२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस कम्युनिष्टहरुको डरमा बाँच्नुपर्ने भयोः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कम्युनिष्टहरुको द्धय चरित्र बिर्सिएर कांग्रेसले बारम्बार उनीहरुसँग चुनावी तालमेल गर्न उचित नहुने बताएका छन्। कांग्रेस हरेक घटनाक्रममा नेपालका कम्युनिष्टहरुसँग डराइरहेको अनुभव सुनाए। र, कांग्रेसले आफ्नो मतदाता संख्या बढाएर कम्युनिष्टहरुको डरबाट छुटकारा पाउनुपर्ने धारणा राखे।

बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवस कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालको राजनीतिमा कम्युनिष्टहरुले बारम्बार द्धय चरित्र देखाएकाले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित हुँदैन।' महामन्त्री थापाले कांग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थिति अन्त्य गर्नुपर्ने बताए।

महामन्त्री थापाले कांग्रेसले ३२ लाख भन्दा धेरै मतदाता बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता आउने उल्लेख गरे। उनले तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरका सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिइएको बताए।

‘ढिलोचाँडो नेपालका कम्युनिष्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने लक्ष्य छ’, महामन्त्री थापाले भने। उनले यदि सबै क्षेत्रमा कांग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउने बताए।

महामन्त्री थापाले भने, ‘कम्युनिष्ट पार्टीहरु एकै पटक सरकारमा बसे, देख्यौँ। तुरुन्त कांग्रेससँग बसेर सरकार बनाए, त्यो पनि देख्यौँ। सरकारमा बस्दा बस्दै आधाले छोडेर गएर अर्को पार्टीसँग मिलेर चुनाव लड्न गएको पनि देख्यौँ। रातारात पार्टी नै बनाएको पनि देख्यौँ। रातारात पार्टी नै तोडेको पनि देख्यौँ। यो सबै कुराबाट मैले बुझेको र मैले हरेको कुरा के हो भने नेपाली कांग्रेससँग ३०/३२ लाख मतदाता छन्। हामी त्यसमा चित्त बुझाउने हो? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने र हिम्मत नगर्ने हो भने हामी निरन्तर रुपमा कुनै न कुनै कम्युनिष्ट पार्टीको डरमा हामी बाँचिरहनु पर्ने हुन्छ। हामी अहिले डराउने भयौँ। हामीले सँगै लिएर नहिडे अर्को कम्युनिष्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ। यो चुनावसम्ममा यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ। ठूलो चुनावमा झनै तर्साउने भए। मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो। फेरि मिल्ने भयौँ। फेरि मिल्दा चुनाव पनि जितौँला। चुनाव जितेको भोपिल्ट दिने हो कि होइन भन्ने भए। फेरि हामी डराउने भयौँ।’

प्रकाशित: ७ वैशाख २०७९ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App