८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्तरघातको आरोप लगाएर राजनीतिक अपराधीकरण भयोः पहारी

नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष राजिव पहारीले पार्टीका केही व्यक्तिहरुले आफूमाथि अन्तरघातको आरोप लगाएर राजनीतिक अपराधीकरण गरेको आरोप लगाएका छन्।

नेकपा एमाले कास्की जिल्ला सह इञ्चार्ज तथा गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका पहारीले आफूमाथि मिथ्या आरोप लगाएर राजनीतिक अपराधीकरण गरेको बताएका हुन्। पहारीमाथि पोखराका मेयर पदका उम्मेदवार कृष्ण थापालाई हराउन अन्तरघातको गरेको आरोप लागेको छ।

एमालेका संगठन प्रमुख खगराज अधिकारी समूहले पहारीले अन्तरघात गरेको आरोप लगाएको थियो। सांसद पहारीका स्वकीय सचिव मनोज पहारीले पोखरा–३३का एक क्लवका अध्यक्षसँग उम्मेदवार थापालाई हराउनका लागि नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य मार्फत पैसा दिलाइदिने आश्वासन दिएको सो समूहको आरोप छ।  

केही दिन अघि मनोज र क्लवका अध्यक्षबीचको १३ मिनेट ५४ सेकेण्ड लामो अडियो सम्वाद सार्वजनिक भएको थियो। मनोजले भने उक्त सम्वाद आफ्नो नभएको जिकिर गर्दै आएका छन्।

सांसद पहारीले भने सो अडियो सम्वाद सही भए नभएको बारे खुलाएका छैनन्। तर त्यसमा संलग्न मनोज पहारी आफ्नो स्वकीय सचिव नभएको उनले दाबी गरेका छन्। उनले भनेका छन्, ‘अडियो सम्वादमा कुरा गरेका भनिएका मनोज पहारी मेरो सचिवालयमा वा सहयोगीको रुपमा कहिल्यै नरहेको तथ्य जानकारी गराउँदछु। यसर्थ उहाँले गरेका सम्वादसँग मलाई जोड्न खोज्नु नियोजित हिसाबले मलाइ फसाउने षडयन्त्र बाहेक अरु केही होइन।’  

मेयरका उम्मेदवार थापालाई जिताउन आफू अहोरात्र खटिरहेको भन्दै उनले भनेका छन्, ‘मिथ्या कुराहरु जोडेर यसरी कपोलकल्पित आरोप लगाउनु मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होइन।’  पहारीले आफूमाथि लागेको आरोपबारे छानविन गर्न पार्टीसँग माग समेत गरेका छन्। उनले भनेका छन्, ‘ममाथि लगाउन खोजिएको आरोप पुष्टि गर्न चुनौती समेत दिन चाहन्छु। साथै यस विषयमा पार्टीले छानविन कमिटी बनाइ सत्यतथ्य पत्ता लगाइ यथार्थ सार्वजनिक गर्न माग गर्दछु।’  

प्रकाशित: ४ जेष्ठ २०७९ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App