१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चीनको दुष्प्रचारबीच एमसिसी पास भयोः प्रस्तावित अमेरिकी राजदूत

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थोमसनले नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नुभन्दा पहिले चीनले दुष्प्रचार अभियान सञ्चालन गरेको आरोप लगाएका छन्।

उनले बुधबार अमेरिकी संसद्को विदेश सम्बन्ध समितिमा आफ्ना भनाइ राख्दै चीनको दुष्प्रचारबीच गत फेबु्रअरीमा नेपालको संसद्ले ५ सय मिलियन अमेरिकी डलरको विकास परियोजना अनुमोदन गरेको बताएका हुन्।

थोमसनले सो सहयोगबाट नेपालमा विद्युत् प्रसारण लाइन र गुणस्तरीय सडक निर्माणमा सहयोग पुग्ने धारणा राखेका छन्। आफूले नेपालमा राजदूतका रूपमा काम गर्ने अवसर पाए नेपालको आर्थिक विकास र दुई मुलुकबीच व्यापारिक सम्बन्ध सुदृढ गर्न सहजीकरण गर्ने बताएका छन्।

अमेरिकी विकास सहयोग युएसएडले आगामी पाँच वर्षमा नेपालको विकासमा योगदान गर्ने गरी ६ सय ५९ मिलियन अमेरिकी डलर सम्झौता गरेको पनि उल्लेख गरेका छन्। उनी आफू राजदूतका रूपमा नेपालमा रहँदा नेपाली नागरिक र नेपालमा बस्ने सबैको अधिकारका लागि जोड दिने बताए।

त्यस्तै, उनले दलित, सीमान्तकृत समुदाय र तिब्बती शरणार्थीको अधिकार प्राप्तिका लागि पनि जोड दिने बताएका छन्। उनले अर्थपूर्ण समावेशिता, आर्थिक अवसर र मानवीय सहायतालाई नीतिगत रूपमा कार्यान्वयनका लागि नेपाल सरकारलाई प्रोत्साहन गर्ने पनि बताएका छन्।

यसअघि दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक मन्त्रीको जिम्मेवारीमा रहेका उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले गत २९ मार्चमा नेपालका लागि राजदूतमा प्रस्ताव गरेका थिए।

प्रकाशित: ३१ असार २०७९ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App