८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

स्वार्थअनुसार भाका फेर्छन् नेता

गत असार ३२ गते नेपाल–चीन हिमालयमैत्री समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ कार्यक्रममा बोल्ने क्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले तत्कालीन केपी ओली नेतृत्वको सरकार हट्नुमा भूराजनीतिक प्रभाव कारण रहेको बताए।

केपी ओलीसमेत उपस्थित उक्त कार्यक्रममा यादवले भनेको कुराले यसअघि उनी स्वयंले ओली सरकार बहिर्गमनका बारेमा दिएको अभिव्यक्तिलाई खण्डन गर्‍यो। ओली नेतृत्वको सरकार बहिर्गमन भएपछि जसपाले गत भदौ ११ मा जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली–ठाकुर (महन्थ ठाकुर) समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकाले सत्ताच्युत भएर जनतामा नांगिएको टिप्पणी गरेका थिए। यादवले ओली नेतृत्वको सरकार परिवर्तनविरोधी भएकाले आफूहरूले सत्ताच्युत गरिदिएको बताएका थिए।

संसद्बाट अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) पारित हुने मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता अध्यक्ष पुष्पकमल दाहालकै निर्देशनमा एमसिसीको विरोधमा सडकमा उत्रिए। एमसिसी संसद्बाट पारित हुने दिनसम्म पनि माओवादी नेता–कार्यकर्ताले सडकमा विरोध गरिरहेका थिए।

एमसिसी कार्यान्वयन भएको भोलिपल्ट फागुन १६ मा दाहालले पत्रकारसँगको कुराकानीमा एमसिसी संसद्बाट पारित भएपछि आफू निकै खुसी भएको अभिव्यक्ति दिए। सदनबाट एमसिसी अनुमोदन भए मुलुक दुर्घटनातर्फ धकेलिने बताउँदै आएका उनले अनुमोदन भइसकेपछि अनुमोदन नभएको भए मुलुक दुर्घटनातर्फ जाने खतरा रहेको दाबी गरे।

२०७३ पुस दोस्रो साता एक कार्यक्रममा बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई कन्सुत्लोको संज्ञा दिए। माओवादीप्रति सुरुदेखि नै आलोचनात्मक टिप्पणी गर्ने ओलीले अन्ततः २०७५ सालमा माओवादीसँगै पार्टी एकता गरे। दुई पार्टीबीचको एकता लामो समयसम्म टिक्न नसके पनि माओवादी शीर्ष तहका नेताहरू अहिले पनि ओलीकै पार्टीमा महत्वपूर्ण भूमिकामा छन्।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारबाट परिवर्तन सम्भव नभएको निष्कर्षसहित सशस्त्र युद्ध सुरु गरेका पुष्पकमल दाहाल १० वर्षपछि शान्तिपूर्ण राजनीतिमा फर्किए। अहिले दाहाल देउवाबाटै परिवर्तन सम्भव रहेको भन्दै उनकै नेतृत्वको सरकारमा बलियो खम्बा बनेर उभिएका छन्। द्वन्द्वका बेला देउवा र नेपाली कांग्रेसप्रति कठोर देखिएका दाहाल शान्तिप्रक्रियामा आएपछि पटकपटक तिनै देउवा र कांग्रेसको सत्ता साझेदार र सारथि बन्दै आएका छन्।

कुनै घटना, विषय वा व्यक्तिबारे दलका नेताहरूले गर्ने टिप्पणी र आफ्नै अभिव्यक्ति खण्डन हुनेगरी बोल्ने प्रवृत्ति नौलो होइन। चित्त नबुझ्दा किटेरै आलोचना गर्ने र चित्त बुझ्दा आफ्नै आरोपलाई आफैंले खण्डन गर्दै फेरो समाउने प्रवृत्ति दल र नेताहरूमा लामो समयदेखि रहँदै आएको छ। व्यक्तिगत रूपमा शीर्ष तहका नेताहरूले आफ्ना समकक्षीका बारेमा टीकाटिप्पणी गर्ने र स्वार्थ मिल्दा कुम जोडेका घटना विवरण जति प्रस्तुत गरे पनि कम हुन्छ।

राजनीतिक नेतृत्वले आफ्ना अभिव्यक्तिलाई परिस्थितिअनुसार आफैंले खण्डन गर्ने अवस्था आउनुको पछाडि वैचारिक संकट मुख्य कारण रहेको राजनीतिक विश्लेषक बताउँछन्। ‘हाम्रा दल र नेताहरूमा विचारका हिसाबले कहाँ उभिएका छौं भन्ने प्रस्टता छैन। विचारमै प्रस्टता नभएपछि उनीहरूका अभिव्यक्तिमा एकरूपता नदेखिनु स्वाभाविक हो’, वाम विश्लेषक हरि रोका भन्छन्।

विचारको अभावमा दलहरूमा मुलुक कस्तो बनाउने भन्ने दृष्टिकोण पनि नरहेको रोका बताउँछन्। नेताहरूले कुनै विषय वा व्यक्तिका बारेमा सार्वजनिक गर्ने अभिव्यक्ति वा धारणा निकटता वा गठबन्धनका आधारमा तय हुने भए पनि अवसरवादी प्रवृत्तिका कारण त्यो गठबन्धन वा निकटता कायम रहन नसक्ने र त्यससँगै उनीहरूका अभिव्यक्ति र धारणा पनि परिवर्तन हुने रोका बताउँछन्।  

मुखमा एउटा र व्यवहारमा अर्कै कुरा हुने भएकाले उनीहरूका अभिव्यक्ति र धारणामा उतारचढाव आइरहने र अन्ततः यसले दल र नेताहरूप्रति जनताको विश्वसनीयतामा असर पर्ने रोकाको तर्क छ।

दलका नेताहरूले आफ्नै अभिव्यक्ति खण्डन हुनेगरी बोल्ने प्रवृत्ति नौलो होइन। यस्तो प्रवृत्ति नेताहरूमा लामो समयदेखि छ। राजनीतिक नेतृत्वले आफ्ना अभिव्यक्तिलाई परिस्थितिअनुसार आफैंले खण्डन गर्ने अवस्था आउनुको पछाडि वैचारिक संकट मुख्य कारण रहेको राजनीतिक विश्लेषक हरि रोकाको बुझाइ छ।

प्रकाशित: ८ श्रावण २०७९ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App