८ वैशाख २०८१ शनिबार
राजनीति

महालक्ष्मी नगरमा कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा

बायाँबाट क्रमश: नेकपा एकीकृत समाजवादीका नकुल थापा, नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र माओवादी केन्द्रका शिव कट्टेल।

ललितपुर महालक्ष्मी नगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनका दुई दल नेपाली कांग्रेस–माओवादी (केन्द्र) र नेकपा (एमाले)बीच कडा प्रतिष्पर्धा हुने भएको छ।  

नगरपालिका मेयर पदमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी (केन्द्र)बीच तालमेल छ भने एकीकृत (समाजवादी)ले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच नै सहमती नहुँदा एकीकृत समाजवादीले मेयरमा छुट्टै उम्मेदवारी दिएको हो।

मेयरमा माओवादी (केन्द्र), एकीकृत (समाजवादी), नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। यी तीनमध्ये पनि माओवादी (केन्द्र) र नेकपा (एमाले)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुँदैछ। कांग्रेस र माओवादी (केन्द्र) बीचको तालमेलमा माओवादी केन्द्रका शिव कट्टेल, नेकपा एकिकृत (समाजवादी)बाट नकुल थापा, नेकपा (एमाले) बाट हरिगोविन्द श्रेष्ठ चुनावी मैदानमा छन्।

यस नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए। श्रेष्ठले ७ हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए। खड्काले ६ हजार ५ सय मत ल्याएका थिए। अहिले कांग्रेस र माओवादी (केन्द्र) मेयरमा तालमेल गर्दैछन्। एमाले फुटेर नेकपा एकीकृत (समाजवादी) भएको छ। समाजवादीले वडाध्यक्ष जितेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको छ।

महालक्ष्मी नगरपालिकामा सबै पदमा गरेर २ सय ३५ जनाको उम्मेदवारी परेको छ। जसमध्ये मेयरमा ९ जना र उपमेयरमा ५ जना उम्मेदवार छन्। १० वटा वडाको नगरपालिकामा वडाध्यक्षमा ५६ जना, वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र  दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन्।

मेयर पदमा गठबन्धनको तर्फबाट कुनै बागी उम्मेद्वार भने छैनन्। माओवादी केन्द्रका शिव प्रसाद कट्टेल, उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेस नेतृ लक्ष्मी महर्जनको उम्मेद्वारी परेको छ। यस्तै नेकपा एमालेले मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा विना सुवेदी केसी छन्। नेकपा एकीकृत (समाजवादी) ले २०७४ निर्वाचनमा नेकपा एमालेबाट वडा नं७ का वडा अध्यक्ष जितेका नकुल थापालाई मेयरको उम्मेदवार बनाएको हो।

नेकपा एकीकृत (समाजवादी)का नकुल थापा २०३७ सालदेखि सामाजिक कार्यमा क्रियासिल छन्। २०५४ को निर्वाचनमा तत्कालिन टिकाथली गाविस वडा ७ मा नेकपा एमालेबाट र्निविरोध वडाध्यक्ष भएका थिए। २०७४ को निर्वाचनमा पनि उनी एमालेकै तर्फबाट वडाअध्यक्ष भए। ‘वडालाई जस्तै नगरपालिकालाई नै नमुना बनाउने मेरो उदेश्य हो’, उनले नागरिक न्यूजसँग भने। बाटोहरु कालोपत्रे गर्ने, ढलान गर्ने, ब्लक बिछ्याउने, एक घर एक धारा कार्यक्रमलाई प्राथमिकता दिने, युवालाई स्वराेजगार बनाउने लगायतका योजनासहित अघि बढेको थापा बताउँछन्। ‘महालक्ष्मी नगरपालिकामा घरजग्गाको नक्सा पास नहुने समस्या निकै ठूलो छ, यसलाई समाधान गर्ने लक्ष्य छ। नगरपालिकाको केन्द्रीय भवन बन्न सकेको छैन। अपाङ्गमैत्री भवनबाट स्थानीयलाई सेवा दिने लक्ष्य पनि छ’, उनले भने।

यसैगरी नेकपा (मओवादी केन्द्र) का मेयर उम्मेदवार शिव कट्टेल ३ दशकदेखि आफू यही नगरपालिकाको विकास निर्माणमा संलग्न भएको दाबी गर्छन्। उनले ग्वार्कोमा फलाईओभर निमार्णदेखि, स्वास्थ्य, शिक्षा, खानेपानी, ढल व्यवस्थापन, युवा स्वोरोजगार,पर्यटन प्रवद्र्धन लगायतका एजेण्डा अघि सारेका छन्।

‘नगरबासीको ईच्छाअनुसार नै नगरपालिकाको विकासको लागि मैले मेयरको उम्मेद्वारी दिएको हुँ। विद्यमान समपूर्ण समस्याहरुलाई समाधान गर्ने र नगरलाई थप विकास गर्दै अगाडि बढ्ने मेरो योजना हो’,उनी भन्छन्। बागमति प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ। साविकका ५ गाविसहरु ईमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर २०७१ मंसिर १६ गते यो नगरपालिका घोषणा भएको हो।  

२०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजार भन्दा बढी मतदाताहरु छन्। २०६८ को जनगणना मतदाताको संख्या २५ हजार मात्र थियो। करिब २६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको छ।  

यस्तै उत्तरमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकासँग यो नगरपालिकाको सिमा जोडिएको छ। काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को–लुभु–लामाटार–मानेदोभान–पनौति हुदै विपि लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको मध्य भाग भएर गएका कारणले पनि यस नगरपालिकाको विकासको अधिक सम्भावना छ।

प्रकाशित: २२ वैशाख २०७९ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App