१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छः महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दाबी गरे।

'विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्,' उनले भने। उनले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गरे।

प्रवक्ता डा. महतले नेकपा सरकारले आफ्नो पाँचवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गरे। कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उनको भनाइ थियो।

कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं स्थानीय निर्वाचनमा कामपा–४ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद न्यौपानेले अनुशासित र भ्रष्टचाररहित वडा निर्माण आफ्नो मुख्य अभियान भएको बताए।

सोही वडामा कांग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २७ वैशाख २०७९ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App