२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुशिल कोइरालाको सम्झनामा शालिक र पार्क निर्माण गर्न पहल

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको सम्झनामा गृहनगर नेपालगन्जमा शालिकसहितको स्मृति पार्क निर्माण गर्न पहल थालिएको छ। नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका स्वर्गीय कोइराला नेपालगन्ज–१० का स्थानीय बासिन्दा हुन्।  

कोइरालाको शालिकसहित स्मृति पार्क निर्माण गर्न केन्द्रीय स्तरमा पहल थालिएको हो। शालिकसहित पार्क निर्माणका विषयमा कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सचिव सुधान्सु कोइरालाले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन्। स्वर्गीय सुशिल कोइरालाको शालिकसहित स्मृति पार्क निर्माण गर्न मन्त्री चौधरी सकारात्मक देखिएको जिल्ला सचिव कोइरालाले बताए। ‘यस विषयमा म र हाम्रो मन्त्रालय सकारात्मक छ,’मन्त्री चौधरीको भनाई उद्धृत गर्दै कोइरालाले भने।  

कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीले संविधानका पिता समेत रहेका सादगी नेता स्वर्गिय कोइरालाको सम्मान स्वरुप शालिक र स्मृति पार्क बनाउनु राज्यको पनि दायित्व भएको बताएका छन्। ‘यो राज्यको दायित्व पनि हो, हामीले पहल गरेका छौं, सरकारले यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ,’उनले भने। स्वर्गीय कोइरालाको सम्झनामा यसअघि बाँकेको खजुरामा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र वाटरपार्कमा सुशिल नगर प्रवेशद्वार निर्माण गरिएको छ।

प्रकाशित: २१ असार २०७९ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App