८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ–पुराना दुवै पुस्तामा उत्साह

पहिलोपटक मतदानमा सहभागी हुँदै गरेकी कक्षा १२ मा अध्यनरत समिरा प्रजापति १ सय ३ वर्षकी गणेशमाया प्रजापतिसँग रमाउँदै। तस्बिरः उपेन्द्र/नागरिक

मध्यपुर नगरपालिका थिमीकी १ सय ३ वर्षीया गणेशमाया प्रजापतिले मत खसाल्न थालेको दशकौं भइसक्यो। बुधबार दिउँसो घरनजिकैको पाटीमा आराम गरिरहेकी प्रजापति शुक्रबारको मतदानका लागि पनि उत्तिकै उत्सुक भेटिइन्। १ सय १ वर्षको उमेरमा कोरोना पराजित गरेकी गणेशमायाले राम्रो काम गर्नेलाई जिताउन भोट हाल्ने सुनाइन्।

‘भोट हाल्न बाँचेजस्तो भयो,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहानै गएर भोट खसाल्नेछु।’ चुनावमा कसले जितेर के गर्‍यो भन्दा पनि आफ्नो जीवनमा धेरै परिवर्तन आएको उनले सुनाइन्। ‘विकास त भइरहेकै छ त,’ उनले भनिन्, ‘त्यसैले पनि भोट हाल्ने रहर बढेर आएको छ।’ उनीसँगै उभिएकी पनातिनी उमेरकी समिरा प्रजापति पहिलोपटक मत खसाल्दैछिन्। बुधबारै मतदाता परिचयपत्र हात पारेकी समिराले शिक्षा र स्वास्थ्यका लागि मत खसाल्ने सुनाइन्। ‘सरकारी विद्यालयहरू राम्रा हुनुपर्‍यो,’ कक्षा १२ को परीक्षा सकाएर बसेकी उनले भनिन्, ‘सरकारी अस्पतालमा पनि उपचार राम्रो पाउनुपर्‍यो।’ कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मध्ये समिराजस्तै वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा ३६ लाख ५९ हजार २ सय ९९ नयाँ मतदाताले भाग लिनेछन्।

विगतमा निर्वाचनमा जित्नेले सोचेजस्तो काम नगरे पनि मतदानप्रति नयाँ र पुराना पुस्ता दुवैमा उत्साह देखिएको छ। निर्वाचन आयोगले मौन अवधि घोषणा गरेकाले राजधानीवरपरका काँठ क्षेत्र र सहरी भेगमा निर्वाचनका झाँकी नदेखिए पनि मतदातामा उत्साह र उमंगमा कुनै कमी देखिन्नथ्यो। गाउँका चौतारी होस् या सहरका गल्ली, चुनावी गफ गर्नेहरू जताततै भेटिन्छन्।

खेतमा गहुँ काट्दै गरेका किसान अनि धान रोप्दै गरेका रोपाहार, सबैलाई चुनावी चटारोले छोएको छ। मन परे पनि नपरे पनि जनप्रतिनिधिबाटै विकास आशा गर्नुपर्ने अवस्था रहेको समिराले सुनाइन्। ‘संविधान दिनेले मल दिन नसकेको देख्दा दुःख लाग्छ,’ धानको बिउ राख्दै गरेकी कागेश्वरी आलापोटकी निर्मला फुयाँलले भनिन्, ‘जित्नेले मल मात्र ल्याइदिए पनि किसानको भलो हुन्थ्यो।’

उनको जस्तै धारणा राख्छन् थिमीकै उत्तम प्रजापति पनि। मतदानप्रति उत्साह भए पनि सोचेजस्तो उम्मेदवार नपाउँदा दुःख लागेको उनी सुनाउँछन्। ‘हरेकपटक परिवर्तनको आशामा भोट हाल्न जान्छौं,’ उनले भने, ‘तर उम्मेदवारले चुनाव जितेपछि यो बुझ्दैनन्।’ अब चुनावमा जित्नेले जनताका भावना जितेर काम गरोस् भन्ने उनको चाहना छ।

राजनीतिक दल र नेताप्रति गुनासो भए पनि मतदानको अधिकार खेर नफाल्ने उनीहरू बताउँछन्। ‘कसैलाई मत नखसाले त झन् नराम्रोले जित्न सक्छ नि !’ नुवाकोट थानसिङबाट काठमाडौंको मूलपानी आएका केशवप्रसाद ढकाल भन्छन्, ‘त्यसैले धेरै नराम्रोलाई रोक्न पनि हामी मत खसाल्न जान्छौं।’ १८ वर्षको उमेरदेखि भोट हाल्दै आएका उनी ६० वर्षे उमेरमा पनि भोट हाल्न उत्तिकै इच्छुक छन्। ‘राम्रो व्यक्तिलाई भोट हाल्न पाए परिवर्तन हुन्छ भन्ने आशा मरेको छैन,’ उनी थप्छन्, ‘त्यही राम्रो मान्छेको प्रतीक्षामा छौं।’ हरेकपटकको चुनावले नयाँ आशा दिएर जाने उनको बुझाइ छ। ‘प्रत्येक चुनाव नयाँ आशा लिएर आउँछ,’ उनले भने, ‘किनकि यसले हामीलाई गल्ती सच्याउने पुरै अवसर दिएर जान्छ।’

काँठको रहर र सहर कहर

काँठ क्षेत्रमा मतदाता गाउँमा मोटर ल्याउने बाटोका लागि मत खसाल्ने बताउँदै गर्दा राजधानीका सहरका मतदाता भने बढ्दो सवारी नियन्त्रण गर्न सक्ने उम्मेदवारको खोजीमा छन्। ‘हामीलाई गाउँसम्मै पक्की मोटरबाटो चाहिएको छ,’ नाङ्लेभारेका कृष्णप्रसाद फुयाँल भन्छन्, ‘घरबाटै मोटर चढेर सहर जाने सपना छ।’

यता राजधानीको मुटुमा बस्नेहरू भने बढ्दो सवारी र भिडभाडबाट आतंकित छन्। ‘अनावश्यक मोटरहरू भित्री सहरमा नआऊन् भन्ने चाहना छ,’ नयाँ बानेश्वरका मनीष भट्टराई भन्छन्, ‘बढ्दो जनघनत्वले सहर बस्न नसकिने भएको छ।’ व्यवस्थित सहरीकरण र सवारीसाधनको व्यवस्थापन गर्न सक्नेलाई मत हाल्न इच्छुक भएको उनले सुनाए।

यसबाहेक काँठ क्षेत्रका सर्वसाधारण गाउँमै राम्रो विद्यालय र रोजगारका लागि अवसर सिर्जना हुनुपर्ने सुनाउँछन्। ‘गाउँमै राम्रो विद्यालय र अस्पताल भइदिए सहर जानुपर्ने बाध्यता रहन्नथ्यो,’ गागलफेदीका महेश पुडासैनी भन्छन्, ‘बरु सहर नै गाउँ आउँथ्यो।’

प्रकाशित: २९ वैशाख २०७९ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App