्रमुख आतिथ्यमा भएको उक्त भेलाले पुसको पहिलो साता जिल्ला सम्मेलन गरिसक्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार असोज मसान्तसम्ममा ताप्लेजुङ जिल्लाका सबै माध्यमिक विद्यालय तथा क्याम्पसहरुको सम्मेलन गरिसक्ने, मंसिर मसान्त सम्मका ९ वटै स्थानीय तहमा सम्मेलन गरिसक्नेसहितका निर्णय सार्वजनिक गरेको थियो।  

प्रकाशित: १७ श्रावण २०७९ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App