coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धन छोडेर आउनुस्, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। काँग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ थियो।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए। त्यसको जवाफ दिँदै उनले काँग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै वामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त तेस्र्याए।

अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँडनेहरु वामपन्थी हुनै नसक्ने जिकीर गर्दै यदि छन् भने एकताका लागि आफू तयार रहेको पटकपटक बताए। उनले काँग्रेसलाई छोडेर वाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताए।

ओलीले भने, ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने काँग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु। चौंरीको पुच्छरजस्तो काँग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ? खै, वामपन्थी पार्टी? कम्युनिष्ट सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरु वामपन्थी? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊ। एमालेसँग मिलेर काँग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं।’

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढि मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरे। २००७ देखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियमाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान काँग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए। तथ्य र प्रमाणहरु आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोडनु परेको गुनासो समेत गरे।

प्रकाशित: ३२ असार २०७९ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App