१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगरमा दलहरूका घोषणापत्रः भ्रष्टाचार नियन्त्रण र विकास मुख्य प्राथमिकतामा

दलहरूले आसन्न स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण र शुसासनलाई प्राथमिकतामा राखेका छन्। विराटनगर महानगरपालिकाको घोषणापत्र सार्वजनिक गर्दै मुख्य दलहरू, नेपाली कांग्रेस, नेकपा एमालेलगायतले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेका हुन्।

ठूला दलहरूले मात्रै हैन साना तथा स्वतन्त्र उम्मेदवारलेसमेत भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको दल तथा उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ।

स्थानीय तहको निर्वाचन २०७९का लागि पनि दल तथा तिनका उम्मेदवारहरूले घोषणापत्रमा शुसासनलाई प्राथमिकतामा राखेका छन्। विराटनगर महानगरपालिकाको घोषणापत्रमा कांग्रेसले भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको छ। कांग्रेस विराटनगर महानगरपालिका प्रचारप्रसार समितिले स्थानीय तह निर्वाचन २०७९ को संकल्पपत्रमा पहिलो बुँदामै भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्रण बनाउने प्रस्ताव गरेको छ। 

यस्तै महानगर कार्यालयमा गरिँदै आएका अनुत्पादक र अनावश्यक खर्च नियन्त्रण गर्ने, महानगरपालिकाले गर्ने खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र र अनुशासनको तर्जुमा गर्ने उल्लेख गरेको छ। संकल्पपत्रमा विकास निर्माणका कामलाई दोस्रो प्राथमिकतामा राख्दै विकासका कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी व्यवस्थित गर्ने उल्लेख छ।

यस्तै विराटनगर महानगरका मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने वासिन्दालाई निःशुल्क विद्युत् उपलब्ध गराउने, विराटनगरमा जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहितको मेट्रोसिटी हस्पिटल स्थापना गर्ने, ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने, पिछडिएका समुदाय तथा सुकुम्वासीको पहिचान गरी लालपुर्जासहितको एकिकृत वस्ती निर्माण गरी हस्तान्तरण गर्ने उल्लेख छ।

कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार नियन्त्रण र शुसानमा आफू केन्द्रित हुने प्रतिबद्धता जनाउँदै मतदाताका घर दैलोमा पुगेर भोट मागिरहेका छन्। उनले विराटनगर महानगरपालिकाले मेयरलाई दिने सबै आर्थिक सुविधा सामाजिक कार्यमा प्रदान गर्ने घोषणासमेत गरिसकेका छन्।

नेकपा एमालेले विराटनगर महानगरपालिकामा चुनावी नारा नै ‘शुसासन, विकास, गुणस्तरिय भौतिक पूर्वाधार, सुविधा, समानता र न्यायसहितको समृद्ध महानगर’ भन्ने राखेको छ। नेकपा एमाले निर्वाचन परिचालन कमिटी विराटनगरले स्थानिय तहको निर्वाचन २०७९का लागि तयार पारेको घोषणा पत्रको ८३ औं बुंदामा भ्रष्टाचार नियन्त्रणमा शुन्य शहनशिलताको निती लिने उल्लेख गरेको छ।

एमालेले महानगरपालिकाको आय खर्च, पेस्की वेरुजु नियन्त्रणमा कडा आर्थिक अनुशासन कायम गर्ने, महानगरपालिकाले गरेका कामका महत्वपूर्ण सूचनाहरू सहरका मुख्य भागमा विद्युतिय सूचना वोर्ड निर्माण गरी सर्वसाधारणले पढ्न पाउने व्यवस्था गर्ने, महानगरपालिकाले सम्पादन गर्ने सबै कामको समयसीमा र मापदण्ड तोक्ने उल्लेख गरेको छ।

नेकपा एमालेले बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्टसिटी बनाउने घोषणापत्रमा उल्लेख छ। एमालेले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।

एमालेको प्रतिबद्धतापत्रमा विकासका अभियानहरूमा दिगो विकासको अवधारण अनुरूप तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर सम्पन्न गर्ने उल्लेख छ। स्थानीय अर्थतन्त्रको विकास तथा उपलब्ध स्रोत साधनको सदुपयोग गरी सुशासन विकास कार्यक्रम अगाडि बढाउने जनाइएको छ। गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गरी न्याय र समानता सहितको समृद्ध महानगर निर्माण गर्ने बताइएको छ।

पछाडि पारिएका तथा सीमान्तकृत समुदायको विकास, सहभागिता तथा समावेशीकरणमा विशेष ध्यान दिने जनाइएको छ। प्रदेशको राजधानी विराटनगरमा प्रदेश सरकार र प्रदेश सभाका स्थायी भौतिक संरचना निर्माण गर्न आवश्यक पहल र सहजीकरण गर्ने, महानगरको सर्वाङ्गीण विकासका लागि एक स्वायत महानगर योजना आयोग बनाई त्यस अन्तर्गत नगरबासीको पहुँच हुने गरी योजना बैंक सञ्चालन गर्ने जनाइएको छ।

यस्तै सामुदायिक विद्यालयको पूर्वाधार विकास गरी गरिब तथा विपन्न वर्गका बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराउने, निःशुल्क स्वास्थ परीक्षण सेवा, आधारभूत रूपमा औषधि उपलब्ध गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ। यस्तै वातावरण मैत्री नगरवस सञ्चालन गर्ने, महानगरभित्रका भूमिहिन गरिब, र दलितलाई जमिनसहितको आवासको व्यवस्था गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।  

विवेकशिल साझाका विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार अमलेश कर्णले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नु आफ्नो पहलिो प्राथमिकता हुने बताए। उनले घोषणापत्रमा उल्लेख गरिएका सबै काम व्यवहारमै लागू गरेर देखाउने दाबीसमेत गरे। विवेकशिल साझाले अर्थतन्त्रको उद्वेलन, रोजगारी, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकालाई आवास र गुणस्तरिय सार्वजनिक यातायातको सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ। 

विवेकशील साझाले विद्यार्थीहरूका लागि विद्यार्थी सञ्चय कोषको प्रस्ताव गरेको छ। युवाहरूका लागि महानगरपालिकामा छुट्टै शाखा खोली रोजगार र स्वरोजगारका लागि अधिप्रेरित गर्ने, जेष्ठ नागरिकका लागि छुट्टै अनुभव संरक्षण शाखा स्थापना गरी प्रतिष्ठानमा स्तरोन्नति गर्ने प्रस्ताव विवेकशील साझाले गरेको छ।

यस्तै स्वतन्त्रतर्फबाट विराटनगरको उप मेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपाने पनि सुशासनसहितको विकास र समृद्धिका लागि स्वतन्त्रमा उम्मेदवारी भन्ने नाराकासाथ चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन्। उनले भ्रष्टाचार नियन्त्रणलाई आफूले प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाबाट पाउने सेवा सुविधासमेत सामाजिक काममा लगाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको अवस्था बदल्नलाई आफूले उम्मेदवारी दिएको बताइन्।

प्रकाशित: २२ वैशाख २०७९ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App