८ वैशाख २०८१ शनिबार
राजनीति

कपिलवस्तु नगरपालिकामा त्रिपक्षीय भिडन्त

आसन्न स्थानीय तहको निर्वाचन नजिकएसंगै राजनीतिक दल र उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेक हतकन्डा प्रयोग गर्ने गरेका छन्। उनीहरुले घरदैलोलाई तीव्रता दिएका छन्। उनीहरु मत तान्नका लागि अन्तिम तयारीमा जुटेका छन्।

यसै सन्दर्भमा मुलुक कै पुरानो कपिलवस्तु नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। कांग्रेस एमाले र जनता समाजवादी पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो। कांग्रेसमा यसअघि कै मेयर किरण सिंह, एमालेबाट डाक्टर राजेश गुप्ता र जनता समाजवादी नेपाल पार्टीका सुदीप पौडेलबीच प्रतिस्पर्धा हुने भएको हो।

तीन वटै दलसहित अन्य उम्मेदवाहरुको चुनावी अभियान तातेको छ। तर ती तिन प्रतिस्पर्धी भने चुनाव जित्न विभिन्न रणनीतिसहित चुनवी मैदानमा होमिएका छन्। कांग्रेस नेताहरु विस्तारै एकजुट हुँदै गएपछि कांग्रेसका उम्मेदवार सिंह यसपटक फेरी उत्साही देखिन्छन्।

नेता दीप कुमार उपाध्याय, अतहर कमाल, सुधाकर पाण्डेय, राजु अर्याल लगायतका नेताहरुले साथ दिएपछि सिंह थप मजबुत बनेका छन्। कांग्रेसले गत निर्वाचनमा २०७४ मा कांग्रेसले मेयर, उप मेयर र वडा नम्बर २, ३, ५, ७, ८, १० मा जितेको थियो। मेयर किरण सिंहले गत निर्वाचनमा ९ हजार २५४ मत ल्याई विजयी भएका थिए।

मेयरका प्रत्यासी किरण सिंहले आफूले ५ वर्षे कार्यकालमा ५० वर्षदेखि रोकिएको बाटो विस्तारको काम गरेको तथा शिक्षा स्वास्थ्य कृषि सामाजिक लगायतका क्षेत्रमा काम गरेकोले बताए। उनले आफ्नो कार्यकालमा गरेको अधुरा रहेको विकास योजना पूरा गर्न यस पटक पनि उम्मेदवार बनेको बताए।

उनले यस पटक पनि आफूलाई मतदाताहरुको मौका दिने र आफनो प्रतिस्पर्धा एमालेसंग रहने उनले बताए। तर टीन र नल वितरणका क्रममा नपाएका र अन्य कारणले रुष्ठ भएका मतदाताहरुलाई रिझाउन उनलाई ठूलो चुनौती देखिएको छ।

सांसद बुजेश कुमार गुप्ता आफ्नो समर्थकसहित गत चैत १४ गते एमालेमा प्रवेश गरेपछि एमाले पनि कपिलवस्तु नगरपालिकामा मजबुद बनेको छ। गत निर्वाचनमा सांसद गुप्ताका काका पुर्व मेयर रामदास गुप्ता स्वतन्त्ररुपमा मेयरमा उम्मेदवार बनेका थिए।

उनी ५ हजार ६३१ मतका साथ दोश्रोे भएका थिए। त्यस बेलाका एमालेका उम्मेदवार अब्दुल रउफ खाले २ हजार ४६१ मतका साथ चौथो भएका थिए। अहिले दुवैको मत जोड्दा एमालेका उम्मेदवार डाक्टर गुप्ता मजबुत भएको देखिन्छ। गत निर्वाचनमा बुजेशका समर्थक र एमाले गरी ५ वडाध्यक्ष जितेका थिए।

उता सांसद गुप्ताका समर्थक तथा युवा माझ चर्चित नेता सुदीप पौडलेले टिकट नपाए पछि एमाले छाडेर जनता समाजवादीबाट मेयरका उम्मेदवार बनेका छन्। यस्तै सांसद गुप्ता कै समर्थक संजय गुप्ताकी श्रीमति सुनिता गुप्ता सो पार्टीबाट उपमेयरमा लडेकी छिन्।

उता २०७४ सालमा जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार अब्दुल रदिस खाले ४ हजार ५४ मत सहीत तेश्रो भएका थिए। उता आम्दा अस्पतालमा एन्थेसियाका डाक्टरले नोकरी छाडेर चुनावमा होमिएका एमालेको तर्फ मेयरका उम्मेदवार राजेश गुप्ताले आफू जनताको सेवा गर्न चाहेकोले मेयरमा उठेको बताए।

कपिलवस्तुको समग्र विकासका लागि आफू मेयरको उम्मेदवार बनेका उनले बताए। उनले आफ्नो प्रतिस्पर्धा कांग्रेससंग नै हुने बताए। यता वडा नम्बर १ को वडाध्यक्ष बनेर लोकप्रिय बनेका जनता समाजवादी पार्टीका मेयरका प्रत्यासी सुदीप पौडेलले आफूले २८ वर्षदेखि जनताको सेवा गर्दै आएको बताए। उनले आफूले कपिलवस्तु नगरपालिकाको विकासका लागि स्पष्ट खाका लिएर आएको बताए।

‘सबै ठाउँमा मतदाताहरुले माया गरेका छन्, त्यसैले म धेरै उत्साही छु’ उनले भने। उनले जनताको साथ आफूलाई हुने र मेयरमा निर्वाचित हुने आफू ढुक्क रहेको बताए। उता मानवअधिकारकर्मी रामदयाल ठाकुरले कांग्रेस, एमाले र जनता समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा हुने बताए। कसले बाजी मार्छ त्यो भने अहिलै नै भन्न नसिकने उनले बताए।

युवा माझ लोकप्रिय रहेको सुदीप पौडलेको चर्चा भने अहिलेसम्म कमी नभएको मतदाताहरु बताउँछन्। तर अधिकांश मतदाताहरु मौन बसेकोले चुनाव कसले जित्छ त्यो भने हेर्न बाँकी छ। नेता सुदीप पौडललाई दोहारो फाइदा हुने देखिएको छ। सुदीप पौडेलले टिकट नपाए पछि बुजशे कुमार गुप्तासंग रुष्ट रहेको कार्यकर्ताहरु पौडेल तिर लागेका छन्।

यस्तै कांग्रेस नेतृ तथा यस अघि की उप मेयर लक्ष्मी गुप्ताले टिकट नपाएपछि उनका समर्थहरु पनि पौडल तर्फ लागेका छन्। सांसद गुप्ता र कांग्रेससंग रुष्ट भएका मतदाताहरु पौडेल तिर लाग्ने देखिएकाले उनी पनि अहिलेको दौडमा बलियो देखिन्छन्। उता माओवादी केन्द्रका मेयरका प्रत्यासी शत्रुघन बिलास चौधरीले पनि मत पाउने देखिएको छ। कपिलवस्तु नगरपालिकामा ९ जना मेयरका प्रत्यासी छन्। कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन्।

प्रकाशित: २५ वैशाख २०७९ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App