२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनावकेन्द्रित हुँदै प्रमुख दलः जनतासँग जोडिन विभिन्न अभियान

प्रमुख राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर विभिन्न अभियान सञ्चालन गर्न थालेका छन्। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेमात्र होइन, अन्य दलहरू पनि चुनावकेन्द्रित कार्यक्रमसहित गाउँ जाने तयारीमा जुटेका हुन्।

कांग्रेसले यही फागुन २९ गतेदेखि स्थानीय चुनावलाई केन्द्रित गरेर एकमहिने अभियान सञ्चालन गर्ने भएको छ। फागुन ३ मा बसेको कार्यसम्पादन समितिको निर्णयअनुसार कांग्रेसले ‘घरघर जाऔं कांग्रेसलाई जिताऔं’ भन्ने नारासहित एकमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको हो।

सबै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई खटाउने तयारी गरेको कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उनीहरूलाई प्रशिक्षण दिएको छ। केन्द्रीय प्रतिनिधिलाई जिल्लामा गएर केके गर्नुपर्ने भन्ने निर्देशन पार्टीले दिएको छ। पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पनि अभियानमा परिचालन गर्ने कांग्रेस तयारी छ। केन्द्रीय प्रतिनिधि फागुन २७ गतेभित्र तोकिएका जिल्लामा पुग्नुपर्ने छ। केन्द्रीय प्रतिनिधिलाई आठवटा कार्यसम्पादन गर्न भनिएको जानकारी नेताहरूले दिएका छन्।

कांग्रेसले गरेका राजनीतिक र आर्थिक गतिविधिलाई जनतासमक्ष राख्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको छ। त्यस्तै तत्कालीन नेकपा नेतृत्वको सरकारका पालामा भएका जनविरोधी र असंवैधानिक काम तथा भ्रष्टाचारको भण्डाफोर गर्न तथा पार्टी प्रतिपक्षबाट कसरी सरकारमा पुग्यो भन्ने यथार्थ जानकारी जनतालाई गराउन केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिइएको छ। कोरोनाविरूद्धको खोप प्रदान गर्न सरकार सफल भएको कुरा पनि जनतासमक्ष राख्न भनिएको छ।

प्रतिनिधिसभाबाट हालै अनुमोदन भएको एमसिसी सम्झौताका विषयमा जनतामा परेको भ्रम चिर्न पनि कांग्रेसले प्रतिनिधिहरूलाई निर्देशन दिएको छ। केन्द्रीय प्रतिनिधि जिल्लाका सबै स्थानीय तहमा कम्तीमा एकपटक अनिवार्य पुग्नुपर्ने छ। एमसिसी सम्झौता संसद्बाट अनुमोदन भएपछि त्यसलाई लिएर सत्ता गठबन्धन दलभित्र बढेको विवादले आगामी दिनमा गठबन्धन र सरकार अप्ठेरोमा त पर्दैन भन्ने प्रश्न उठ्न थालेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन र तिनका नेताहरूविरुद्ध नबोल्न जिल्लाजिल्ला जाने केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्। स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन दलहरूसँग तालमेल हुने संकेत गर्दै देउवाले विगतको परिणामको स्मरण गराएको प्रशिक्षणमा सहभागी नेताहरूले जानकारी दिएका छन्।

पार्टीका सबै निकायलाई प्रभावकारी ढंगले परिचालन गरी स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारले जित्नेगरी तयारी गर्न र सोहीअनुसार संगठन परिचालन गर्न देउवाले केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्।

पार्टीको १४औं महाधिवेशनका क्रममा वडा तहसम्म कार्यकर्तामा विभाजन देखिएको कांग्रेसका शीर्ष नेताहरूको निष्कर्ष छ। १४औं महाधिवेशन मंसिरमा सम्पन्न भएको थियो। कार्यकर्तामा देखिएको विभाजन अन्त्य गर्न, पार्टीलाई एकताबद्ध बनाउन र स्थानीय तहको निर्वाचन परिणाम कांग्रेसका पक्षमा पार्न अभियान सहयोगी हुने नेताहरूको बुझाइ छ। कांग्रेसले ‘टोल, वडाभित्र एकता र ऊर्जा अभिवृद्धि गर्ने, हरेक काँधलाई भारी हरेक हातलाई जिम्मेवारी’ भन्ने नारासहित कार्यकर्ता परिचालन गर्न लागेको हो।

त्यस्तै प्रमुख प्रतिपक्षी एमालेले पनि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै विभिन्न अभियान र कार्यक्रम सञ्चालन गर्दै आएको छ। उसले स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न नेता तथा कार्यकर्तालाई प्रदेश तहमै अभिमुखीकरण प्रशिक्षण दिएको छ। पार्टी विधान र राष्ट्रिय महाधिवेशनले पारित गरेका कार्यक्रमलाई तल्लो तहसम्म पुर्‍याएर संगठन मजबुत बनाउन एमालेले आफ्नो ध्यान केन्द्रित गरेको छ।

यसअघि पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका काम जनतालाई बुझाउन र पार्टी सरकारबाट प्रतिपक्षमा आउनुपर्नाको कारण कार्यकर्तालाई बुझाउन पनि एमाले नेतृत्वले केन्द्र, प्रदेश र जिल्लास्तरका नेतालाई आग्रह गरेको छ। पार्टीले जितेका स्थानीय तहका कामलाई अझ प्रभावकारी बनाउन र गरेका काम जनतालाई बुझाउने रणनीति बनाउँदै माओवादी केन्द्रसँग भएको एकीकरण टिक्न नसक्नुको कारण र माधवकुमार नेपालसहित एमालेबाट बाहिरिनुको कारण पनि उसले जनतालाई बताउने भएको छ।

सत्ता साझेदार माओवादी केन्द्रले पनि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर दुईमहिने अभियान सञ्चालन गर्ने भएको छ। माओवादी केन्द्रीय कमिटीको सोमबार सकिएको बैठकले निर्वाचन अभियान सञ्चालन गर्न प्रदेश इन्चार्जहरू पनि तोकेको छ। सबै केन्द्रीय सदस्यलाई प्रदेश, जिल्ला, पालिकामा केन्द्रित गर्ने निर्णय गरेको उसले प्रदेश १ मा सुरेन्द्र कार्की, मधेस प्रदेशमा गणेश शाह, वाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकेको छ।

त्यस्तै, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनभित्रै सहमति गरेर निर्वाचनमा जाने प्रयास भइरहेकाले अहिले विकल्पका विषयमा नसोच्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले बुधबार तेस्रो पूर्ण बैठक बोलाएको छ। सो बैठकले नै स्थानीय निर्वाचनकेन्द्रित कार्यक्रम तय गर्ने बताइएको छ। सत्तामै रहेको जनता समाजवादी पार्टी र विपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी पनि स्थानीय तहको निर्वाचन तयारीमा जुटेका छन्। पार्टीका विभिन्न तहको बैठकपछि अभियानकैरूपमा गाउँकेन्द्रित कार्यक्रम लिएर जाने यी दुई दलको तयारी छ। राजेन्द्र लिङ्देन र कमल थापा नेतृत्वका दुवै राप्रपा पनि निर्वाचनकेन्द्रित अभियान सञ्चालनको तयारीमा जुटेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७८ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App