२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कानुनभन्दा माथि कोही छैनः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुनभन्दा माथि जान नहुने बताएका छन्।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा जोड दिँदै ‘ठूलालाई चयन सानालाई ऐन’ भने जस्तो हुनु राम्रो नभएको भन्दै उनले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताए।

चौतारा साँगाचोकगढी नगरपालिका–६ मा नवनिर्मित भ्यूटावरसहितको बुद्धपार्कको हिजाे उद्घाटन गर्नहुँदै उनले सबैभन्दा माथि कानुन अनि मात्र पद रहेको बताए। उनले सङ्घीयता कार्यान्यनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र नभई पदको दुरुपयोग पनि भएकाले अब युवा जागेर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए। सभामुख सापकोटाले हिजाे ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरे। नगरपालिकाले गौरवको आयोजनाका रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ। उनले भ्यूटावरसहितको बुद्धपार्कले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए।

सङ्घीय सांसद एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताए।

समुद्री सतहबाट करिब एक हजार ७०० मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरीशङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ। त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोटलगायतको भूभागको दृश्य अवलोकन गर्न सकिन्छ।

जिल्लाकै प्रख्यात भीमेश्वर मन्दिरबाट एक किलोमिटर मात्र पर रहेको बुद्धपार्क धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास नगरपालिकाले लिएको छ। साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिङ तामाङले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आयस्रोतमा वृद्धि गरी सिङ्गो नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्धपार्कको निर्माण गरिएको बताए।

सदरमुकाम चौताराबाट तीन किलोमिटर दुरीमा रहेको बुद्धपार्क पुग्नका लागि नगरपालिकाले वैकल्पिक पदमार्गका रूपमा निर्माण गर्दै गरेको हजार सिंढीको कार्य पनि अन्तिम चरणमा पुगेको छ। नगरपालिकाको आन्तरिक स्रोतमार्फत रु सात करोड ६७ लाखको लागतमा बुद्धपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ। रासस

प्रकाशित: २५ चैत्र २०७८ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App