६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अख्तियारद्वारा मेयर पक्राउ परेपछि जसपाले दियो आन्दोलनको चेतावनी

रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धमेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले घुससहित पक्राउ गरेपछि जनता समाजवादी पार्टीले आन्दोलनको चेतावनी दिएको छ। मेयर पटेललाई षड्यन्त्रपूर्ण तरिकाले फसाइएको भन्दै जसपा रौतहटले सोमवार विज्ञप्ति प्रकाशित गरी घटनाको छानबिन गर्न माग गरेको छ।

आइतबार दिउँसो मेयर पटेलको कार्यकक्षबाटै साढे दुई लाख नगद र साढे दुई लाखको चेकसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो। वडा नम्बर १ को वडा कार्यालय भवनको निर्माणमा वडाध्यक्षसित पाँच लाख घुस लिएको आरोप रहेको छ। जसपासहित मेयर पक्षले मेयर पटेलले घुस नलिएको र षड्यन्त्र गरेर फसाएको आरोप लगाइरहेको छ।

मेयर पटेल पक्राउ परेको घटनालाई षडयन्त्र भन्दै जसपाले घटनाको सत्य तथ्य तथा निष्पक्ष रुपले छानबिन गर्नुपर्ने माग गरेको छ। साथै षड्यन्त्रकारी व्यक्तिलाई कानुनी दायरामा ल्याउनको लागि जोडदार माग पनि सम्बन्धित निकायसित गरिएको छ।  

निष्पक्ष रुपले छानबिन नभएमा जसपाले आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। विज्ञप्तिमा भनिएको छ, 'निष्पक्ष रुपमा छानबिन गरिएन भने आन्दोलन गर्न बाध्य हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।' जसपाका जिल्ला सचिव अरबिन्द कुमार यादवद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा साे कुरा बताइएकाे छ।

प्रकाशित: १६ फाल्गुन २०७८ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App