१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वामपंथी दलबीच चुनावी मोर्चा हुनसक्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वामपन्थी दलहरूबीच चुनावी एकता हुन सक्ने बताएका छन्। शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगकाे कुराकानीमा गर्दै सत्ता गठबन्धनका सबै वामपन्थी पृष्ठभूमिका दलबीच चुनावी मोर्चाको बनाउने छलफल चलिरहेको बताएका हुन्।

'वामपन्थी पृष्ठभूमिका सबै समूहसँग छलफल चलिरहेको छ। त्यसमा माधवजी, उपेन्द्रजी, बाबुरामजी हुनुहुन्छ र अहिले त्यसमा बामदेवजी पनि मिसिनुभएको छ। गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमि भएका नेताहरुसँग छलफल चलिरहेको छ,' प्रचण्डले भने, 'गठबन्धनभित्र रहेका वामपन्थीको राम्रो समझदारी बनाउनुपर्छ, अहिले टुंगो लागेको छैन, केही दिनभित्र निर्क्यौलमा पुग्छौं। वामपन्थी एकता भन्नु र  समाजवादी केन्द्र उस्तै-उस्तै  हो, गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनाउनुपर्छ। सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुन सक्छ। भोलि पार्टी एकताको लागि संयोजन समिति पनि हुनसक्छ। हाम्रो छलफल चलिरहेको छ। अन्तिम निर्णय हुनसकेको छैन सम्भवत केही दिनभित्र अन्तिम निर्णयमा पुग्छौं।'

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए। भट्टराईले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उनीसँग समेत एकताको विषयमा कुरा चलिरहेको बताए।

प्रकाशित: ७ श्रावण २०७९ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App