११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

वीरगन्जमा कस्सिँदै सत्ता गठबन्धन

स्थानीय निर्वाचनका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले वीरगन्ज महानगरपालिकामा मेयरको टिकट पाउने भएपछि गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र असन्तोष देखिएको थियो।

अनेकौं असन्तुष्टि र गुनासा व्यवस्थापन गर्दै कांग्रेससहितका गठबन्धन दल यतिखेर आफ्ना मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन कस्सिएर लागेका छन्। सत्ता गठन्धनबाट जसपाका राजेशमान सिंह (श्रेष्ठ) मेयर र कांग्रेसका इम्तियाज आलम उपमेयरका उम्मेदवार छन्।

आलम विद्यार्थी राजनीतिबाट खारिएका चर्चित युवा नेता हुन्। गठबन्धनमा आबद्ध सबै दलका जिल्ला नेताहरूको उपस्थितिमा शुक्रबार वीरगन्जमा ‘साझा प्रतिबद्धतापत्र’ सार्वजनिक गरिएको छ। एउटै मञ्चमा उभिएर नेताहरूले गठबन्धनलाई जिताउन कुनै कसर नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जित सुनिश्चित रहेको दाबी गरेका गठबन्धन दलका नेताहरूमा आत्मविश्वास पनि प्रबल देखिन्छ। साझा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रमको अध्यक्षता गरेका कांग्रेस पर्सा सभापति जनार्दन सिंह क्षेत्रीले वीरगन्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन पाँचवटै दल एकढिक्का भएर लागिपरेको दाबी गरे।

जसपाका नेता एवं मेयरका उम्मेदवार सिंह (श्रेष्ठ) लाई कांग्रेसले भोट नदिने हल्ला विपक्षीले चलाएका हुनाले त्यसमा कुनै सत्यता नरहेको दाबी उनले गरे। गठबन्धनमा कांग्रेसले राजनीतिक बेइमानी होइन, राजनीतिक धर्म निर्वाह गर्ने उनको भनाइ थियो।

‘कुनै द्विविधा छैन। गठबन्धन बनाइएपछि सुरुमा कांग्रेसभित्र केही अन्योल रहेको भन्ने सही हो। तर अहिले त्यस्तो अन्योल हटिसकेको छ। हामी गठबन्धनका दुवै उम्मेदवारलाई जिताउत दृढसंकल्पित छौं,’ क्षेत्रीले भने, ‘गठबन्धनका पाँचवटै दलका लागि यो प्रतिष्ठाको सवाल हो। आ–आफ्नो पार्टीका नेताकार्यकर्तालाई गठबन्धनका साझा उम्मेदवारलाई जिताउन स्पष्ट निर्देशन छ ।’

२/४ प्रतिशतले दायाँबायाँ गरे पनि त्यसले अर्थ नराख्ने भन्दै आफूहरू जिततर्फ उन्मुख रहेको दाबी उनले गरे। जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताहरूले मञ्चमा एकता प्रदर्शन गरे।

‘साझा प्रतिबद्धतापत्र’ आक्रामक

‘जे बोल्छौं, त्यो गर्छौं, त्यति मात्रै बोल्छौं, जति गर्न सक्छौं’ भनेर पहिलो वाक्यसहित आएको सत्तारूढ दलहरूको ‘साझा प्रतिबद्धतापत्र’ निवर्तमान नगर प्रमुखको कार्यकालका कार्यहरूप्रति आक्रामक छ।

‘सम्भावनालाई सम्भव बनाउने महाभियान, विकसित वीरगन्जका लागि विवेकपूर्ण मतदान’ भन्ने मूल नाराका साथ गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो। पछाडिपट्टिको भागमा ‘झुटो कसम नखाने’ उल्लेख गरिएको छ। अहिले सत्ता गठबन्धनका उम्मेदवारका लागि मुख्य प्रतिस्पर्धी मानिएका एमालेका उम्मेदवार एवं अघिल्लोपटक वीरगन्जमा तत्काली संघीय समाजवादी पार्टीबाट मेयरमा विजयी भएका विजयकुमार सरावगीको त्यतिबेला चुनावी घोषणापत्रको नाम थियो, ‘मेरो कसम’।

सत्ता गठबन्धनको प्रतिबद्धतापत्रमा जनमुखी प्रशासन र सुशासनलाई सेवा प्रवााहमा लागु गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, अनावश्यक प्रशासनिक खर्च कटौती गरी विकास बजेट बढाउने, करको दर घटाउँदै दायरा बढाउने, अनलाइन सेवा प्रणाली कार्यान्वयन गर्ने र पिठिया कर खारेज गर्नेजस्ता विषय समेटिएको छ।

त्यसमा यसअघि महानगरमा भएका भ्रष्टाचार छानबिन गर्ने बुँदा पनि राखिएको छ। प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा मेयरका उम्मेदवार सिंह (श्रेष्ठ) ले वीरगन्ज महानगरलाई देशको अन्य स्थानीय तहको दाँजोमा विकासको प्रतिस्पर्धामा अगाडि लैजान संकल्प लिएको बताए।

व्यापार र उद्योगबाट देशको अर्थतन्त्रलाई योगदान गरिरेहको र राजनीतिक तथा समाजिक आन्दोलनहरूमा पनि योगदान गरेको सहर भएर पनि वीरगन्जले केन्द्र सरकारबाट न्यायपूर्ण व्यवहार नपाएको उनले बताए। वीरगन्जले आर्थिक राजधानीको मौखिक उपमा मात्र पाएको उनको भनाइ थियो। आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट सिध्याउने परिपाटी अन्त्य गर्न विकास बजेटको खर्चतालिका निर्धारण गर्ने प्रतिबद्धतामा छ।

गरिब तथा विपन्न नागरिकका लागि बिजुली र पानीको न्यूनतम शुल्क महानगरले बेहोर्ने, नेपाली नागरिक महानगरवासी तथा विदेशी नागरिक भई महानगरभित्र व्यवसाय गरिरहेका सबैको ‘डिजिटल आइडेन्टिफिकेसन’ कार्ड बनाएर कर व्यवस्थापन र सेवा प्रवाहमा उपयोग गर्ने, भ्रष्टाचारसम्बन्धी गुनासो सुन्न मेयरको प्रत्यक्ष निगरानीमा हेल्पलाइन राख्ने, डुबान समस्या स्थायी रूपमा समाधान गर्न प्राविधिक अध्ययनका आधारमा योजना ल्याइने, सहर हरियाली बनाउन वृक्षरोपण, सहरी वन कार्यक्रम र निजी वनलाई प्रोत्साहन गरिने, महानगरबाट नक्सा पास गर्दा एक घरबराबर कम्तीमा दुई बिरुवा अनिवार्य रूपमा हुर्काउनैपर्ने नियम लगाउने घोषणापत्रमा उल्लेख छ।

बिपी उद्यान निर्माण, सम्पदा तथा पर्यावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शिक्षामा सुधार, विज्ञान र प्रविधि अध्ययन गराउने संस्था खोल्नेसम्मका योजना घोषणापत्रमा समेटिएको छ। स्वास्थ्य सेवा, पूर्वाधार विकास, पर्यटन, युवा उद्यम, रोजगारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ। कृषि तथा पशुपन्छी, सूचना प्रविधि तथा सञ्चार, खेलकुद, सहिद, घाइते तथा अपांग, साहित्य तथा भाषा संस्कृतिसँग सम्बन्धित विषयले गठबन्धनको घोषणापत्रमा ठाउँ पाएका छन्।

प्रकाशित: २५ वैशाख २०७९ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App