८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

विपीको शालिकमा माल्यार्पण गर्दै एमाले उम्मेदवारको घरदैलो सुरु

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारले विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन्।

बुधबार दिउँसो शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा विपीचोकमा रहेको विपी कोइरालाको शालिकमा माल्यर्पण गर्दै एमालेबाट मेयरका उम्मेदवार मुक्ति तिम्लिसिना, उपमेयर फुलमाया वाग्लेको घरदैलो अभियानको सुरुवात गरिएको हो। एमालेबाट शुक्लागण्डकीको १२ वटा वडामा वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिएका अधिकांश सहभागी थिए।

एमालेका उम्मेदवारहरुले सुरुमा बुधबार बिहान शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलामा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरबाराही मन्दिरमा पूजा अर्चना गर्दै आर्शिवाद लिए। ढोरबाराही मन्दिरको प्राङगणमा बसेर उम्मेदवारहरुले बोलेका कुरा पूरा गर्ने वाचा समेत गरे।

त्यसपछि शुक्लागण्डकी–८ पाटनमा रहेको शहिद कृष्णप्रसाद पौडेलको शालिकमा माल्यार्पण गर्दै शहिदको बलिदानीको प्रशंसा गर्दैै शहिदको सपना साकार पार्ने प्रण गरे। २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीद कृष्णप्रसाद पौडेलको श्रीमतिलाई भेट्दै उम्मेदवारहरुले जितका लागि आर्शिवाद लिए।

शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको शहिद स्मृति पार्कमा पनि उम्मेद्वारहरु पुगेर माल्यार्पण गरिएको छ। २०६३/६३ को जनआन्दोलनमा शहादत प्राप्त गरेको शहिदहरुको स्मृतिमा यहाँ शहिद स्मृति पार्क निर्माण गरिएको छ। उम्मेदवारको समूहले शुक्लागण्डकी–२ कोत्रेमा रहेको लालध्वज पार्कमा रहेका शदिहको शालिकमा पनि माल्यार्पण गरेका छन्।

उम्मेदवारहरुले शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको पनि दर्शन गर्दै पूजा अर्चन गरे। शुक्लागण्डकी वासीलाई सुखी बनाउन सडक पूर्वाधार, कृषिमा आत्मानिर्भरता, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएको मेयरका उम्मेदवार तिम्लिसिनाल बताउँछन्। उनी भन्छन्, ‘हामी जे बोल्छौँ त्यो पूरा गर्छौँ। कुनै किसिमको लोभ लालचमा पर्ने छैनौँ।’

निर्वाचनमा विजयी भएपछि कसैसँग पनि आग्रह पूर्वाग्रह राखेर काम नगर्ने उनको भनाइ छ। नगर क्षेत्रमा रहेको खनिज र स्रोत साधनलाई उपयोग गर्दै विकासलाई जोड दिने उनले बताए। ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको विकास, सम्वृद्ध, समानता र समुन्नत शुक्लागण्डकीका लागि नेकपा एमालेको सरकार’ नाराका साथ पाँच वर्षमा पार्टीका जनप्रतिनिधिले गर्ने प्रतिबद्धता पत्र सार्वजनिक यसअगाडी नै गरेको छ।

सामाजिक न्यायसहितको आर्थिक विकास, शुसासन र न्यायोचित वितरण सहितको आर्थिक सम्वृद्धि नेकपा एमाले शुक्लागण्डकीको विकास नीति सार भएको उपमेयरकी उम्मेदवार फुलमाया वाग्लेले बताइन्। शुक्लागण्डकीमा एमाले विजयी भएपछि दिगो शान्ति र विकासलाई प्राथमिकता दिने उनको भनाइ छ। एमाले शुक्लागण्डकीको प्रतिबद्धता पत्रमा सडक स्तरोन्नती र मोटरबेल पुल निर्माणलाई मुख्य प्राथमिकता दिइएको छ।

दर्जनौँ सडक र मोटरेवल पुलहरु निर्माणका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने उद्घोष गरिएको छ। ढोरको फलाम खानीको उत्खनन् अगाडी बढाईने प्रतिबद्धता छ। सेती नदीको दुई स्थानमा चेक ड्याम निर्माण गर्दै गिट्टी वालुवाबाट आम्दानी बढाउने र स्टिमर सञ्चालन गर्दै पर्यटकीय गन्तव्य बनाउने योजना छ।

‘सेती नदीमा जलमार्गको सम्भाव्यता अध्ययन गरिनेछ। शुक्लागण्डकीमा रहेका कुम्ले खोला, सुरौँदी खोला क्याङदी खोला, म्याग्दे खोला र सेती नदीका विभिन्न भागमा उच्च बाँध निर्माण गरेर जलशायहरुमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गरिनेछ’, प्रतिबद्धता पत्रमा भनिएको छ। नगरका फाँटहरुमा सिँचाईको व्यवस्थापन गर्दै उत्पादनमा आत्मानिर्भर गराउने लक्ष्य राखिएको छ।

दमकल सेवा सञ्चालन, दुई हजार पाँच सय क्षमताको सिटी हल निर्माण, व्यवस्थित बसपार्क, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, सेती नदीको सुन्दरता कायम, वडामै वर्थिङ सेन्टर र एम्बुलेन्स सञ्चालन, विदेश पढ्न जानेलाई पनि छात्रवृत्ति जस्ता महत्वकांक्षी योजनाहरु प्रतिबद्धता पत्रमा समेटिएको छ।

आगामी १० वर्षभित्र शुक्लागण्डकीको सम्मपूर्ण उत्पादनलाई औद्योगिकरण गर्ने प्रतिबद्धता छ। इलेक्ट्रिक सवारी साधनलाई अनुदान, इनडक्सन चुलोमा अनुदान, बिजुलीको युनिटमा विशेष छुट दिइने पनि एमालेले उल्लेख गरेको छ। नगरपालिकामा रहेका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नगरपालिका नै लालपुर्जा दिने प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भनिएको छ।

‘सार्वजनिक, सरकारी र निजी जग्गाको पहिचान गरेर संरक्षण गर्ने। अव्यवस्थित बसोवासी एवम भुमिहिन दलिन, सुकुम्बासीहरुलाई दुई वर्षमा पुर्ण व्यवस्थापन गरिनेछ। नगरस्तरिय कानुन बनाइ पुर्जा वितरण गरिनेछ। आवास क्षेत्र, एकीकृत कृषि, भु–उपयोग निती लागु गरिनेछ’, प्रतिबद्धता पत्रमा उल्लेख छ। संघीय सरकारले पुर्जा नदिए नगरपालिकाले सेतो पुर्जा भएपनि दुई वर्षमा बाँड्ने एमालेको उद्घोष छ।

प्रकाशित: १४ वैशाख २०७९ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App