७ वैशाख २०८१ शुक्रबार
राजनीति

दक्षिणकाली नगरपालिकाः पुरानै अनुहार, पुरानै एजेण्डा

काठमाडौँको दक्षिणकाली नगरपालिकामा सबै राजनीतिक दलका प्रतिबद्धता र योजनाहरु पूरानै छन्। दलहरुले उम्मेदवारमा पनि पुरानैलाई प्राथमिकता दिएका छन्। अघिल्लो स्थानीय चुनावमा मेयर पदमा विजयी मोहन बस्नेत गठबन्धनका मयेरका उम्मेदवार भएका छन भने उपमेयरमा विजयी भएकी कांग्रेसकी बसन्ती तामाङ पुनः उठेकी छिन्।

यस नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धाको मैदानमा उत्रिएको छ। २०७४ को स्थानीय निर्वाचनमा बस्नेतले ४ हजार ६ सय ९८ मतले एमालेकी प्रतिद्वन्दी शशी शर्मा अर्याललाई हराएका थिए।

तीनै बस्नेत पुनः मेयरमा उम्मेदवारी दिएसँगै दक्षिणकालीको चुनावी माहोलमा खासै रोचकता छैन। उम्मेदवारले पुरानै एजेण्डा पुरा गर्ने भन्दै मत मागिरहेका छन्। यसरी मत माग्ने अनुहार पनि पुरानै छन्। नौ वटा वडा रहेको उक्त नगपालिका मेयरका लागि ९ जना र उपमेयरमा ४ जनासहित सबै वडाध्यक्ष र सदस्यमा गरी १ सय ४३ जनाको उम्मेदवारी परेको छ।

मेयर पदमा कांग्रेसबाट बस्नेत, नेकपा एमालेबाट श्रीराम आचार्य, राप्रपाबाट ज्ञानभक्त अमात्य, जनता समाजवादीबाट चण्डेश्वर तामाङ, स्वतन्त्रबाट विकास बलामी, उन्नत लोकतान्त्रिक पार्टीबाट उज्वल श्रेष्ठ, स्वतन्त्रबाट पुरुषोत्तम अर्याल, समाजवादीबाट रामप्रसाद तिमिल्सनाको उम्मेदवारी परेको छ।

त्यसैगरी उपमेयर पदका लागि जनता समाजवादीबाट सन्जु तामाङ, नेकपा एमालेबाट इन्दिरा न्यौपाने, नेपाली कांग्रेसबाट बसन्ती तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उर्मिला केसीको उम्मेदवारी दर्ता छ। १७ हजार भन्दा बढी मतदाता रहेको दक्षिणकाली नगरपालिकामा उपमेयर पदमा नेपाली कांग्रेसकी बसन्ती तामाङले पुनः उम्मेदवारी दिएकी छिन्।

अघिल्लो पटक अत्याधिक मतले विजयी भएका बस्नेत यस पटक पनि आफूले नै चुनाव जित्ने कुरामा विश्वस्त छन्। अघिल्लो वर्षको कार्यकालमा आफूहरुले धेरै विकास निर्माणको काम गरेको तर सबै पूरा नभएकाले आफू फेरि नगर उठेको उनको भनाइ छ।

बस्नेत भन्छन्, ‘अघिल्लो कार्यकालमा दक्षिणकाली नगरपालिकाको सबै भूगोललाई समेटेर सडक निर्माण, शिक्षा, स्वाथ्य, खानेपानी लगायतका क्षेत्रमा काम अगाडि बढायौँ तर सबै काम पूरा गर्न पाइएन। कोरोना भाइरस, कर्मचारी समायोजन लगाएतका अन्य कानूनी समस्याका कारण चाहे जति विकास गर्न नसकेको भएर म पुनः मेयरमा उठेको हुँ।’

आफू पुनः निर्वाचित भएमा दक्षिणकाली नगपालिकालाई हराभरा बनाउने, शिक्षा स्वाथ्य, खानेपानी र यातायातसँगै युवालाई रोजगारी दिने, अघिल्लो कार्यकालयमा पूरा हुन नसकेका कामहरु पूरा गरिदिने कुरा बस्नेतको योजना रहेको छ।

उनी नयाँ परिवेशमा पुनः मेयरमा उठेतापनि चुनावी एजेण्डा सबै पूराना छन्। यता २०५४ सालदेखि राजनीतिमा लागेका नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यको दाबी उस्तै छ। उनी जसरी पनि यस पटकको निर्वाचनमा आफू मेयर हुने कुरामा विश्वस्त रहेको बताउँछन्।

उनी भन्छन्, 'कागजी रूपमा कांग्रेस माओवादीबीच गठबन्धन भएतापनि जनताको मत एमालेसँग रहेको छ। नेकपा एमाले भन्दा बाहेक अन्य दलका साथीहरूसँग पनि मेरो उस्तै सम्बन्ध छ। उहाँहरुले यस नगरपालिकाको विकासका लागि मलाइ नै रोजेर भोट हाल्नु हुन्छ। नेकपा एमालेको झण्डा बोकेर चुनावी अभियान नजोडिए पनि भोट एमालेलाई नै दिनुहुन्छ जीत हाम्रै पार्टीको हुन्छ।’

यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेको सानदार जीत हुने कुरामा उनी ढुक्क छन्। प्रमुख दल नेकपा एमाले र कांग्रेस मात्रै होइन उक्त नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल पनि चुनाव जित्ने कुरामा विश्वस्त भएको दाबी गर्छन्। राप्रपाका मेयर उम्मेदवार ज्ञानभक्त अमात्य आफू पार्टीकै घोषणापत्र अनुसार चल्ने बताउँदै राप्रपा नेपालले मेयर पद जित्ने बताउँछन्।

उनी भन्छन्, ‘सामाजिक, आर्थिक, सहकारी क्षेत्रमा विभिन्न ठाउँहरुमा कामहरु गरिसकेको छु। मसँग नयाँ योजना पनि छ। जनताले विश्वास गरेर मलाई नै म त दिन्छन्। अहिलेको घरदैलो कार्यक्रम पार्टी नेतृत्वमा राजेन्द्र लिंङदेन आएपछि राम्रपाको नयाँ माहोल सिर्जना भएको छ। उहाँको नयाँ भिजन र कार्यक्रमले देश आमूल परिवर्तन हुँदैछ। त्यसकारण राम्रपाले जित्नेमा म विश्वस्त रहेको छु।’

प्रकाशित: २७ वैशाख २०७९ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App